इरानद्वारा अमेरिकी सैन्य आधार शिविरमा आक्रमण
इरानले इराकस्थित दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।
आक्रमणमा भएको हताहतीबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।
स्थानीय समयअनुसार बिहान १ः३० बजे उक्त आक्रमण भएको थियो । आक्रमणमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिरहेको बताइएको छ।
अमेरिकी रक्षा मन्त्रालयले इराकस्थित इरबिल र अल असदस्थित अमेरिकी सैन्य अखडामा आक्रमण भएको पुष्टि गरेको छ ।
"हामीले इराकस्थित अमेरिकी आधार शिविरहरूमा भएका हमलाबारे थाहा पाएका छौँ। राष्ट्रपति राष्ट्रिय सुरक्षा समूहसँग समन्वयमा छन्", ह्वाइट हाउस प्रवक्ताले भनेकी छन्।
आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । तर, समय भने टुंगो लागिसकेको छैन ।
शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सोलिमानी मारिएको बदलामा इरानले अमेरिकी अखडामाथि आक्रमण गरेको हो।
“हामी अमेरिकाका सम्पूर्ण सहयोगी देशहरुलाई चेतावनी दिन चाहान्छौं , खासगरि जुन जुन देश जहाँ इरानमा आक्रमण गर्नसक्ने गरि अमेरिकी सैन्य अखडा राखिएको छ”, इरानी सरकारी समाचार संस्था आइआरएनएद्वारा जारी वक्तव्यलाई उद्धृत गर्दै समाचार संस्थाहरुले लेखेका छन् ।
पेन्टागनले पछिल्लो घटनापछि उत्पन्न परिस्थतिबारे सुरक्षा अधिकारीहरुसँग छलफल गरिरहेको समाचारसंथा सीएनएन्ले जनाएको छ ।