रिपोर्ट मंगलबार, पुस १५, २०७६

कुन गाडी आयो, कुन गयो ? अब एपले रेकर्ड राख्छ !

रामु सापकोटा

कुन गाडी आयो, कुन गयो ? अब एपले रेकर्ड राख्छ !
रिअल टाइम भेहिकल ट्र्याकिङ एण्ड रिकग्निसन सिस्टम (आरटीभीटीआर) मार्फत गरिने ट्र्याकिङ ।

इन्जिनियरिङमा स्नातक चार युवाको समूहले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत सवारी साधनको सम्पूर्ण विवरण सङ्कलन गर्न ‘आरटीभीटीआर’ प्रविधि विकास गरेका छन्।

२०७१ साल अघिसम्म राजीव बिष्ट, सञ्जय खनाल, आदेश न्यौपाने र सागर पाठक इन्जिनियरिङ विषयको स्नातक तह अध्ययन गर्न दिनहुँ धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) जाने गर्थे । दैनिक ओहोरदोहोर गर्दा भक्तपुरको जगातीमा रहेको चेकपोष्टमा खटिएका ट्राफिक प्रहरीले काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको विवरण सङ्कलन गरेको देखे ।

ट्राफिकले कागजमा लेखेर राखेको रेकर्ड एक हप्तापछि खोज्नुपर्‌यो भने कति समय लाग्ला ? खाजा वा खाना खान गएका वेला आउजाउ गर्ने सवारी साधनको रेकर्ड कसरी रहला ?

 ‘इन्स्पायरिङ ल्याब’ का सदस्य ।

यी चार विद्यार्थी यो काम सहजै गर्न कसरी प्रविधिको उपयोग गर्न सकिएला भनेर घोत्लिन थाले । कलेजको अन्तिम वर्षको प्रोजेक्ट अन्तर्गत नेपाली अक्षर पहिचान गर्न सक्ने ‘क्यारेक्टर रिगग्निसन’ सफ्टवेयर र ‘भेहिकल ट्र्याकिङ’ हार्डवेयर बनाउन सफल भए । २०७१ कात्तिकमा यी युवाले ललितपुरको भनिमण्डलमा ‘इन्स्पायरिङ ल्याब’ कम्पनी खोले । त्यसपछि शुरू भयो ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को यात्रा ।

शुरूमा उनीहरूले सरकारी कार्यालयहरूमा राखिने हस्तलिखित कागजी अभिलेखलाई ‘डिजिटाइज’ गर्ने ‘अप्टिकल क्यारेक्टर रिकग्निसन’ (ओसीआर) को काम थाले । सरकारी कार्यालयबाट हस्तलिखित कागज सङ्कलन गर्नै कठिन हुने देखेपछि उनीहरूले ‘ओसीआर’ प्रविधि प्रयोगमा ल्याउन सकेनन् । तर, उनीहरूले हार भने खाएनन् र विद्यालयमा ओसीआर प्रविधि लागू गर्ने गरी काम अघि बढाए ।

यसै क्रममा उनीहरूले २५ भन्दा बढी सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले नेपाली भाषामा लेखेका सामग्री सङ्कलन गरे । ओसीआर प्रविधिको प्रयोग गरेर विद्यार्थीले हातले लेखेको नेपाली अक्षरलाई कम्प्युटरमा डिजिटाइज गरी अभिलेख राख्न सफल भए । नेपाली अक्षरको ‘इमेज’ लाई ‘डिजिटल’ स्वरुपमा उतार्ने परियोजना ट्राफिक व्यवस्थापनमा सहयोगी हुने निधो गरेपछि ‘रिअल टाइम भेहिकल ट्र्याकिङ एण्ड रिकग्निसन सिस्टम’ (आरटीभीटीआर) विकास गरे । 

आरटीभीटीआरले वास्तविक समयमा सवारी साधनको प्रकार र नम्बर पत्ता लगाउँछ । भिडियो क्यामेरा र कम्प्युटरको माध्यमबाट सवारी साधन तथा यसको नम्बर प्लेट पहिचान गर्ने र सवारी साधनहरूको संख्या गणना गर्ने प्रणाली नै आरटीभीटीआर हो ।

आरटीभीटीआरले सवारी साधनको नम्बर प्लेटमा लेखिएको नेपाली र अंग्रेजी अक्षर र नम्बर ‘रिड’ गर्न सक्छ । यसले त्यहाँ लेखिएको विवरण (ठाउँ, सवारीको प्रकार र नम्बर आदि) कम्प्युटरमा पठाउँछ र त्यसरी प्राप्त विवरण कम्प्युटरमा डिजिटल स्वरुपमा अभिलेखीकरण गर्छ ।

यसले नम्बर प्लेटसँगै सवारी साधनको तस्वीर लिई अटोमेटिक तवरमा डिजिटल स्वरुपमा अभिलेख राख्छ । ल्याबले आरटीभीटीआर मार्फत ‘इम्बोस्ड नम्बर प्लेट’ र पुरानो प्रणालीको नम्बर प्लेटलाई पनि डिजिटाइज गरी अभिलेखमा राख्न सक्ने प्रविधि विकास गरिसकेको छ ।

यही प्रविधि ७ भदौ २०७६ मा ‘फ्यूज मेसिन’ नामक संस्थाले आयोजना गरेको ‘एआई एक्स्पो’ मार्फत १० प्रतिस्पर्धीमध्ये आरटीभीटीआर प्रविधि उत्कृष्ट तीन अन्तर्गत परेर पुरस्कृत भइसकेको छ ।

सफल परीक्षण

ल्याबका प्रमुख कार्यकारी राजीव बिष्ट ‘आरटीभीटीआर’ सवारी साधन भित्रिने र बाहिरिने मुख्य नाकाहरूमा उपयोगी हुने बताउँछन् ।

ट्राफिक प्रहरीका अनुसार भक्तपुर नाकाबाट दैनिक नौ हजार भन्दा बढी सवारी साधन बाहिरिने गरेका छन्, भित्रिनेको संख्या ११ हजारभन्दा बढी छ । यस्तै, थानकोट नाकाबाट दैनिक भित्रिने सवारी साधनको संख्या पाँच हजारभन्दा बढी र बाहिरिनेको संख्या सात हजार भन्दा बढी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ६ पुसमा लिइएको तथ्याङ्क अनुसार उपत्यका भित्रिने सवारी साधनको कुल संख्या १७ हजार ६१३ र बाहिरिने १७ हजार ५०२ छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ दैनिक भित्रिने र बाहिरिने सवारी साधनको चेकजाँचका लागि भक्तपुरको जगातीमा रहेको चेकपोष्टमा आवश्यकता अनुसार ३७ जनासम्म प्रहरी परिचालन हुने गरेको बताउँछन् । यस्तै, नागढुङ्गा नाकामा १७ जना ट्राफिक प्रहरी २४सै घण्टा खट्ने गरेका छन् । यी प्रहरीले सवारी साधनको नम्बर र सवारीको प्रकार कागजमा हातले लेख्ने गरेका छन् ।

महाशाखाका प्रवक्ता श्रेष्ठ चेकपोष्टहरूमा सीसीटीभी मार्फत नाकाबाट ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेट र सवारीको प्रकार बारेको तथ्याङ्क राख्ने योजना बनाए पनि कार्यान्वयनमा आइनसकेको बताउँछन् ।

ट्राफिक प्रहरीले सीसीटीभी मार्फत दुर्घटना भएको ठाउँ र त्यसको अवस्था, जाम, सवारीमा हुने चोरी, लेनको दुरुपयोग र ट्राफिक नियम पालना भए वा नभएको बारेमा जानकारी लिने काम गरिरहेको उनको भनाइ छ ।

‘इन्स्पायरिङ ल्याब’ ले ट्राफिक प्रहरीसँग मिलेर तीन महीनाअघि नै ‘आरटीभीटीआर’ प्रविधिको परीक्षण गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिष्टका अनुसार रानीपोखरी र थानकोट चेक पोइन्टमा गरिएको परीक्षण सफल देखिएको बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी निरीक्षक रितोष राय ‘एआई’ प्रयोग गरेर सवारी साधनको विवरण सङ्कलन गर्ने प्रविधि अत्यावश्यक भएको र यसले ट्राफिक प्रहरीलाई धेरै राहत दिने बताउँछन् । ट्राफिक प्रहरीले पनि यो प्रविधिको आवश्यकता महसूस गरेको बिष्ट बताउँछन् । 

बिष्टका अनुसार आरटीभीटीआर प्रविधि चेकपोष्टहरूमा मात्र नभएर मल, ब्याङ्क, होटल लगायतका पार्किङमा पनि उपयोगी हुन्छ । “पार्किङ स्थलमा छिर्ने र निस्कने फरक–फरक गेट भएको ठाउँमा आरटीभीटीआर लागू गर्न सम्भव हुन्छ । अन्यथा गाह्रो छ”, उनी भन्छन् ।

न प्रयोग, न प्रोत्साहन

बिष्टको भनाइमा, चेकपोष्ट मार्फत सवारी साधनको विवरण सङ्कलन गर्न उपयोगी हुने प्रविधि कार्यान्वयनका लागि सरकारले चासो देखाउनुपर्छ । सवारीको नम्बर प्लेट र त्यसमा लेखिने अक्षरको आकार एउटै बनाउनुपर्छ । “यो प्रविधिको प्रयोगले चेकपोष्टहरूमा सवारीको चाप अनुसार कति ट्राफिक खटाउने, कस्तो सडकमा कस्ता सवारी चल्छन् भन्ने थाहा हुने र त्यसका आधारमा सडकको पूर्वाधार बनाउन सहयोगी भूमिका खेल्छ”, बिष्टको दावी छ ।

सिसिटिभीकाे प्रयाेग ।

अहिले ल्याबमा आवद्ध ६ जना युवा समूह ‘आरटीभीटीआर’ मा प्रदेश नम्बर सहितको नम्बर प्लेट ‘रिड’ गर्न सक्ने प्रविधि र ‘टाइम कार्ड म्यानेजमेन्ट’ जस्ता विशेषताहरू थप्ने काम गरिरहेका छन् ।

ल्याबका अर्का संस्थापक आदेश न्यौपानेको यो अवधारणामा काम गर्न ल्याब सदस्य बाहेक सौगात भट्टराई, प्रनव शर्मा पनि थपिएका छन् । न्यौपाने अहिले अमेरिकाको ब्रिङ्घम योङ युनिभर्सिटीमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका छन् ।

ल्याबका अनुसार आरटीभीटीआर प्रविधि बनाउन मानव संसाधन, कम्प्युटर र अन्तर्राष्ट्रिय प्रविधि लगायत प्रयोग गरेर करीब रु.३० लाखभन्दा बढी खर्च भइसकेको छ ।

तर, आरटीभीटीआर प्रविधि प्रयोग गर्न चाहनेलाई न्यूनतम एक वर्षको निःशुल्क मर्मत सहित रु.५ लाखसम्ममा बिक्री गर्न सक्ने बिष्ट बताउँछन् । “आरटीभीटीआर प्रविधि प्रयोग गर्न टाइम कार्ड लागू गर्ने निकुञ्ज क्षेत्र र केही विदेशी संस्थाहरूले चासो देखाएका छन्”, बिष्ट भन्छन् ।

प्रतिकृया दिनुहोस