सुलेमानीको शव यात्रामा ठूलो भीड सहभागी, अमेरिका विरुद्ध जुलुस
अमेरिकी हवाई हमलाबाट मारिएका इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो भिड सहभागी भएको छ । इराकको राजधानी बगदादमा मारिएका सुलेमानीको शोक मनाउन ठूलो भीड सहभागी भएको हो ।
बगदादमै पहिलो दिनको शोक मनाइएको छ । उनको निधनमा तीन दिन शोक मनाउने घोषणा भएको छ । यसपछि सुलेमानीको शव इरान लगेर उनको गृहनगरमा अन्तिम संस्कार गरिने बताइएको छ ।
सहभागीहरुले सुलेमानी र इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्वीर बोकेका थिए । बिहानैबाट सहभागीहरुले अमेरिका विरुद्ध जुलुस लगाएका थिए ।
इरानको दोस्रो शक्तिशाली नेता ६२ वर्षीय सुलेमानीलाई राष्ट्रिय नायकका रुपमा लिइन्थ्यो । उनको हत्या पछि इरानले कडा बद्ला लिने प्रतिक्रिया दिएको छ भने अमेरिका युद्ध अन्त्य गर्न सुलेमानीको हत्या गरिएको जनाएको छ ।