अमेरिका किन चाहन्थ्यो सुलेमानीको मृत्यु ?
इरानका सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकी हमलामा मृत्यु भएपछि अन्तर्राष्ट्रिय राजनीतिमा हलचल शुरु भएको छ । अन्तर्राष्ट्रिय समुदायले यही कारण विश्वभर गम्भीर रुपमा अशान्ति फैलिने विषयमा चिन्ता व्यक्त गरिरहेका छन् ।
अमेरिकाका लागि सुलेमानीको मृत्यु यति ठूलो विषय थियो कि राष्ट्रपति डोनल्ड ट्रम्प आफैले अमेरिकाको राष्ट्रिय झण्डा राखेर ट्विट गरे । यसको मतलब राष्ट्रपति ट्रम्पले यस घटनालाई अमेरिकाको राष्ट्रिय गौरवको विषयका रुपमा प्रस्तुत गरिरहेका थिए ।
यसमा सबैभन्दा ठूलो सवाल उठेको छ, कि आखिर जनरल सुलेमानीको हत्या गर्न अमेरिका किन यसरी लागिपरेको थियो त ? जनरल सुलेमानीले के गरेका थिए ? को थिए यी जनरल ?
जनरल कासिम सुलेमानी इरानका निकै शक्तिशाली व्यक्तिका रुपमा चिनिन्थे । इरानका सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामेनी पछि कोही शक्तिशाली थियो भने ती जनरल सुलेमानी नै थिए ।
जनरल सुलेमानी कुद्स फोर्स नामको एउटा सैन्य टुकुडीका प्रमुख थिए । यो त्यस्तो फौज हो जसले विदेशमा इरानी सेनाले जस्तै अलग-अलग तवरले कसैको विरोध त कसैको समर्थन गरेर काम गर्छ ।
यसलाई यसरी भन्न सकिन्छ कि इरानमा विदेशमन्त्री नाम मात्रैका हुन्छन्, विदेशमन्त्रीको वास्तविक काम भने कुद्स फोर्सका प्रमुखले नै गर्छन् ।
गएको वर्ष सिरियाका राष्ट्रपति बशर अल असदविरुद्ध विद्रोह हुँदा पनि त्यसलाई दबाउनका लागि सुलेमानीले निकै सहयोग गरेका थिए ।
इराकमा जब इस्लामिक स्टेट मजबूत भएर आयो त्यतिवेला पनि त्यसलाई परास्त गर्नका लागि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
जनरल सुलेमानीले लामो समयसम्म पर्दा पछाडिबाट भूमिका खेलिरहेका थिए । तर केही वर्ष पहिले उनी यसरी खुलेर सार्वजनिक भए कि उनीमाथि लेख, डकुमेन्ट्री र पप गीतहरु बन्न थाले ।
अमेरिकाको खुफिया एजेन्सी सीआईएका एक पूर्व अधिकारी जान मैगवायरले ६ वर्ष पहिले अमेरिकी पत्रिका न्यूयोर्कसँग भनेका थिए "जनरल सुलेमानी मध्य पूर्वमा अभियान चलाउने सबैभन्दा शक्तिशाली व्यक्त हुन् ।"
कमाण्डर बन्नुभन्दा पहिले
इरानको दक्षिण पश्चिम प्रान्त किरमानको एक गरीब परिवारमा जन्मिएका सुलेमानी १३ वर्षको उमेरदेखि नै आफ्नो परिवारको भरण पोषणमा लागेका थिए । उनले राम्रोसँग पढ्न पनि पाएनन् । खाली समयमा वेट लिफ्टिङ्ग गर्थे र खामेनीका प्रवचन सुन्थे ।
फरेन पोलिसी पत्रिकाका अनुसार सुलेमानी १९७९ मा इरानी सेनामा सामेल भएका थिए । त्यसपछि ६ हप्ताको ट्रेनिङ लिएपछि पश्चिम अजरबैजानको एउटा युद्धमा सामेल भएका थिए ।
इरान-इराक युद्धको समयमा सीमामा आफ्नो नेतृत्वका कारण उनी राष्ट्रिय नायकका रुपमा चिनिन थालेका थिए ।
यसपछि उनी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको नजिक भए । सुलेमानीले इरान र इराकमा इस्लामिक स्टेटविरुद्ध कुर्द लडाकू र शिया मिलिशियालाई एकजुट बनाएका थिए ।
हिज्बुल्लाह र हमासका साथै सिरियाका बशर अल असदको सरकारलाई पनि सुलेमानीको समर्थन थियो ।
अमेरिकाका दुश्मन
अर्कोतर्फ अमेरिका भने उनलाई सबैभन्दा ठूलो दुश्मन मान्थ्यो । अमेरिकाले कुद्स फोर्सलाई २५ डिसेम्बर २००७ मा आतकंवादी संगठन घोषणा गरेको थियो । र यस संगठनसँग कुनै पनि कार्य गर्न अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।
सद्दाम हुसेनको साम्राज्य पतन भएपछि सन् २००५ मा इराकको नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री इब्राहिम अल जाफरी र नूरी अल मलिकीको कार्यकालको दौरान त्यहाँको राजनीतिमा सुलेमानीको प्रभाव अत्यधिक नै थियो ।
त्यसै समय त्यहाँको शिया समर्थित बद्र गुटलाई सरकारको हिस्सा बनाइएको थियो । बद्र संगठनलाई इराकको सबैभन्दा पुरानो लडाकू फोर्सका रुपमा चिनिन्छ ।
सन् २०११ मा सिरियामा गृहयुद्ध भएपछि सुलेमानीले यही फोर्सलाई असद सरकारलाई मद्दत गर्न आदेश दिएका थिए । जबकि अमेरिका भने बशर अल असदको सरकारलाई हटाउन चाहन्थ्यो ।
इरानमाथि अमेरिकी प्रतिबन्ध र साउदी अरब, यूएई र इजरायलको दबाब सबैलाई जानकारी भएकै विषय हो ।
यति धेरै अन्तर्राष्ट्रिय दबावका बीच पनि आफ्नो देशको प्रभाव बढाउनका लागि जनरल कासिम सुलेमानीको भूमिका निकै महत्वपूर्ण थियो । उल्लिखित सबै देशको नजरमा उनी दुश्मन साबित भएका थिए । अमेरिकाले त उनलाई आतंककारी नै घोषणा गरिदिएको थियो ।
अमेरिकाको निशानामा सुलेमानी
सन् २०१८ को २३ अक्टोबरमा साउदी अरब र बहराइनले इरानको रिभोल्यूसनरी गार्ड्स र कुद्स फोर्सका प्रमुख सुलेमानीलाई आतंकवादी घोषणा गरिदिएका थिए । त्यसपछि नै सुलेमानी अमेरिकाको निशानामा परे।
३ जनवरीमा जब बगदाद विमानस्थलमा दुईवटा कारको बीचमा उनीमाथि ड्रोनमार्फत आक्रमण भयो त्यतिवेला उनीसँगै कताइब हिज्बुल्लाहका नेता अबु महदी अल मुहांदिस पनि थिए ।
२००९ बाटै अमेरिकाले कताइब हिज्बुल्लाहलाई आतकवादी संगठन र यसका नेता अबु महदी अल मुहांदिसलाई पनि विश्व आतंककारी भनेर घोषणा गरिसकेको थियो ।
जनरल सुलेमानीसँगै यस हमलामा मुहांदिसको मृत्यु भएको छ। –एजेन्सीकाे सहयाेगमा