गुरुङ समुदायमा तमुल्होसार मनाइदै
गुरुङ समुदायमा आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी ‘तमुल्होसार’ पर्व मनाइँदैछ ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यसवर्ष १४ पुस राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताए ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।
यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको समितिका महासचिव सूर्यबहादुर गुरुङले बताए ।
प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मङ्गलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् ।