घरेलु एक दिवसीयमा सुवासको पुनरागमन
राष्ट्रिय टोलीका पूर्वसदस्य सुवास खकुरेल झन्डै दुई वर्षपछि घरेलु एक दिवसीय प्रतियोगितामा फर्किएको खेल अनिर्णित भएको छ । सुनसरीको इनरुवामा भइरहेको मनमोहन मेमोरिएल (एमएम) कप अन्तर्गत प्रदेश ३ र प्रदेश ५ बीचको खेल अनिर्णित भएको हो ।
दुई वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर हात भाँचिएपछि आराम गरिरहेका खकुरेल मैदानमा फर्किँदै प्रदेश ३ को कप्तानी गरिरहेका छन् । यसअघि गत साता सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौँ गोल्डेन वारियर्सबाट उनले घरेलु टी२० फ्रेन्चाइज लिगमा पुनरागमन गरेका थिए । पहिलो खेलमा ब्याटिङ गरेका उनले फितलो प्रदर्शन गरेपछि थप मौका पाएनन् ।
तर, ५० ओभरको खेलमा भने राम्रो पुनरागमन गरेका छन् । टस जितेर पहिला ब्याटिङ रोजेका उनी रित गौतमसँग ओपनिङमा आएका थिए । उनले ६५ बलमा पाँच चौकाको मद्दतमा ४२ रन बनाए ।
उनको टीम ४२.५ ओभरमा १८९ रन बनाउँदै अलआउट भयो । उनीबाहेक प्रदेश ३ का लागि आदिल खानले २६, रितले २२ र प्रतिष जीसीले १८ रन बनाए ।
प्रदेश ५ का विशालविक्रम केसी एक्लैले पाँच विकेट लिए । जवाफी ब्याटिङमा आएको प्रदेश ५ ले २.१ ओभरमा एक विकेट गुमाउँदै ९ रन बनाएपछि वर्षाले खेल अवरुद्ध गरेको थियो ।
राष्ट्रिय टीमका सफल ओपनर
खकुरेल राष्ट्रिय टीमका सफल ओपनर मानिन्छन् । उनले सन् २०११ मा एसीसी टी२० कप अन्तर्गत किर्तिपुरमै भएको हङकङविरुद्धको खेलमा डेब्यु गरेका थिए । तर, उनले तीन बलमा १ रन मात्र बनाएका थिए ।
सन् २०१२ मा भएको डिभिजन ४ मा उनले अमेरिकाविरुद्ध शतक बनाएपछि उनले राष्ट्रिय टीममा आफ्नो स्थान मजबुद बनाए । उक्त प्रतियोगितमा उनले ६ इनिङमा २०८ रन बनाउँदै सर्वाधिक रन बनाउनेको सूचीमा तेस्रो नम्बरमा आए । नेपालका लागि भने सर्वाधिक रन बनाउने उनै थिए ।
सन् २०१४ को टी२० विश्वकपमा नेपालका तर्फबाट उनले पहिलो र एक मात्र अर्धशतक प्रहार गरेका थिए । उनले अफगानिस्तानविरुद्ध ५३ बलमा ५६ रन प्रहार गरेका थिए ।
उनले ‘लिष्ट ए’ मा भने सन् २०१५ मा भएको डिभिजन २ मा युगान्डाविरुद्ध खेल्दै डेब्यु गरेका थिए । नेपालले अन्तराष्ट्रिय एक दिवसीयको मान्यता पाउँदा उनी मैदान फर्किन संघर्ष गरिरहेका थिए । दुई अन्तराष्ट्रिय प्रतियोगिता खेलेका उनले यूएईविरुद्ध अर्धशतक हानेका छन् । ९७ रनमा ५० बल बनाएको उक्त खेल नेपालले हारेको थियो ।