अन्तर्वार्ता/विचार मंगलबार, पुस २२, २०७६

‘सेवा र नाफाबीच सन्तुलनको उद्देश्य राखेका छौं’

हिमालखबर

‘सेवा र नाफाबीच सन्तुलनको उद्देश्य राखेका छौं’
कृष्णबहादुर अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल ब्याङ्क लिमिटेड । तस्वीर: बिक्रम राई

नेपालमा ब्याङ्किङ सेवाको शुरूआत गरेको नेपाल ब्याङ्क लिमिटेड स्थापनाको ८३ वर्ष पुगेको छ। देशकै जेठो ब्याङ्कलाई व्यवसायको आकारको हिसाबमा नयाँ ब्याङ्कहरूले पछाडि छोडिसकेका छन् । ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी ग्राहकलाई गुणस्तरीय वित्तीय मध्यस्थताको सेवा र लगानीकर्तालाई निरन्तर प्रतिफलको सन्तुलित बाटो समातेको बताउँछन् । अधिकारीसँग गरिएको कुराकानीको सारः

देशकै जेठो ब्याङ्कलाई नयाँ ब्याङ्कहरूले पछाडि पारिसकेका छन् । अरुसँगको तुलनामा नेपाल ब्याङ्कको स्थानलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

व्यवसायको आकारको हिसाबले हामी औसत ब्याङ्कभन्दा माथि छौं । पहिलो, दोस्रोको होडमै छैनौं । सरकारको आर्थिक र वित्तीय योजनाको कार्यक्रम लागू गर्न, देशका विभिन्न क्षेत्रमा वित्तीय सुविधा पुर्‍याउन र देशलाई आर्थिक योगदान दिने हिसाबले हामी उत्कृष्ट ब्याङ्कको सूचीमा छौं ।

केवल निक्षेप, कर्जा वा नाफाको आकारको हिसाबमा प्रतिस्पर्धा गर्दैनौं । देशको पहिलो र नेपालको नामसँग जोडिएका हिसाबले हामीसँग विशेष जिम्मेवारी छ, त्यो पूरा गर्न योगदान गरिरहेका छौं ।

तपाईंसँग नेपाल ब्याङ्कलाई गति दिने कस्ता योजना छन् ?

आफ्नो क्षमता, जनशक्तिको पूँजी र प्राथमिकता हेरेर विस्तारको योजना बनाएका छौं । सरकार र निजी क्षेत्रको संयुक्त लगानीको यो ब्याङ्कको व्यवसाय वार्षिक २५ प्रतिशत विस्तार गर्ने लक्ष्य छ । अबको चार वर्षमा हामी व्यवसायको आकारमा अहिलेको दोब्बरमा पुग्नेछौं । उत्तरदायी ब्याङ्किङ नेपाल ब्याङ्कको जस्तो होस् भनेर सर्वसाधारणमा छाप परोस् भन्ने हाम्रो प्रमुख लक्ष्य छ ।

हामी देशका प्रायः सबै क्षेत्रमा पुगेका छौं । तर शाखा सञ्जाल पनि अहिलेको १७५ बाट बढाएर यो आर्थिक वर्षभित्रै २०० पुर्‍याउँछौं । वित्तीय मध्यस्थताको लागत न्यूनतम बनाउँदै अधिकतम ग्राहकसम्म पुग्ने तथा सरकारको आर्थिक र वित्तीय नीतिको अक्षरशः पालना गरेर शेयरधनी लगानीकर्तालाई राम्रो प्रतिफल दिने हाम्रो लक्ष्य छ ।

सरकारी लगानीको ब्याङ्क भएकाले ढिलासुस्ती, झन्झटिलो प्रक्रिया आदि विषय जोडिएर आइहाल्छन् । यो छवि किन फेरिन सकेन ?

सरकारी संयन्त्र ग्राहकमैत्री छैनन् भन्ने आम धारणा छ । नेपाल ब्याङ्कका सन्दर्भमा पनि यस्तो धारणा पूर्णतया हटेको छैन । तर, हामीसँग कारोबार गरेका ग्राहक सन्तुष्ट छन् । अहिलेको ब्याङ्किङ सेवामा हामी उत्कृष्ट छौं भनेर दाबी गर्दैनौं, तर गुणस्तरीय सेवा दिइरहेका छौं ।

हामीसँग भएका जनशक्ति लोकसेवा आयोगबाट छानिएर आएका कारण पनि ब्याङ्किङ प्रणालीमा भएमध्येकै राम्रा छन् । यो जनशक्तिको सिङ्गो करिअर नेपाल ब्याङ्क भएकाले क्षमताको भरपूर सदुपयोग गरेर सेवा गुणस्तरीय बनाउन हामी दत्तचित्त छौं ।

निजी क्षेत्रका ब्याङ्कहरूमा सञ्चालक समितिको दबाबका कुरा धेरै सुनिन्छ । तपाईंहरूलाई चाहिं मुख्य लगानीकर्ता सरकारको दबाब आउँदैन ?

नेपाल ब्याङ्क अनेकौं अप्ठ्यारो परिस्थितिसँग जुधेर यहाँसम्म आइपुगेको हो । सरकार नेपाल ब्याङ्कमा त्यस्तो अप्ठ्यारो स्थिति नआओस् भन्नेमा एकदमै जिम्मेवार छ । निर्णय गर्न हाम्रो सञ्चालक समिति स्वतन्त्र छ ।

सरकारले नीतिगत व्यवस्था मार्फत सबै वाणिज्य ब्याङ्कहरूका लागि नियम बनाउँछ, जसलाई हामीले पनि पालना गर्नुपर्छ । तर, कुनै अन्य दबाब र हस्तक्षेप व्यवस्थापनलाई आउँदैन ।

सरकारको मुख्य लगानी भएकाले बजारलाई प्रतिस्पर्धी बनाउँदै र सँगै ग्राहकलाई बढी लाभ दिने दायित्व निर्वाहको कसीमा ब्याङ्कको भूमिका कस्तो छ ?

निक्षेपकर्तालाई उच्चतम ब्याज र ऋणीहरूलाई न्यूनतम ब्याजदरमा ऋण दिन हाम्रो प्रयास हुन्छ । निक्षेपमा सबैभन्दा धेरै ब्याज दिनेमा नेपाल ब्याङ्क पर्छ । ग्राहकको निक्षेप सड्ढलन गर्न उनीहरूको बचतमा उच्चतम प्रतिफल दिन्छौं ।

हामी गर्वका साथ भन्छौं, अन्य ब्याङ्कका तुलनामा ऋणमा हामी सबैभन्दा न्यूनतम ब्याजदर लिइरहेका छौं । नाफामा असर परे पनि हाम्रो उद्देश्य नाफा मात्रै नभएर वित्तीय मध्यस्थताको सेवा पनि भएकाले बचतमा धेरै र कर्जामा थोरै ब्याजदरमा काम गरेका हौं ।

आकर्षक नाफाको दबाबका कारण ब्याङ्कहरूले नाजायज सेवा शुल्क, चर्को ब्याज लिएको तथा धितो नभई ऋण नदिने नीतिका कारण देशमा उद्यमशीलता फस्टाउन नसकेको आरोप लाग्छ नि !

ब्याङ्कहरूले हरेक वर्ष व्यवसाय विस्तार गर्दै दिगो हुन नाफा कमाउनैपर्छ । तर, नाफाकै लागि ग्राहकसँग नचाहिंदो सेवा शुल्क लिनु नाजायज मात्र होइन, मूर्खता हो ।

स्प्रेड दर (बचतकर्तालाई दिने र ऋणीबाट लिने औसत ब्याजदरको अन्तर) घट्यो भनेर नाफा बढी देखाउन सेवा शुल्क बढाउने तरिकाले दिगो ब्याङ्किङ व्यवसाय विस्तार हुँदैन । किनभने ग्राहकहरूलाई सधैं झुक्याउन सकिंदैन । नेपाल ब्याङ्कले कहिल्यै अपारदर्शी ढङ्गबाट सेवा शुल्क लिंदैन ।

हामीले उद्यमशीलताको विस्तारका लागि प्रोजेक्ट फाइनान्सिङ पनि गर्दै आएका छौं । सरकारको सहुलियतपूर्ण कर्जा नीति पनि धितो विनाको नै हो, यस्तो कर्जा पनि हामीले दिंदै आएका छौं । तर, निक्षेपकर्ताको निक्षेप सुरक्षित बनाउन व्यापार सम्बन्धी ऋणमा भने धितो चाहिन्छ । 

नेपाल ब्याङ्क आक्रामक बजार विस्तारमा जान्छ ?

जाँदैन । ब्याङ्किङ एक वर्ष आक्रामक बजार विस्तार गर्ने र अर्को वर्ष सुस्ताउने व्यवसाय होइन, विस्तारै बढ्दै जाने कुरा हो । राज्य र जनताको सम्पत्ति रक्षा गर्दै दीर्घकालीन व्यवसाय गर्ने हाम्रो लक्ष्य छ ।

प्रस्तुतिः रमेश कुमार

प्रतिकृया दिनुहोस