समाचार आइतबार, पुस २७, २०७६

प्रदेश–३ नाम र राजधानीबारे आज मतदान, नेकपाकै निर्णयमा कांग्रेस सहमत

हिमालखबर

प्रदेश–३ नाम र राजधानीबारे आज मतदान, नेकपाकै निर्णयमा कांग्रेस सहमत
ह्वीप जारी गर्न शुक्रबार बाेलाइएकाे नेकपा प्रदेश संसदीय दलकाे बैठक ।

प्रदेश–३ नाम र राजधानीबारे प्रदेशसभामा आज मतदान हुँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले गरेको निर्णयमै प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा सहमत छन् ।

१३ पुसको नेकपा सचिवालय बैठकले हेटौडा राजधानी र बागमती नामकरण गर्ने निर्णय गरेको थियो । यो निर्णयको विपक्षमा भने विवेकशील पार्टी र एक स्वतन्त्र सांसदमा मात्रै देखिएका छन् ।

स्वतन्त्र सांसद प्रेमबहादुर तामाङ र विवेकशीलका तीन जना गरी धुलिखेल राजधानीको पक्षमा चार सांसद मात्रै देखिएका छन् । ११० सदस्यीय प्रदेशसभामा नेकपासँगै ८० सांसद छन् । कांग्रेससँग २२, नेमकिपासँग २, राप्रपा र राप्रपा संयुक्तसँग एक–एक सांसद भएकाले बागमती र हेटौडाको प्रस्ताव पारित हुने पक्का छ ।

नेकपाले सांसदहरुलाई ह्वीप नै जारी गरेको छ । नेकपाका सांसदहरुले ह्वीप नमान्ने अडान लिए पछि लम्बिएको बैठकले अन्ततः बहुमतबाट प्रदेशको नामकरण र राजधानी टुंगो लगाउने भएको छ ।

प्रतिकृया दिनुहोस