राष्ट्रपति र उपराष्ट्रपतिद्वारा तमू ल्होसारको शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको पर्व तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
तमूल्होसारका अवसरमा शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न समेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन् ।
गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्वपूर्ण अङ्गका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमूल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले समेत तमुल्होसारको शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन योगदान गरेको उल्लेख गरेका छन् ।