समाचार शुक्रबार, पुस २५, २०७६

‘रामबाबुले पीडितको जग्गा श्रीमती उर्मिलाको नाममा पास गर्थे’

हिमालखबर

‘रामबाबुले पीडितको जग्गा श्रीमती उर्मिलाको नाममा पास गर्थे’
पीडित शान्तिदेवी कुशवाह।

ब्याजमा ऋण दिएर ठगी गर्ने सर्लाहीका रामबाबु राय यादवले पीडितबाट पास गराएको जग्गा श्रीमती उर्मिलाको नाममा पास गराउने गरेकाले उनलाई पनि पक्राउ गर्नुपर्ने माग पीडितहरूले गरेका छन् ।

रामबाबुबाट ऋण लिएकाहरूले ऋण लिएबापत जग्गा पास गरिदिंदा श्रीमती उर्मिला कुमारी यादवको नाममा पास गराउने गरेको बताए ।

२०६६ सालमा ३४ लाख ४५ हजार पाँचसय रुपैयाँ ऋण लिएका रामबिहारी महतोले सो बापत ३ बिघा जग्गा रामबाबुले भने अनुसार उनकी श्रीमती उर्मिलाको नाममा पास गरिदिएको बताए ।

बिहारीले सो ऋण लिंदा उनले जग्गा पास गर्नुका साथै रामबाबुलाई १५ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर २० लाख रुपैयाँको कागज गरेको महतोले हिसाब राखेका छन् ।

पीडित रामबिहारी महतो र उसको हिसाब

रामबाबुबाटै ४० लाख ऋण लिएका करपुरी ठाकुरको जग्गा पनि ९ चैत २०७० मा रामबाबुले श्रीमती उर्मिलाकै नाममा पास गरेको उनले बताए । तीन भाइ मिलेर रु एक करोड भन्दा बढी तिरिसक्दा पनि जग्गा फिर्ता नपाएका उनी भन्छन्, “मैले लाख दिंदा हजारको हिसाब राख्दो रहेछ, ४ लाख दिंदा ४० हजारको हिसाब राखेको देखायो ।”

शान्तिदेवी कुशवाहले २०५६ सालमा ३५ हजार रुपैयाँ ऋण लिइन् । घर र २ कठ्ठा जग्गा बन्धकी राखेकी थिइन् । भन्छिन्, श्रीमान् बेपत्ता बनाए, घरजग्गा रामबाबुकी श्रीमती उर्मिलाको नाममा पास गराइदिएको भनेर जबरजस्ती घरबाट निकाले ।

नेकपा सर्लाही इञ्चार्ज डाचाराज वाग्ले भन्छन्, “आफ्नो नाममा मात्र राख्ने हो भने कति हुन्छ कति त्यही भएर ठगी गर्नेहरूले ऋणीबाट लिएको जग्गा श्रीमती\आफन्तको नाममा पास गर्ने र कमाएको सम्पत्ति पनि आफन्तलाई राख्न दिने भएकाले त्यो पनि छानबिन गर्नुपर्छ ।”

 

प्रतिकृया दिनुहोस