वन्यजन्तु ओसार–पसार र बिक्री गर्ने १३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अवैध रुपमा वन्यजन्तुको आखेटोपहार ओसार–पसार र बिक्री गर्ने काममा संलग्न १३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार, आखेटोपहार अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा १४ जनालाई पक्राउ गरेर १३ पुसमा थप कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडाैंमा बुझाइएको छ ।
पछिल्लो समय ठूलो संख्यामा पक्राउ परेका १३ जना संरक्षित वन्यजन्तु सालकको खपेटा, भालुको पित्त र चितुवाको छालाको अवैध ओसार–पसार तथा बेचबिखनमा संलग्न भएका हुन् ।
सीआईबीले ६ पुस काठमाडौं–५ भाटभटेनी मन्दिर अगाडि अवैध रुपमा खरीद गर्न लागेका दुई थान सालकको खपेटासहित महोत्तरीको बर्दिबास–५ का सिंहबहादुर मोक्तान, मकवानपुरको बकैया–२ का कालबहादुर जिम्बा, धादिङको खनियाबास–३ का सुके तामाङ र धादिङको त्रिपुरासुन्दरी–३ का उमेश अधिकारीलाई पक्राउ गरेको थियो ।
सीआईबीको टोलीले ८ पुसमा काठमाडौंको सुकेधाराबाट संरक्षित वन्यजन्तु भालुको एक थान पित्तसहित धादिङको सिद्धलेक–४ का ईश्वर थपलिया, दोलखाको वैतेश्वर–४ का ललितबहादुर बिक, राजकुमार दाहाल, यम खाती र वैतडीको दोगडाकेदार–४ का हरीश भट्टलाई पक्राउ गरेको थियो ।
काठमाडौंको टोखाबाट संरक्षित वन्यजन्तु चितुवाको दुई थान छालासहित नुवाकोटको बिदूर–८ का सरोज ओझा, काठमाडौंको तारकेश्वर–१ का अखिल लामा र कैलालीको चुहा–३ का कृष्ण साउद क्षेत्रीलाई सीआईबीले १० पुसमा पक्राउ गर्याे।
यस्तै, सीआईबीको टोलीले ११ पुसमा काठमाडौंको बालुवाटारबाट संरक्षित वन्यजन्तु सालकको चार केजी तौलको खपटासहित सिन्धुलीको तीनपाटन–७ का कर्ण रम्तेललाई पक्राउ गरेको थियो ।
संरक्षित बन्यजन्तुको आखेटोपहार नेपालबाट अवैध रुपमा स्थलमार्ग हुँदै भारत र चीनसम्म पुग्ने गरेको छ ।