समाचार शुक्रबार, पुस २५, २०७६

बढ्यो उपसभामुख तुम्बाहाम्फेको सक्रियता : ओली र प्रचण्डसँग गरिन् छलफल

हिमालखबर

बढ्यो उपसभामुख तुम्बाहाम्फेको सक्रियता : ओली र प्रचण्डसँग गरिन् छलफल
null

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेकी छिन् ।

तुम्बाहाम्फेले शुक्रवार दिउँसो ओली र प्रचण्डसँग संसदको कारबाही अघि बढाउने बिषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टी गरे । "के विषयमा छलफल भयो भन्ने त उहाँलाई नै थाहा होला, जानकारी भएसम्म संसदको कारवाही के-कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको हो" थापाले हिमालसँग भने ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने विषयमा अन्यौल कायम हुँदा गत पुष ११ र १६ गतेका लागि बोलाइएको संसदको बैठक बस्न सकेन । सभामुखको विषय टुंगोमा नपुग्दा संसद बैठक सूचना टाँस गरी स्थगित हुँदै आइरहेको छ । अर्को बैठक २७ गतेका लागि बोलाइएको छ ।

त्यसै विषयमा उपसभामुखले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डसँग छलफल गरेको थापाले बताए । आफू सभामुख हुनुपर्ने अडान राख्दै आएकी तुम्बाहाम्फे संसदको आगामी बैठक जसरी पनि बसाल्ने मनस्थितिमा छिन् ।

तत्कालिन सभामुख कृष्ण बहादुर महरा यौन दुर्व्यवहारको आरोपमा जेल गएपछि असोजदेखि रिक्त सभामुख पदमा नेकपाभित्र अन्यौलता कायम छ । कसलाई सभामुख बनाउने भन्ने विषयमा मुख्य गरि पूर्व मा‌ओवादी र पूर्व एमाले खेमाका आ-आफ्ना धारणा छन् ।

प्रतिकृया दिनुहोस