कप्तान चम्किदा सन्दीपको टीम जितसँगै शीर्ष स्थानमा कायमै
जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टारले उत्कृष्ट जित निकालेको छ ।
टस जितेर फिल्डिङ रोजेको स्टार विरुद्ध मेलबर्न रेनेगेड्सले बिस्फोटक शुरुवाति गरेको थियो । तर, स्टारले १६८ रनमा सीमित गरायो । रेनेगेड्सलाई रोक्न सन्दीपले महत्वपूर्ण दुई विकेट लिएका थिए ।
फराकिलो चुनौती पाएको स्टारका लागि भने कप्तान ग्लिन म्याक्सवेलले बिस्फोटक ब्याटिङ गरे । थ्री डाउनमा आएका म्याक्सवेलले अविजित रहँदै ८३ रन प्रहार गरे । ४५ बल सामना गरेका म्याक्सवेलले सात छक्का र एक चौका प्रहार गरेका थिए ।
म्याक्सवेलसँग ११५ रनको साझेदारी गरेका निक लार्किनले अविजित ३३ रन जोड्दा रेनेगेड्स सात विकेटले पराजित भयो । आठ बल बाँकी रहँदै जित निकालेको स्टार भने आठ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आठ वटै प्रतियोगितामा पराजित भएको डिफेन्डिङ च्याम्पियन रेनेगेड्स भने खेलमा रहने झिनो आशा मात्रै बाँकी छ ।