टिप्पणी शुक्रबार, पुस २५, २०७६

चालीस नकाटी मधुमेह

हिमालखबर

चालीस नकाटी मधुमेह

एक ६०–६५ वर्षे व्यक्ति बजारमा बट्टामा पाइने ‘नरिवल पानी’ र ‘जूस’ स्वस्थकर हुन्छ भनेर दिनमा चार–पाँच गिलास पिउँथे । साथीभाइले बट्टाको ‘जूस’ मा चिनी धेरै हुन्छ, धेरै पिए बिगार गर्छ भन्दा पनि उनले पत्याएनन् । “विज्ञापनमा फलफूलको रस हो, चिनी मिसाएको छैन भन्छ, यस्तोले के खराबी गर्छ र !” उनी भन्ने गर्थे ।

साथीभाइको आग्रहमा जाँच गराउँदा रगतमा चिनीको मात्रा (ग्लुकोज) निकै बढेको देखियो । आफूले मिठाइ, केक, चिनी, पत्रुखाना खाने नगरे पनि शरीरमा चिनीको मात्रा कसरी बढ्यो भनेर उनी चकित परे । पछि उनले बुझे, यो सबै ‘ताजा’ भनेर खाएको बट्टाको जूसको कमाल हो ।

–डा‍. अरुणा उप्रेती

केही साताअघि महाराजगञ्ज शिक्षण अस्पतालका डाक्टर प्रदीप श्रेष्ठले मधुमेहको समस्या बारे एउटा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यो कार्यक्रमबाट नेपालमा ‘टाइप टु’ (दोस्रो प्रकारको) मधुमेहको जगजगी रहेछ भन्ने थाहा भयो । शरीरमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्ने इन्सुलिन (हर्मोन) ले राम्रोसँग काम गर्न नसकेकाले त्यस्तो भएको हो भन्ने निष्कर्ष कार्यपत्रको थियो ।

सामान्यतः मधुमेह दुई प्रकारका हुन्छन् । पहिलो प्रकारको मधुमेहमा मानिसको शरीरमा इन्सुलिन अभाव हुन्छ ।

दोस्रो प्रकारको मधुमेह प्रायः ४०–५० वर्षको उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनका कारणले धेरै हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन ।

विदेशतिर ४० वर्षको उमेरपछि देखिने यो समस्या नेपालमा भने त्यसअघि नै देखिन थालेको छ । ‘दक्षिणएशियामा दोस्रो प्रकारको मधुमेह हुने मुख्य कारण अव्यवस्थित जीवनशैली, विभिन्न पत्रुखाना (चाउचाउ, चिप्स र अनेक प्रकारका पेय पदार्थ, ससेज जस्ता मासुका परिकार) आदि हुन्’– डा. श्रेष्ठको कार्यपत्रमा उल्लेख छ ।

डा. ज्याेति भट्टराई

अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित एक लेख अनुसार झण्डै एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रुखाना, रेसा नभएका खाना, बिस्कुट आदि खाने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखियो । यस्ता पत्रुखाना खानेहरूमा ‘चुरोट र रक्सी’ जस्तै लत बस्ने अनुसन्धानमा उल्लेख छ ।

खानाको साथै अव्यवस्थित जीवनशैली र अत्यधिक तनावले पनि मधुमेह निम्त्याउने अनुसन्धानमा भनिएको छ । आलेखमा ‘धेरै मोटो, दुब्लो, बढी तनाव लिने, व्यायाम नगर्ने, खानाको समय नमिलाउने, चुरोट बढी खाने व्यक्तिहरूलाई पनि मधुमेह हुनसक्ने’ लेखिएको छ ।

काठमाडौंमा उच्च शिक्षा अध्ययन गरिरहेका २४ वर्षीय सिर्जन शाही बिहान भात खाएर हिंडेपछि दिउँसो मःम, चाउचाउ जस्ता खाजा खाँदा रहेछन् । दुई महीनामा ७ किलो वजन घटेर मुख पनि सुक्खा हुन थालेपछि उनी चिकित्सककहाँ गए । रगत परीक्षण गर्दा थाहा भयो, चिनीको मात्रा सामान्य भन्दा झण्डै पाँच गुणा बढी छ ।

इन्सुलिन चलाएर उपचार गर्न थालियो । खानपिन र जीवनशैली परिवर्तन गर्न दिएको सुझाव शाहीले पालना गरे । फलस्वरुप, चिकित्सकले इन्सुलिनको मात्रा कम गर्दै लगेर अहिले बन्द गरिदिएका छन् ।

अमेरिकामा अध्ययन गरिरहेका ३० वर्षीय एक विद्यार्थी बिदामा नेपाल आए । अमेरिका बस्दा पिज्जा, चिसो पेय पदार्थ र बट्टाको जूस आदिले टार्दा रहेछन् । उनको वजन नै १०४ किलो थियो । नेपाल आएपछि अस्वाभाविक रूपले वजन घट्यो र धेरै थकाइ पनि लाग्न थाल्यो । परीक्षण गर्दा रगतमा चिनीको मात्रा धेरै भएर मिर्गौलामा समेत खराबी आइसकेको थाहा भयो ।

यसरी युवावस्थामा मधुमेह भएर बेलैमा उपचार गराइएन भने आँखाको ज्योति गुम्ने, मिर्गौला फेल हुने, मुटु र रक्तचापमा समस्या देखिने र पक्षघात हुने संभावना अधिक रहन्छ । ४० वर्ष मुनिका युवाहरूमा मधुमेहको समस्या चिन्ताजनक रूपमा बढ्दो छ । यस्तो खर्चिलो रोगले गर्दा हुने शारीरिक, मानसिक र आर्थिक क्षतिको कुनै सीमा नै छैन ।

सरकारले मिर्गौलाको डायलसिस गर्न बिरामीलाई सातामा दुई पटकका लागि पैसा दिने नीति बनाएको छ । तर, मिर्गौलामा समस्या आउनै नदिन जनचेतना अभियान वा अन्य कुनै कदम चालेको थाहा छैन ।

गाउँशहर सबैतिर उच्चदरमा फैलिएको उच्च रक्तचाप, मधुमेह आदि रोग जीवनशैली र पत्रुखानासँग सम्बन्धित छन् भनेर विज्ञहरूले भनिरहँदा पनि स्वास्थ्य मन्त्रालयले आवश्यक सतर्कता नअपनाउनुको कारण के होला ? देशका वडा–वडामा अस्पताल खोल्ने कुरा गर्ने सरकारले बुझ्नुपर्छ, अस्पताल र औषधिको भरमा मात्रै जनस्वास्थ्य राम्रो हुँदैन । व्यवस्थित आहारविहार र जीवनशैली सिकाउने सचेतना अभियान पनि आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस