इरान–अमेरिका विवादमा नेटोको प्रवेश, मध्यपूर्वमा सक्रिय भूमिका खेल्न तैयार
बुधबार नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो) प्रमुख जेन्स स्टोलन बर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गर्दै मध्यपूर्वमा नेटोले अहम भूमिका खेल्न तैयार रहेको बताएका छन् ।
अमेरिकाद्वारा सुलेमानीको हत्या, इराकमा रहेका अमेरिकी सैनिक क्याम्पमा इरानी आक्रमण र इराकबाट विदेशी सैनिक हटाउने निर्णयले मध्यपूर्वमा बढेको तनावका बीच नेटो सक्रिय भएको हो ।
यसअघि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै पश्चिमा देशहरूले मध्यपूर्वमा अहम भूमिका खेल्नुपर्ने र नेटो संगठन सक्रिय भई सहयोग गर्नुुपर्ने बताएका थिए।
अमेरिकी राष्ट्रपतिको यस अपिलपछि नेटो प्रमुखले ट्रम्पसँग भेट गरी कुराकानी गरेका थिए । नेटोले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले नेटोका सेक्रेटरी जनरलसँग मध्यपूर्वमा गतिविधि बढाउनु पर्ने उल्लेख गरिएको छ । नेटोले पनि मध्यपूर्वमा आतंकवादसँग लड्न र स्थिरताका लागि भूमिका खेल्न सहमति जनाएको बताइएको छ ।
ट्रम्पले आफ्नो सम्बोधनमा भनेका थिए– इरानमा हिंसा जारी रहँदासम्म मध्यपूर्वमा शान्ति र स्थिरता कायम हुन नसक्ने बताएका थिए ।
विश्व एक भएर इरानले चलाएको ‘टेरर क्याम्पेन’लाई रोक्नुपर्ने पनि ट्रम्पले सम्बोधनका क्रममा बताएका थिए । उनले इरानमा यो सबै हुन सके यो देश सुन्दर बन्न सक्ने पनि बताएका थिए ।
नेटो के हो ?
नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन (नेटो) २९ देशहरूको एक संगठन हो । यसले सदस्य राष्ट्रबीच सैन्य सहायता प्रदान गर्छ । यी सबै देशबीच कुनै देशलाई सैन्य सहायताको आवश्यकता पर्यो भने सहयोग गर्ने सम्झौता भएको छ । यसले आपसी सहमति र राजनीतिक आधारमा सैन्य सहयोग गर्दै आएको छ ।
नेटोका तर्फबाट सबै सदस्य राष्ट्रबीचका सेनालाई आवश्यक तालिम प्रदान गरिन्छ । यो संगठनको स्थापना दोस्रो विश्वयुद्ध पछि १९४९ मा भएको थियो ।
–एजेन्सी