जेएनयूसँग डराउने भारतीय सत्ता पक्षको परम्परा : अभिजित बनर्जी
आइतबार भारतको राजधानी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक घटनालाई लिएर व्यापक आलोचना भइरहेको छ ।
भारतका विभिन्न स्थानमा विद्यार्थी र सामाजिक कार्यकर्ताहरूले घटनालाई लिएर विरोध प्रदर्शन गरिरहेका छन् । साथै, भारतीय फिल्म क्षेत्रका चर्चित कलाकारले समेत घटनाको आलोचना गरेका छन् ।
यसै क्रममा गत वर्ष आर्थिक तर्फको नोबल पुरस्कार विजेता अभिजित बनर्जीले पनि जेएनयूमा भएको हिंसात्मक घटनामाथि टिप्पणी गरेका छन् । जेएनयूकै पूर्व छात्रसमेत रहेका बनर्जीले विश्वविद्यालयमाथि यसरी हमला हुनु चिन्ताको विषय भएको बताए।
“जेएनयूको सबभन्दा महत्वपूर्ण पक्ष भनेको यो विश्वविद्यालय असहमति राख्नेहरूका लागि सबैभन्दा सुरक्षित स्थान मानिन्थ्यो”, बनर्जीले 'इन्डियन एक्सप्रेस'सँगको कुराकानीमा भनेका छन्, “यस सुरक्षित स्थानलाई जोगाउने जिम्मेवारी हाम्रो हो । हाम्रो देशको भविष्यका लागि महत्वपूर्ण कुरा के हो भने कुनै पनि हिंसाबिना नै असहमति राखेर समाधान खोज्न सकिन्छ भन्ने संस्कृतिलाई जोगाउनु पर्छ ।”
“हामीलाई एउटा त्यस्तो खाली स्थानको जरुरी छ, जहाँ दुवै असहमत पक्ष बसेर संवाद गर्न सक्छौँ”, बनर्जीले भने, “जेएनयू एउटा यस्तो संस्था हो जहाँ दृढ विचार र बिना कुनै हिंसा बौद्धिक रुपमा समस्याको समाधान खोज्नसक्ने व्यक्ति रहन सक्छ ।”
जेएनयूमा अध्ययन गर्दाको समयलाई स्मरण गर्दै बनर्जीले सन् १९८३ मा आफूलाई सरकारको विरोध गरेकै कारण तिहाड जेल पठाएको र हरेक शासकलाई जेएनयूलाई ठूलो दुश्मन मान्ने परम्परा रहेको उल्लेख गरे ।
उनले जेएनयू असहमतिका लागि सुरक्षित स्थान हुनुका साथै विविधता र जीवन्त विश्वविद्यालय रहेको भन्दै यसलाई जोगाउन सबै लाग्नुपर्ने बताए ।
त्यस्तै जेएनयूकै पूर्व कुलपति तथा कांग्रेसका वरिष्ठ नेता कर्ण सिंहले आइतबार भएको उक्त घटनामा कुलपति जगदीश कुमारको आलोचना गरे । उनले यस्तो अप्ठेरो अवस्थामा पनि विश्वविद्यालयमा नआउनुले उनलाई गैरजिम्मेवार भएको आरोपसमेत लगाए।
नेता सिंहले विश्वविद्यालयभित्र विद्यार्थीमाथि हिंसात्मक आक्रमण गर्ने र महिलामाथि समेत नकाव लगाएर हमला गर्ने व्यक्तिलाई तुरुन्त पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए ।
दिल्ली पुलिसले दंगा भड्काएको र भौतिक सम्पत्ति नोक्सान गरेको आरोपमा अज्ञात व्यक्तिमाथि मुद्दा दर्ता गरेर अपराध शाखालाई अनुसन्धानको जिम्मेवारी दिएको छ।
जेएनयूको पूर्व कुलपतिका रुपमा यो घटना आफ्ना लागि अकल्पनीय भएको नेता सिंहको भनाइ थियो । “जेएनयू सम्भवतः देशको सर्वश्रेष्ठ विश्वविद्यालय हो र राजधानीको केन्द्रमा भएको विश्वविद्यालयमा यस्तो घटना हुनु डरलाग्दो विषय हो”, उनले भने । उनले गृह मन्त्रालयले यसमा निष्पक्ष भएर छानविन गर्नुपर्ने माग राखे । साथै नेता सिंहले कुलपति जगदीश कुमारले यसको समाधान निकाल्नु पर्ने बताए ।
जेएनयूमा आन्दोलनरत विद्यार्थीहरूले कुलपति जगदीश कुमारले राजीनामा दिनुपर्ने विषय उठाइरहेका छन् । जेएनयूको शिक्षक संघले पनि राष्ट्रपतिलाई पत्र लेखेर कुलपतिलाई हटाउनुपर्ने माग राखेको छ । –एजेन्सी