समाचार शनिबार, पुस २६, २०७६

इरानी सेनाद्वारा भुलवश युक्रेनी विमान खसालेको स्वीकार : अक्षम्य गल्ती भएको राष्ट्रपतिको प्रतिक्रिया

हिमालखबर

इरानी सेनाद्वारा भुलवश युक्रेनी विमान खसालेको स्वीकार : अक्षम्य गल्ती भएको राष्ट्रपतिको प्रतिक्रिया
तस्वीर : गेट्टीइमेज

इरानमा १७६ जनाको ज्यान जाने गरि भएको युक्रेनी विमान दुर्घटना मानविय त्रुटिका कारण भएको इरानी सेनाले स्वीकार गरेको छ ।

इरानको सरकारी टेलिभिजनका अनुसार शनिवार प्रकाशित विज्ञप्तिमा इरानी सेनाले "मानवीय त्रुटिका कारण" विमान दुर्घटना हुन गएको र विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको स्वीकार गरेको हो ।

उक्त विज्ञप्ति पश्चात राष्ट्रपनि हसन रुहानीले ट्वीटरमार्फत त्यसलाई ठूलो विपत्ति र अक्षम्य गल्ती भएको भन्दै कारबाही गर्नका लागि अनुसन्धान भइरहेको बताएका छन् ।

यसअघि पश्चिमा देशकहरुले इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान दुर्घटना भएको सङ्केत उपलब्ध प्रमाणले दिएको बताए पनि इरानले त्यसको खण्डन गरेको थियो ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए ।

दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो। तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लिएको थियो ।

प्रतिकृया दिनुहोस