उपसभामुखलाई जबरजस्त पदमुक्त नगर्न अधिकारवादी संघसंस्थाको आग्रह
महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा अधिकारकर्मीहरुले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई जबरजस्त पदमुक्त नगर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, अन्तर पुस्ता महिलावादी समूह तथा विभिन्न क्षेत्रकां विज्ञ अधिकारकर्मीहरुले विज्ञप्ति निकाल्दै क्षमता, दक्षता र योग्यता भएको व्यक्तिलाई किन पदच्युत गरिंदैछ भन्ने आधार प्रस्तुत गर्नुपर्ने बताए ।
सञ्जालको विज्ञप्तिमा प्रश्न गर्दै लेखिएको छ, “नेकपाको नेतृत्वले महिलाहरुको नेतृत्व क्षमतामाथि यसैगरी कुठाराघात गर्दै जाने संस्कृतिबाट समाजवाद ल्याउनु सकिएला ?, के पद र अवसर पुरुषले मा आवश्यकता पर्छ ? सभामुख हुन डा तुम्बाहाम्फे के मा कमजोर हुनुहुन्छ ?”
त्यस्तै अधिकारकर्मी तथा स्वतन्त्र व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा पनि ‘समानताको पक्षमा’ भन्दै स्टाटस र ट्वीट गर्ने अभियान नै चलाएका छन् ।
अन्तर पुस्ता महिलावादी समूहका तर्फबाट अधिकारकर्मी सरु जोशी लेख्छिन्, “राजनीतिक दलले लैंगिक समानताको लागि संविधानमा गरेको प्रतिबद्धता अवलम्बन गर्ने यो अवसरलाई सदुपयोग गर्न हामी आग्रह आग्रह गर्दछौं ।”
अन्तरपुस्ता समूहकै सदस्यहरुले पुरानो गीत “नउठी भएन नेपालका दिदी बैनी हो केछ र बाँच्ने आधार कम्मर नकसे, सामन्ती बानीले दबाउने कुराकानीले रुवायो दिदी र बैनीलाई बँधुवा बनायो ।” लाई स्मरण गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
अधिकारकर्मी डा. रेणु अधिकारी, राधा पौडेल, निशा बानियाँ, अधिवक्ता विष्णुमाया भुसाल, प्रतिनिधिसभाका सांसद विन्दा पाण्डेलगायतले पनि डा. शिवमायालाई सभामुख बन्न नदिँदा लोकतन्त्र र संविधानको मर्म विपरित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।