समाचार आइतबार, पुस २७, २०७६

उपसभामुखले राजीनामा दिने, सचिवालय निर्णयको प्रतिक्षा

हिमालखबर

उपसभामुखले राजीनामा दिने, सचिवालय  निर्णयको प्रतिक्षा
null

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने तयारी गरेकी छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा माग्ने निर्णय गरे पछि उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिन तयार भएकी हुन् ।

तर, आइतबार बिहानसम्म नेकपा सचिवालय निर्णयको औपचारिक जानकारी उपसभामुख तुम्बाहाङ्फेसम्म पुगेको छैन । उपसभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार, औपचारिक पत्र आए पछि थप प्रक्रिया अगाडि बढ्नेछ ।

संभवतः उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा गर्नुपर्ने अवस्थाबारे पत्रकार सम्मेलनकै आयोजना गर्नेछिन् ।

उपसभामुख तुम्बाहाङ्फेले यसअगाडि पनि राजीनामा दिनुपर्ने प्रष्ट कारणको माग गर्दै आएकी थिइन् । नेकपाका नेताहरुले भने पार्टीले सभामुख नछोड्ने निर्णय गरेपछि उपसभामुख अवरोध बन्न नहुने अभिव्यक्ति समेत दिएका थिए ।

तर, कृष्णबहादुर महराको गल्तीमा आफ्नो पद गुम्न नहुने अडान उपसभामुख तुम्बाहाङ्फेले लिदैं आएकी थिइन् ।

सचिवालयकै निर्णय आइसके पछि भने उपसभामुख तुम्बाहाङ्फे राजीनामाका लागि तयार देखिएकी छन् ।

पहिलेबाटै राजीनामा दिन तयार भएपनि सभामुख को हुने ? भन्ने प्रश्न उपसभामुख तुम्बाहाङ्फेले राख्दै आएकी छन् ।

बलात्कार अभियोगमा महरा कारागार चलान भए पछिको तीन महीना संसदको नेतृत्व गरेकी र ४ पुसमा बैठककै अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाङ्फे आफैं पनि सभामुखका लागि तयार रहेको बताउँदै आएकी छन् ।

नेकपाले पनि सभामुख को हुने भन्ने टुंगो लगाउन सकेको छैन । शनिबार साँझ सचिवालयको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखको राजीनामा आएपछि सभामुखबारे छलफल हुने प्रतिक्रिया दिए ।

नेकपामा सुवास नेम्वाङ, अग्नी सापकोटा, उपसभामुख तुम्बाहाङ्फे र पम्फा भूसालको सभामुखमा चर्चा छ । तर, निर्णय हुन नसक्दा तीन हप्ता देखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ ।

आज (२७ पुसमा) पनि बैठक बोलाइएको छ । तर, उपसभामुख तुम्बाहाङ्फेले त्यस अगाडि चाल्ने कदमअनुसार, बैठकबारे समेत निर्णय हुनेछ ।

 

याे पनि

उपसभामुखसँग राजीनामा माग्ने नेकपा निर्णय

उपसभामुखले राजीनामा नदिदा संसद अवरुद्धः देव गुरुङ

उपसभामुखले आफ्नो राजीनामा माग्नेसँग चित्तबुझ्दो जवाफ खोज्ने

अब नेकपाले सभामुखमा उम्मेद्वारी दिन पाउँदैन

शक्ति स्वार्थले संसद बन्धक

औपचारिक रुपमै सभामुख पद रिक्त, राजीनामाबारे सूचना टाँसेर जानकारी

सभामुख पदबाट राजीनामा दिए महराले

महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको सुझाव

सभामुख महरा विरुद्ध गम्भीर आरोप, सचिवालयले भन्यो– कठपुतली तयार पारियो

 

 

 

 

प्रतिकृया दिनुहोस