सुलेमानीको हत्यापछि ट्रम्पको युद्धाधिकार सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्बाट स्वीकृत
इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि महंगो साबित हुने देखिएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले ट्रम्पसँग भएको इरानसित युद्ध सुरु गर्ने अधिकारलाई सीमित गर्न सक्ने एउटा प्रस्ताव स्वीकृत गरेको छ ।
डेमोक्रेटिक पार्टीको बहुमत भएको तल्लो सदनबाट यो प्रस्ताव पारित भएको छ । रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा भने उक्त प्रस्तावमाथि मतदान हुन बाँकी नै छ ।
डेमक्र्याटिक पार्टीको बहुमत भएको संसद्मा उक्त प्रस्तावको पक्षमा २२४ विपक्ष अर्थात राष्ट्रपति ट्रम्पको पक्षमा १९४ मत मात्रै परेको थियो ।
किन आयो यो प्रस्ताव ?
गत हप्ता अमेरिकाले इराकको बग्दादमा ड्रोन आक्रमण गरेर इरानका एक वरिष्ठ सैन्य कमाण्डरको हत्या गरेपछि इरानले जवाफस्वरुप इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । त्यसपछि इरान र अमेरिका बीचको तनाव बढ्न सक्ने विषयमा विश्वभर चिन्ता सुरु भएको थियो ।
अमेरिकाको उक्त कार्यमाथि राष्ट्रपति ट्रम्पविरुद्ध नै अमेरिकामा विरोध सुरु भएको थियो । तल्लो सदनकी सभामुख तथा विपक्षी नेत्री न्यान्सी पेलोसीले आफूलाई ट्रम्पले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीमाथि ड्रोन आक्रमण गराएर गरेको हत्यापछि राष्ट्रपतिले ट्रम्पले अमेरिकालाई सुरक्षित बनाएको भनेर विश्वास नलागेको बताएकी थिइन् । साथै ट्रम्पको दल रिपब्लिकन पार्टीका नेता केभिन मकार्थीले उक्त प्रस्तावलाई "अर्थहीन" भनेका थिए ।
तर ट्रम्पले त्यसपछि जनाएको सफ्ट प्रतिक्रियाले तत्कालका लागि युद्धको सम्भावना टरेको छ । हाललाई अमेरिका र इरान दुवै देशले थप युद्धको घोषणा नगरे पनि ट्रम्पले बेला बेलामा लिन सक्ने युद्धको एकल निर्णयको खतरालाई रोक्नका लागि यो प्रस्ताव अघि सारिएको छ ।
उक्त प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने कुनै पनि निर्णय लिनुपर्दा कङ्ग्रेसको अनुमोदन आवश्यक हुनेछ । साथै कङ्ग्रेसले स्वीकृति नदिएसम्म राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध सशस्त्र आक्रमणको प्रतिकार बाहेक अमेरिकी सेना प्रयोग गर्नसमेत मिल्ने छैन ।
दुवै सदनमा प्रस्तुत यो प्रस्तावमा राष्ट्रपतिको हस्ताक्षर चाहिँदैन र कङ्ग्रेसबाट पारित भए पनि उक्त प्रस्तावविरुद्ध ट्रम्पले राष्ट्रपतीय विशेषाधिकार प्रयोग गर्नेछैनन् ।