थप समाचार विहीबार, पुस २४, २०७६

मिडियाबाट दिक्क राजकुमार ह्यारी दम्पतीले अन्तत: गरे जिम्मेवारी त्याग्ने घोषणा

हिमालखबर

मिडियाबाट दिक्क राजकुमार ह्यारी दम्पतीले अन्तत: गरे जिम्मेवारी त्याग्ने घोषणा
राजकुमार ह्यारी र मेगन । तस्वीर : गेट्टी इमेज।

बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनले राजपरिवारको विशेष जिम्मेवारीबाट बाहिरिने घोषणा गरेका छन् । राजकुमारी ह्यारी दम्पतीले राजपरिवारको विशेष जिम्मेवारी ड्यूक अफ ससिक्स राजकुमारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका हुन् ।

विज्ञप्ति जारी गर्दै उनीहरूले आफू यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने योजनामा रहेको बताएका छन् ।

बुधवार अप्रत्याशित रूपमा प्रकाशित विज्ञप्तिमा उनीहरुले धेरै पटक सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन् ।

उनीहरुले राजपरिवारका वरिष्ठ सदस्यहरुको भूमिका त्यागे पनि महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै महारानीलाई पनि निरन्तर समर्थन गरिरहेने बताएका छन् ।

तर उक्त घोषणाले बेलायतको राजपरिवार भने निराश भएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । "विज्ञप्ति प्रकाशन गर्नुअघि उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट "निराश" भएको" बीबीसीले उल्लेख गरेको छ ।

गत अक्टोबर महिनामा राजकुमार ह्यारी र मेघनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले सङ्घर्ष गर्नुपरेको बताएका थिए।

गत वर्षको अन्त्यतिर ह्यारीले मेघनलाई डेलीमेलविरुद्ध कानूनी उपचार खोज्नका लागि आग्रह गरेका थिए । डेलिमेलले गत वर्षको फेब्रुअरीमा मेघनले आफ्ना बुवालाई लेखेको एउटा गोप्य पत्र सार्वजनिक गरेको थियो । उक्त पत्र सार्वजनिक भएपछि राजकुमार दम्पती तनावमा परेको समाचारहरु सार्वजनिक भएका थिए ।

राजकुमार ह्यारी आफैले पनि यस विषयमा धेरै पटक मुख खोलेका थिए । "जुन शक्तिका कारण मैले मेरो आमालाई गुमाएँ, त्यस्तै समस्या अहिले श्रीमतीले पनि भोगिरहेको देखेको छु", ह्यारीले आफ्नी आमा वेल्सकी राजकुमारी हुँदा सन् १९९७ मा भएको घटनालाई सम्झीदै भनेका थिए ।

उनले भनेका थिए, "देखेको छु, मैले माया गर्ने मान्छेलाई कसरी वस्तुकरण गरियो र उनको वास्तवविक्तामाथि गलत व्यवहार गरियो भन्ने ।"

बीबीसीका अनुसार अहिले घोषणा भएको विषयभन्दा पनि विनापरामर्श निर्णय लिएकाले राजपरिवार उनीहरुसँग बढी दु:खित भएको छ । ह्यारी र मेघनको निर्णयबारे राजपरिवारमा प्रारम्भिक चरणमा छलफल भएको छ ।

प्रतिकृया दिनुहोस