समाचार शुक्रबार, पुस २५, २०७६

अवैध उत्खननको विरोध गर्दा युवकलाई टिपरले हानेर हत्या

हिमालखबर

अवैध उत्खननको विरोध गर्दा युवकलाई टिपरले हानेर हत्या

धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध गिट्टी बालुवा उत्खननको विरोध गरेपछि एकजना युवकलाई टिपरले किचेर हत्या भएको छ । स्थानीय युवक २४ वर्षीय दीलिपकुमार महतोलाई बिहान करिब ४ बजेदेखि ५ बजेको बीचमा खोलामा नै टिपरले किचेर हत्या गरेको प्रहरीले पुष्टी गरेको छ ।

शुक्रबार बिहानै 'मर्निङ वाक' मा गएका महतोले घर नजिकै रहेको खोलामा अवैध तरिकाले गिट्टी बालुवा उत्खनन भएको देखेपछि विरोध गरेका थिए । घरनजिकैको खोलामा उत्खनन भइरहेको देखेपछि विरोध गर्न पुगेका महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएको स्थानीयले बताएका छन् ।

पहिलादेखि नै अवैध रुपमा खोलामा भइरहेको उत्खनन्को विरोध गर्दै आएका दीलीपलाई सोही कारण क्रसर सञ्चालकले उनको हत्या गराएको स्थानीयले आरोप लगाएका छन् । क्रसर उद्योगीहरुले मृतकका बुवालाई क्रसर उद्योगको विरोध नगर्न दिपकलाई सम्झाउनु भनेर बारम्बार दबाब दिएको परिवारका सदस्यले दावी गरेका छन् ।

‘घटनाको प्रकृति र स्थानीका अनुसार जबर्जस्ती समाएर टिपर चालकले किचेर मारेको देखिन्छ,’ इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले भने।

उनका अनुसार टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसान्धन गरिरहेको छ भने मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याइएको छ ।

हत्यापछि आक्रोशित स्थानीयले विरोधमा चक्काजाम गर्नुका साथै टायर बालेर राजमार्ग अवरुद्ध गरेका छन् ।

आन्दोलनले चर्को रुप लिएपछि अवस्थालाई समान्य बनाउन प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रतिकृया दिनुहोस