उखु किसानको धर्नामा विद्यार्थी र साहित्यकारको साथ (फाेटाे फिचर)
चिनी मिलले उखुको भुक्तानी नदिएपछि सर्लाहीका किसानले काठमाडौँको माइतिघर मण्डलामा दिइरहेको धर्नामा बुधबार विद्यार्थी र साहित्यकारले पनि साथ दिएका छन् ।
उखु किसानलाई रकम भुक्तानी गर्न माग गर्दै विभिन्न ब्यानर तथा प्लेकार्डसहित विद्यार्थी र साहित्यकार धर्नामा सहभागी छन् । निजी कलेजका विद्यार्थी कलेज पोशाकमै धर्ना बस्न पुगेका छन् । साहित्यिक अभियान उन्मुक्त पुस्ताले पनि किसानको धर्नामा सहभागिता जनाएको छ ।
चिनी मिलले तीन वर्षदेखिको भुक्तानी नदिएको किसानले बताएका छन् । सरकारले तोकेको उखुको मूल्य पनि सर्लाहीको अन्नपूर्ण सुगर मिलले घटाएको किसानको गुनासो छ । सरकारले प्रतिक्विन्टल रु.५२८.२८ कायम गरेको भए पनि मिलले रु.५०० मात्र तोकेको तर, भुक्तानी भने नदिएको उनीहरुले बताए ।
आफूले तीन वर्षका रु.३ लाख नपाएको सिसौटियाका ७७ वर्षीय किसान महेन्द्र महतो कोइरीले बताए । उनी अन्नपूर्ण सुगर मिलले दिएको उधारो बिलको मुठा नै बोकेर धर्नामा छन् ।
सर्लाहीकै रामनगर गाउँपालिकाका हरेन्द्र राय यादवको पनि उक्त चिनी मिलबाट रु.१ लाख ५० हजार भुक्तानी लिन छ । किसान समस्यामा पर्दा पनि आफ्नो क्षेत्रका सांसद भेट्न नआएको उनले गुनासो गरे ।
यादवले भने, “हामीले भोट दिएर जिताएका केन्द्रका सांसद अमरेशकुमार सिंह र प्रदेशका सांसद नरेश महतो भेट्न आएका छैनन् । पैसा दिलाइदिने आश्वासन पनि दिएका छैनन् । बरु अर्को क्षेत्रका सांसद आए ।” बुधबार नै उखु किसानको धर्नामा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो केही समय सहभागी भएका थिए ।