समाचार सोमबार, पुस २१, २०७६

बादी महिलालाई अझैँ यौनकर्मी सोच्ने प्रवृत्ति समस्या

रासस

बादी महिलालाई अझैँ यौनकर्मी सोच्ने प्रवृत्ति समस्या

अन्तरजातीय विवाह गरेकै कारण दाङकी मीना नेपाली बादीलाई परिवारमा सधैँ अपहेलित हुनुपर्‍यो । दुई छोराकी आमा मीनाले विहे गरेको २४ वर्षपछि बल्ल अहिले घरमा प्रवेश पाएकी छन् । फरक जातसँग विवाह गर्नु उनका लागि सजाय पाउन काफी भयो ।

“हाम्रो समुदायको पीडा वयान गरी साध्य छैन, अझै पनि हामीलाई यौन धन्दा गर्ने जात भनेर होच्याउँछन्, मानिसको सोच परिवर्तन हुन धेरै समय लाग्दो रहेछ” मीनाको अनुभव छ ।  समुदायमा आफूले भोगेको पीडा कसैले भोग्नु नपरोस् भनेर उनले विभिन्न सङ्घसंस्थामा आवद्ध भई सामाजिक जागरण अभियान चलाएकी छन् ।

दाङमा बादी समुदायका महिलालाई समाजले यौन पेशाकर्मीका रुपमा बुझिदिँदा अपमान भोग्नु परेको उनको गुनासो छ । कुनै पनि बादी महिला यौन पेशामा नलागेको र जहाँ त्यो पनि बाध्यात्मक रहेको उनको दाबी छ ।

“बादी समुदायमा रहेको बाध्यात्मक यौन पेशाका विरुद्ध निरन्तर सङ्घर्ष गरेका छौँ,  अहिले धेरै परिवर्तन पनि भएको छ, महिलाहरु आयमूलक काममा संलग्न छन्”  उनले भनीन् । यौन व्यवसाय गर्ने समुदायको रुपमा बादी समुदायलाई नबुझ्न पनि उनले आग्रह गरिन् ।

दाङकै ३९ वर्षे सितारा नेपालीले पनि बादी भएकै कारण विभेद्को सामना गर्नुपरेको छ । बाध्यात्मक यौन पेशाका कारण समुदायमाथि लाग्ने गरेको आरोप उनको मनमा गडेर बसेको छ । बादी समुदायका महिलाले गरेको स्वच्छ तथा मर्यादित किसिमले गरेको पेशा व्यवसायलाई पनि नकारात्मक रुपमा लिँदा उनको आत्मसम्मानमा ठेस पुगेके छ ।

“बादी भन्ने बित्तिकै गलत नजरले हेरिन्छ, यसले छोराछोरीलाई झन् पीडा हुने गर्छ" तीन सन्तानकी आमा सितारा भन्छिन्, “छोराछोरी थर परिवर्तन गरौँ न भनेर कर गर्छन्, सोच बदल्ने हो बाबु जात त हाम्रो पहिचान हो हामीले राम्रो गरेर देखाउनुपर्छ भनेर सम्झाउने गर्छु ।”

बादी समुदायमाथि सामाजिक, आर्थिक र सांस्कृतिक विभेद् कायम रहेकाले आत्मसम्मानका साथ बाँच्ने वातावरण अझै तयार हुन नसकेको उनको तर्क छ । सिताराले अहिले कमिट नेपालको अध्यक्ष भएर दाङमा बादी समुदायको हक अधिकारका लागि काम गर्दै आएकी छन् ।

मीना र सिताराजस्ता बादी समुदायका धेरै महिला तथा किशोरीहरु आर्थिक–सामाजिक रुपमा निकै उत्पीडनमा बाच्नुपर्ने अवस्था आजसम्म पनि कायम छ । वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरुले लैङ्गिक उत्पीडन भोग्दै आएका छन् ।

नेपाल सरकारले २०६५ सालमा बादी समुदायलाई यौन शोषणमुक्त समाज घोषणा गरे पनि उक्त समुदायको पुनःस्थापनाका लागि कुनै योजना र रणनीति बनाउन सकेको छैन ।

बादी समुदायको समग्र विकासका लागि थुप्रै समुदायमा आधारित सामाजिक संस्थाहरुको स्थापना भएका छन् ।  प्रभावकारी रणनीतिक योजना नभएका कारण संस्थाहरुले यो सुमदायको  परिवर्तन र दीर्घकालीन विकासमा अहम् भूमिका निर्वाह गर्न नसकेको अध्येता केशव नेपालीको भनाइ छ ।

पहिलेपहिले केही महिलाहरुको संलग्नताले गर्दा पूरै बादी समुदायलाई नै यौन पेशा गर्ने समुदाय भनी कलङ्कित र समाजमा भेद्भाव गरिएको अधिकारकर्मीहरु बताउँछन् । परिणामस्वरुप उनीहरु गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या भोग्दै आएको अध्येता नेपाली बताउँछन् । “छुवाछूत र जातजन्य विभेद्का कारण बादी समुदाय कठोर मानसिक यातनाबाट प्रताडित छन्” उनले भने ।

स्वाभिमानपूर्वक जीवनयापन गर्न कठिन भएका बादी समुदायको जीवनको सबैभन्दा चुनौतीपूर्ण पक्ष भनेकै सामाजिक प्रतिष्ठा हो ।  उनीहरुलाई आफूमा लागेको कलङ्क मेटाउन सङ्घर्ष गर्दा पनि सरकारले त्यस्तो वातावरण दिन नसकेको बादी समुदायको गुनासो छ ।

"जातको आधारमा गरिने बहिष्करणको प्रमुख मारमा बादी समुदाय परेको छ । बादी समुदायको उत्थान र विकासका लागि सामाजिक समावेशीकरणको माध्यमबाट जनसङ्ख्याको आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ" भन्छन्, कमिट नेपाल बाँकेका अध्यक्ष प्रकाश नेपाली ।

जातका आधारमा हुने अमानवीय व्यवहार जरैदेखि अन्त्य गर्न प्रवृत्तिगत सामाजिक सोच र व्यवहारमा समेत आमूल परिवर्तन आउन जरुरी रहेको उनको भनाइ छ ।

दलितभित्र पनि अति पिछडिएको समुदाय भएका कारण यो समुदायलाई संरक्षण गर्नुपर्ने दायित्व सरकारको भएको प्रदेशसभा सदस्य दीपा विश्वकर्मा बताउँछिन् । “यो समुदायका नयाँ पुस्तालाई विगतका कुराको स्मरण गराउँदै सकारात्मक दिशातर्फ अगाडि बढ्ने गरी प्रेरणा दिन सीपमूलक कार्यक्रममा सहभागी गराउनुपर्छ” उनले भनिन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्मा बादी समुदायको आर्थिक सशक्तीकरणका लागि आयमूलक काममा लगाउनुपर्ने बताउँछिन् । “अहिलेसम्म देह व्यापार गर्ने समुदायको रुपमा बादी समुदायलाई बुझियो, अब यो बुझाइलाई बदल्नुपर्छ, उनीहरुको जीवनस्तर परिवर्तनका लागि अझै प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ” उनले भनिन् ।

बादी समुदायलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा अगाडि ल्याउन प्रदेश सरकारले प्रयास थाल्ने प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालको भनाइ छ । बादी समुदायको हकहित र उन्नतिका लागि काम गर्ने उहाँको प्रतिबद्धता छ । “हामीसँग सरकार छ भन्ने विश्वास दिलाउन बादी समुदायको हितमा काम गर्नेछौँ” उनले भने ।

विसं २०६८ को जनगणनानुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ । त्यसमा महिलाको सङ्ख्या २० हजार ३०५ र पुरुषको सङ्ख्या १८ हजार २९८ छ । प्रदेश ५ मा बादी समुदायको सङ्ख्या सात हजार ८८६ रहेको छ ।

प्रतिकृया दिनुहोस