एमएम कपको पहिलो खेल : दुई इनिङमा जम्मा १७२ रन !
दोस्रो मनमोहन मेमोरियल (एमएम) कपको पहिलो खेलमा प्रदेश १ ले प्रदेश ५ लाई ६८ रनले पराजित गरेको छ । ‘लो स्कोरिङ म्याच’ मा दुवै इनिङमा जम्मा १७२ रन बनेको खेलमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको प्रदेश ५ ले १८ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो । प्रदेश १ का दीपेश कँडेलले ७ ओभर बलिङ गर्दै मात्र २२ रन खर्चेर ६ विकेट लिए । मुकुन्द यादव र मनोज तामाङ प्रत्येकले दुई विकेट लिए ।
प्रदेश ५ का लागि ओपनर बिराट भण्डारी र बिशालविक्रम केसीले मात्र दोहोरो अंकमा रन बनाए । भण्डारीले २८ र बिशालले १२ रन बनाए । प्रदेश ५ का ४ ब्याट्स्म्यान रन नबनाइ बाहिरिएका थिए ।
यसअघि प्रदेश १ का लागि फिर्दोश अन्सारीले २३ रन बनाउँदा कप्तान पुष्प थापा र दीपशे कँडेल प्रत्येकले २२ रन बनाएका थिए । प्रदेश ५ का विक्रम भुषालले ५ र दुर्गेश गुप्ताले २ विकेट लिएका थिए । प्लेयर अफ द म्याच प्रदेश १ का दीपेश कँडेल घोषित भए ।