कांग्रेस बैठकः राष्ट्रियसभा उम्मेद्वार पदाधिकारीले टुंग्याउने
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वार टुंगो लगाउने अधिकार पदाधिकारीलाई दिएको छ ।
आवश्यक परामर्श गरी पदाधिकारी बैठकले उम्मेद्वार टुंगो लगाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकले राष्ट्रियसभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय समेत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
नेपालको संविधानको धारा ८६ (३ं) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ ।
बैठकले पार्टीका उम्मेदवारलाई सहयोग एवं समर्थन गर्न संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दल र सबै मतदातालाई अनुरोध र आह्वान गर्ने निर्णय गरेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने बैठक बहिष्कार गरेको थियो ।