कला/साहित्य शनिबार, पुस १९, २०७६

जाेकरकाे बन्दुकः कवितामा व्यङ्ग्य र संवेदना

हिमालखबर

जाेकरकाे बन्दुकः कवितामा व्यङ्ग्य र संवेदना

-बालिका थपलिया

२०४० सालमा प्रकाशित विमल निभाको पहिलो पुस्तक ‘आगोनेर उभिएको मानिस’ लाई कविताको मानक कृति मानिन्छ । त्यसपछि प्रकाशित कविताकृति ‘एउटा बाहुला नभएको बुसर्ट’ ले पनि पाठकलाई राम्रै छाप बनायो । हालै प्रकाशित ‘जोकरको बन्दुक’ कवि निभाको तेस्रो कविताकृति हो ।

६० वटा कविता सङ्ग्रहित पुस्तकको नाम नै व्यङ्ग्यात्मक छ । व्यङ्ग्यात्मक निबन्ध लेखनमा समेत चिनिएका उनले शीर्ष कवितामा नेतालाई जोकरसँग तुलना गरेका छन् । उक्त कवितामा नेतालाई मात्र होइन आफैंलाई पनि कटाक्ष गरेका छन्ः

आज म आफ्नै
मेरुदण्डमा निहुरिएर
आफैंस“ग सोधिरहेछु
–के मैले कुनै जोकरको हातमा
बन्दुक थमाएको थिएँ ?

पुस्तकमा समेटिएका अधिकांश कविता समसामयिक विषयमा आधारित छन् । ‘कोठा’ शीर्षकको कविताले लेखकको अस्तव्यस्त जीवनशैलीलाई प्रतिबिम्बित गरेको छ । कविता पढ्दा कवि स्वयं नै पात्र भएर उभिए झैं लाग्छ ।

उनका अधिकांश कविता मर्मस्पर्शी छन् । ‘फोहोरको कन्टेनर’ ले अनाथ बालकको जिन्दगीको कथा बोकेको छ । कसैको लागि काम नलाग्ने चीज अरुका लागि अमूल्य हुनसक्ने सन्देश दिएका छन् ।

संस्मरण निबन्धको विधा हो । संस्मरणलाई कविता मार्फत व्यक्त गर्नु सहज छैन । तर, कवि यो चुनौतीमा खरो उत्रिएका छन् । कविले आफ्नो बाल्यकालबारे पनि कविता मार्फत स्मरण गरेका छन् ।

पुस्तकः जोकरको बन्दुक कविः विमल निभा प्रकाशकः साङ्ग्रिला बुक्स पृष्ठः १४३ मूल्यः रु.२५०

कवि वर्तमान परिस्थितिप्रति निराश मात्र छैनन्, आशा पनि जगाएका छन् । हरेक समस्यासँगै समाधान पनि लुकेको हुने सन्देश ‘साँचोको झुप्पा’ कवितामा दिएका छन् ।

‘धरती’ शीर्षकको कविताले मानवीय संवेदनालाई सम्बोधन गरेको छ । आकाश, धर्ती र इन्द्रेणीको पारस्परिक सम्बन्धलाई खोतल्ने प्रयास गरेका छन् । उनले सप्तरङ्गी इन्द्रेणीसँग हाम्रो संवेगलाई पनि जोडेका छन् ।

इन्द्रेणीका सातै रङ्ग
हाम्रा हुन्
एक, हाम्रो सपनाको
दुई, हाम्रो संघर्षको
तीन, हाम्रो विश्वासको
चार, हाम्रो लगनको
पाँच, हाम्रो परिश्रमको
छ, हाम्रो उत्साहको
सात, हाम्रो सुखको
ओ आकाश 

‘कुवा’ कविताले यौन हिंसा विरुद्धमा आवेश प्रकट गरेको छ । उनी बलात्कार जस्तो अमानवीय कार्यप्रति शब्द र भावना मार्फत धावा बोलिरहेका छन् ।

नारीप्रति कविको प्रगाढ सहानुभूति ‘निद्रामा जागराम’ शीर्षकको कवितामा झल्किएको छ । साना साना भनिने कामले महिलालाई कति व्यस्त बनाउँछ भन्ने यथार्थ कविताले प्रष्ट्याएको छ ।

‘अङ्कुरण’ शीर्षकको कविताले सङ्घर्षमा सिर्जना मौलाउने सन्देश बोकेको छ । पैसामुखी बन्दै गइरहेका मानिसप्रतिको व्यङ्ग्य हो ‘डलरामा’ कविता । अहिले हरेक सम्बन्धलाई पैसासँग तुलना गर्न थालिएको छ । ‘हताशा’ कविताले जीवनको निराशासँग जुध्न सामथ्र्य दिन्छ । कवितामा इच्छाशक्तिले नैराश्यतालाई परास्त गर्छ ।

कवि निभाका कविताले समाजका विभिन्न पात्र र उनीहरूको भोगाइको सजीव चित्रण गरेका छन् । आफ्नो अभिभावकले प्रयोग गरेको साधन एकदम प्रिय हुन्छ भन्ने सन्देश बोकेको कविता हो ‘बाको चश्मा ।’

उनी बालबालिकाको लागि कति संवेदनशील रहेछन् ? हामी यो प्रश्नको जवाफ ‘डेढ अर्ब भोका बालक’ कविता पढेपछि थाहा पाउँछौं । उनको ‘जय नेपाल’ शीर्षकको कविताले विद्यमान राजनीतिक कुरीतिलाई उत्खनन् गरेको छ । ‘मुखमा राम राम बगलीमा छुरा’ प्रवृत्तिको मान्छे यो कविताको पात्र हो ।

कवि निभाका कविताले समाजका विभिन्न पात्र र उनीहरूको भोगाइको सजीव चित्रण गरेका छन् । आफ्नो अभिभावकले प्रयोग गरेको साधन एकदम प्रिय हुन्छ भन्ने सन्देश बोकेको कविता हो ‘बाको चश्मा ।’

उनका कविता विगत र वर्तमानका घटनाक्रम जोड्ने पुल हुन् । हरेक कविताले कुनै न कुनै सन्देश बोकेका छन् । बौद्धिकताले ओतप्रोत प्रायः सबै कविता यथार्थवादी धारामा प्रवाहित छन् । देश र वर्तमान समाज बुझ्न चाहनेको लागि ‘जोकरको बन्दुक’ प्रेरणादायी छ । उनले बदलिंदो यान्त्रिक समाजप्रति पनि कविता मार्फत चिन्ता व्यक्त गरेका छन् । 

 

प्रतिकृया दिनुहोस