सभामुख चयनबारे ओली–दाहाल छलफलमा
प्रतिनिधिसभा सभामुख चयनबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अझै सहमति जुट्न सकेको छैन ।
सभामुख कसलाई बनाउने भन्नेबारे सहमति नजुट्दा संसद बैठक नै स्थगित हुँदै आएको छ । ४ पुसबाट शुरु भएको बैठक सभामुख चयन नहुँदा स्थगित गरिदै आएको छ । ४ पुसमा बैठक शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर स्थगित भएको थियो ।
त्यस बेला ११ पुसभित्र सभामुखको उम्मेद्वार टुंगो लगाउने र उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरी सभामुख चयन प्रक्रिया अगाडि बढाउने तयारी भएको थियो । तर, सभामुख को बन्ने भन्ने निश्चित नहुँदा ११ पुसको संसद बैठक सूचना टाँसेर स्थगित गरियो ।
बैठक १६ पुसमा बोलाइएको छ । तर, मंगलबारसम्म सभामुखबारे सहमति जुट्न सकेको छैन । सभामुखबारे अध्यक्षद्वय ओली र दाहालबीच मंगलबार पनि छलफल हुने बताइएको छ ।
कृष्णबहादुर महराले बलात्कार आरोपपछि राजीनामा दिए पछि उपसभामुख तुम्बाहाङ्फेले संसदको कार्यकारी भूमिका निर्वाह गर्दै आएकी छन् । एउटै दलबाट दुवै पद राख्न नमिल्ने भएकाले तुम्बाहाङ्फेलाई राजीनामा गराउने विषयमा सहमति भए पनि सभामुखमा तत्कालीन माओवादीले अडान नछोड्दा सहमति जुट्न सकेको छैन ।
तत्कालीन एमालेले पनि सभामुख आफूहरुले पाउनुपर्ने अडान राखेको छ । एमालेले सुवास नेम्वाङ र माओवादीले अग्नी सापकोटालाई उम्मेद्वार बनाउन चाहेको छ ।