चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्को स्वीकृति
सरकारले चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति दिएको छ ।
चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनीलाई स्वीकृति दिएको हो ।
मन्त्रिपरिषदको निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त खण्डको सडकको चौडाइ ३१ मिटर बनाउने गरी जग्गा अधिग्रहण गर्न स्वीकृति दिइएको बताए ।
यसैगरी मन्त्रिपरिषद बैठकले नेपालमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका इजिप्टका ४ नागरिकलाई निष्कासन गर्ने निर्णय गरेको बाँस्कोटाले बताए ।
उनीहरूको भिसा दिस्तुर तथा विलम्ब शुल्क बापतको ४ हजार ६ सय ४० अमेरिकी डलर तथा जरिवाना बापतको २ लाख रुपैयाँ मिनाहा गरी नेपालबाट निष्कासन गर्ने निर्णय लिइएको छ । मन्त्रिपरिषदले १४ निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी गराए ।