मुस्ताङमा हिमपात, सर्वसाधारणको दैनिकी प्रभावित
मुस्ताङमा पुनः हिमपात भएको छ । वर्षा, हिमपातले सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ।
जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिका गाउँमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ ।
चिसोका कारण जनजीवन प्रभावित बनेको छ । तर, वर्षा र हिमपातले कृषकहरूमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा दोस्रो पटक हिउँ परेको हो ।
वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले किसान खुशी भएका हुन् । हिउँ परेपछि स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।