खेलकुदमा २०१९ कीर्तिमानी वर्ष
सन् २०१९ नेपालका लागि कीर्तिमानी वर्ष बनेको छ । वर्षको अन्तिम महीना डिसेम्बरमा सम्पन्न तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ३५ वर्ष पछि नयाँ कीर्तिमान बनाएको छ ।
सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएको हो । सन् १९९९ को सागमा नेपालले ३१ स्वर्ण जिते बाहेक दोहोरो अंकमा समेत स्वर्ण जित्न सकेको थिएन ।
एउटै सागमा चार स्वर्ण जित्ने खेलाडी बनेर गौरिका सिंहले नयाँ कीर्तिमान बनाइन् भने करातेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण जित्ने कीर्तिमान बनाए ।
महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् ।
यही वर्ष अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले भण्डै साढे तीन वर्षपछि नेपाल क्रिकेट सङ्घ (क्यान) माथिको निलम्बन फुकुवा ग¥यो ।
यसै वर्ष अक्टोबरमा नेपाली राष्ट्रिय क्रिकेटले नयाँ कप्तानको रुपमा ज्ञानेन्द्र मल्ललाई पायो भने पारस खड्काले कप्तानबाट राजीनामा दिए ।
विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध नेपालले १४ वर्षपछि तीन दिवसीय प्रथम श्रेणीको क्रिकेट खेल्यो ।
पटक पटक सरेको आठौँ राष्ट्रिय खेलकूदले पनि यसै वर्ष पूर्णता पायो । अघिल्लो वर्षकै लागि तय भएको उक्त खेलकूदको मिति पटक पटक सर्दै आएको थियो । अन्तत नेपालगञ्जमा वैशाख ५ देखि ११ गते सम्पन्न भयो । प्रतियोगितामा कुल ३५ खेलमा प्रतिस्पर्धा भएको थियो । जसमा १४० स्वर्ण, ८२ रजत तथा ६७ कास्यसहित नेपाल आर्मी पहिलो भएको थियो ।
बङ्गलादेशाको ढाकामा सम्पन्न प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले ऐतिहासिक नतिजा ल्यायो । यसअघि नेपालले कहिले पनि अन्तरराष्ट्रियस्तरको प्रतियोगितामा उपाधि जित्न सकेको थिएन ।
नेपाली फुटबल टोलीले सागमा स्वर्ण पदक जित्दा राष्ट्रिय टोलीका केही महत्वपूर्ण सदस्य भने मैदान बाहिर बस्न बाध्य बने ।