टिप्पणी आइतबार, पुस २०, २०७६

विश्वसनीयताको स्वतन्त्र यात्रा

हिमालखबर

विश्वसनीयताको  स्वतन्त्र यात्रा
१२ पुसमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण कार्यक्रममा शपथ खुवाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल । तस्वीर: रासस

राजनीतिक दलहरूसँग पत्रकारहरूको सम्बन्ध र आबद्धताबारे चर्चा गर्दा ‘हामी घुँडासम्म मात्र डुबेका हौं, तिमीहरू त कम्मरसम्मै चुर्लुम्म भइसक्यौ’ भन्ने किसिमको दोषारोपणले हामीलाई कतै पुर्‍याउँदैन।

कुन्दन अर्याल

नेपालमा पत्रकार र दलहरूबीचको अन्तरसम्बन्धबारे वेलावेला चर्चा हुन्छ । कुनै घटना विशेषको प्रतिक्रिया स्वरूप देखापर्ने त्यस्ता चर्चा समयक्रममा त्यसै सेलाउँछन् पनि । गएको १२ पुुसमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा पत्रकारका दुई जनवर्गीय सङ्गठनको एकीकरणपछि स्थापित सङ्गठनका पदाधिकारीहरूका लागि शपथ ग्रहण र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । यसलाई केही पत्रकारले खिसीटिउरी गरे, कतिपय भने असमञ्जसमा परे ।

राजनीतिक दल र पत्रकारबीचको सम्बन्ध तथा दलगत सङ्गठनमा पत्रकारको आबद्धता कति ठीक, कति बेठीक ? देशमा पत्रकारिताको विशिष्ट स्थान र पत्रकारबाट गरिने अपेक्षाबारे चिन्तन गर्दा यस्ता प्रश्नबाट भागेर हुँदैन । यस्ता प्रश्नबाट सिर्जित बहसबाट नै खासगरी नवोदित पत्रकारहरूले दिशानिर्देश गर्न सक्नेछन् ।

बालुवाटार कार्यक्रमपछिको चर्चाले पत्रकार र राजनीतिक दलहरूबीच स्वाभाविक र व्यावसायिक सम्बन्धको पक्षपोषण गर्न खोजेको हो भने बहस भविष्यका लागि मार्गदर्शन पनि बन्न सक्छ । तर, राजनीतिक रूपमा विभाजित आमसञ्चार क्षेत्रमा एकथरीले अर्काथरीलाई होच्याउन मात्रै चर्चा गरेको हो भने हामी फेरि पनि कुनै निष्कर्षमा पुग्दैनौं ।

सधैं उदार लोकतन्त्रको पक्षपोषण गर्ने नेपाली कांग्रेसले २०४८ सालमा सत्तारोहण लगत्तै प्रेस युनियनका नाममा पत्रकारहरूलाई जनवर्गीय सङ्गठनमा बाँध्न थालेको हो । त्यसको सिको अरू दलहरूले पनि गर्न थाले । समयक्रममा मधेशी र जनजाति पत्रकारका नाममा समेत संस्थाहरू बने ।

यो स्थितिमा ‘हामी घुँडासम्म मात्र डुबेका हौं, तिमीहरू त कम्मरसम्मै डुबिसकेका छौ’ भन्ने किसिमका सवाल–जवाफले हामीलाई कहीं पुर्‍याउँदैन । यस्ता विषयमा समय, ठाउँ, प्रसङ्ग विचार गरेर बोल्ने र अरू वेला मौन बस्ने प्रवृत्तिले पनि हामीलाई गैरजिम्मेवार बनाउँछ । जुनसुकै परिवेशमा पनि आफू संलग्न पेशाबारे प्रष्ट विचार राख्न अग्रसर हुनुपर्छ ।

स्वतन्त्रताको मूल्य

संसारका सबै समाजमा सामाजिक चेतनाको वाहक, राजनीतिको एउटा उपक्रम वा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने माध्यमका रूपमा शुरू भएको पत्रकारिताको गौरवमय विगत लोकतन्त्रको वर्तमानसँग जोडिएको छ ।

इतिहासका कैयन् मोडमा नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको संघर्षका माध्यम बनेका पत्रपत्रिका प्रविधि र सामाजिक चेतनाको निरन्तर विकासका कारण आज फरक ठाउँमा आइपुगेको छ । छापाबाट शुरू भएको पत्रकारिताको माध्यम रेडियो र टेलिभिजन हुँदै इन्टरनेटमा आधारित अनलाइनसम्म विस्तारित भएको छ ।

समय प्रवाहसँगै पत्रकारिताका अन्तरवस्तु, उपभोक्ता, यसको संस्थागत स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनलाई नेपालीहरूले पनि बुझ्न खोजेका छन् । दलहरूसँग पत्रकारहरूको संलग्नताका विषयमा बहस गर्न खोज्नुको अन्तर्य यही हो ।

आज पत्रकारिता आधुनिक समाजको एउटा विशिष्ट पेशा वा व्यवसायका रूपमा सुपरिचित भइसकेको छ । पत्रकारिता सिकाउने विभिन्न तालिम केन्द्र छन्, विश्वविद्यालयहरूमा यसका ज्ञान, सीप र आधारभूत मूल्य–मान्यताबारे पढाइन्छन् । यसको बजार झन झन फैलिंदैछ ।

ब्याङ्किङ, वकालत र रोजगारीका अन्य क्षेत्र जस्तै प्रशिक्षित जनशक्ति यहाँ पनि आउँछन् । आज पत्रकारिताका संस्थाहरूले कुनै सम्पादक वा पत्रकारलाई आबद्ध गर्र्दा जेल जान डर लाग्छ कि लाग्दैन भनेर पक्कै सोध्दैनन् । किनकि, अहिले कुनै सञ्चारमाध्यम शुरूआत गर्न न राजनीतिक बन्देजको सामना गर्नुपर्छ, न कुनै राजनीतिक आलोचना गरेबापत प्रशासनिक झमेला र दमन नै ।

राजनीतिक दलको प्रचार संयन्त्रका रूपमा पत्रकारिताको सञ्चालन अब नेपालमा पनि इतिहासको पानामा सीमित भइसक्यो । बजारमा प्रतिस्पर्धा गरिरहेका संस्थागत सञ्चारमाध्यमहरूले सार्वजनिक रूपमा राजनीतिक क्षेत्रका सबैसँग समदूरी राख्ने सिद्धान्तकै पक्षपोषण गरिरहेका छन् ।

आजका हाम्रा पत्रकारिताका संस्थाहरू राजनीतिक दलहरूभन्दा स्वतन्त्र रहेको अभ्यासबाटै साबित गरिसकेका छौं । आज कुनै दलको स्वामित्वमा कुनै सञ्चारगृह छैन । यस्तो अवस्थामा हिजोको मुक्ति संग्रामको भारत वा पञ्चायतकालको नेपालमा जस्तो पार्टीको कार्यकर्ता–नेता–सङ्गठनको संरचनामा पत्रकारको पहिचान कायम गर्न खोज्नु उपयुक्त हुँदैन । त्यसरी सङ्गठित पत्रकारले स्वार्थको द्वन्द्वका कारण अमूक दललाई पनि न्याय गर्न नसक्ने भएकाले स्वतन्त्र छाडिदिनु नै उचित हुन्छ ।

यहींनेर प्रश्न उठाउन सकिन्छ, उसो भए पत्रकारितामा बहुलवादको अभ्यास गर्नु अनुपयुक्त हुन्छ त ? पत्रकारिता बहुलवादको पक्षपोषण गर्ने क्षेत्र मात्र होइन, कुनै पनि समाजमा बहुलवाद र बहुविचारको स्तर परीक्षण गर्ने ब्यारोमिटर पनि हो ।

त्यसैले दर्शन र विचारधाराको तहमा पत्रकार कुनै पनि दलसँग निकट रहन वा आफ्ना धारणा अभिव्यक्त गर्न स्वतन्त्र हुन्छन् । कुनै पार्टीले अघि सारेको वाद वा साध्यको समर्थनमा खुलेर धारणा प्रस्तुत गर्नु वा आफूलाई पार्टीको शुभचिन्तकका रूपमा परिचित गराउनु राजनीतिक स्वतन्त्रताको प्रयोग हो, बहुलवादको अभ्यास हो ।

सत्य र स्वतन्त्रता

पत्रकारिता आजसम्म पनि उत्तरदायी, सामाजिक चेत भएका र जोखिम मन पराउने मानिसहरूले रमाइलो मान्ने पेशा हो । यी विशिष्ट गुणहरूमा बाधा उत्पन्न गराउने जुनसुकै अवस्थाले स्वतन्त्रतालाई क्षति पुर्‍याउँछ । यस सन्दर्भमा बुझ्नैपर्ने कुरा के हो भने, सत्य र स्वतन्त्रता पत्रकारिताका आधारभूत पक्ष हुन् ।

स्वतन्त्रतालाई निरपेक्ष रूपमा बुझ्न सकिंदैन, तर सत्यमा पनि सम्झाैता गर्न थालियो भने विश्वसनीयतामा आघात पर्छ । पत्रकारिताले बामे सरेदेखि अहिलेसम्म राजनीतिक कारणले भोग्नुपरेका व्यवधानहरूलाई पत्रकारहरूको विश्वसनीयताप्रतिको लगावले मात्र परास्त गर्न सकेको हो । जहाँ विश्वसनीयता खस्किएको छ, त्यहाँ पत्रकारिता कमजोर भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको परिकल्पनासम्म गर्न नसकिने निरङ्कुशकालमा पत्रकारहरूले राजनीतिक कार्यकर्ताका रूपमा कलम घोट्नु समयकै माग थियो ।

२०१७ सालपछिको बन्देजमा पनि बहुलवादको दियो निभ्न नदिने बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीको प्रयत्नलाई केही निर्भीक युवा, हाम्रा अग्रज पत्रकारले साथ दिए । अखबारलाई राजनीतिक संवादको मञ्च बनाएका उनीहरूले अभाव र कष्टको जीवन खुशीसाथ आत्मसात् गरे । कठोर सेन्सरसिप छल्न सङ्केत र घुमाउरो भाषाको प्रयोग गरे । तर, आजको राजनीतिक खुलापनमा पनि त्यही रूपमा पत्रकारिता गर्न आवश्यक छैन ।

पत्रकारिता पेशामा आबद्ध हुन चाहने युवाहरूले आफूलाई समयानुकूल परिष्कृत गर्नुपर्छ । यी पंक्ति लेख्दै गर्दा मेरो मस्तिष्कमा पत्रकारिता कक्षामा तन्मयका साथ व्याख्यान सुन्दै टिपोट गरिरहेका मेरा विद्यार्थी झलझल्ती आइरहेका छन् । पत्रकार सम्मेलनहरूमा पूर्वाग्रहको भारीले थिचिएर काँप्दै प्रश्नका नाममा अर्थोकै सोधिरहेका युवाहरू पनि सम्झिरहेको छु ।

आजको नेपाली पत्रकारिता हिजोको दमन, सङ्घर्ष र सिर्जनशील परम्पराबाट यहाँसम्म आइपुगेको हो । हृदयचन्द्रसिंह प्रधानको जागरण साप्ताहिक र तारिणीप्रसाद कोइरालाको उज्यालो र कल्पना दैनिकबाट बढ्दै आइपुगेको लहरा हो ।

आजका पत्रकारहरूले नेपाली पत्रकारिताको त्यो गौरवमय परम्परालाई आत्मसात् गर्दै समयको माग पूरा गर्नुपर्छ । किनकि, संसारका अरू भूभागमा जस्तै नेपाली पत्रकारिता र यसका उपभोक्ताका प्रवृत्तिमा व्यापक परिवर्तन आइसकेको छ ।

(डा.अर्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता एवं आमसञ्चार विभागसँग आबद्ध छन् ।)

 

प्रतिकृया दिनुहोस