इरानमा सुलेमानी मारिएपछि इस्माइल कानी बने नयाँ कमाण्डर
इरानमा अमेरिकी सेनाको हवाई आक्रमणमा इरानको अल कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि ब्रिगेडियर जनरल इस्माइल कानी नयाँ कमाण्डर बनेका छन् ।
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले कानीलाई नयाँ कमाण्डर भएको घोषणा गरेका छन् । कासिम सुलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएपछि उनको स्थानमा कानी नियुक्त भएका हुन् ।
आयतोल्लाहले आफ्नो सरकारी वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै लेखेका छन्,“ जनरल कासिम सुलेमानीको शहादतपछि म ब्रिगेडियर जनरल इस्माइल कानीलाई इस्लामिक रिवोल्यूसनरी गार्ड कोरको कुद्स फोर्सको कमाण्डर नियुक्त गर्छु ।”
खामेनीले जनरल कानीलाई १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्धका सबभन्दा प्रशंसनीय कमाण्डरमध्ये एक भएको बताए । उनले भने, “म कुद्स फोर्सका सदस्यसँग आग्रह गर्दछु कि सबैले जनरल कानीलाई सहयोग गर्नुहुने छ । र, उनलाई शुभकामना दिनुहुने छ ।
इरानले सन् १९७९ को क्रान्तिपछि देशको इस्लामिक व्यवस्थाको रक्षाका लागि रिवोल्यूसनरी गार्ड कोरको गठन गरेको थियो ।
गठनपछि यो फोर्स इरानको सबभन्दा प्रमुख सैन्य शक्ति बन्न पुग्यो । यसको प्रत्यक्ष सम्बन्ध सर्वोच्च धार्मिक नेता तथा अन्य वरिष्ठ नेतासँग हुन थाल्यो ।
रिवोल्यूसनरी गार्डका अन्य विभागहरु छन् । ती मध्ये कुद्स फोर्स सबभन्दा ठूलो सैन्य टुकडी बनेको थियो । यसले विदेशमा रहेर इरानको हितमा काम गर्ने गर्थ्याे।
–एजेन्सी