रिपोर्ट आइतबार, पुस १३, २०७६

विद्यालय बदल्दै स्वय‌ंसेवक शिक्षक

प्रकाश गुरागाईं

विद्यालय  बदल्दै स्वय‌ंसेवक शिक्षक
स्वर्णपुरस्थित ज्ञानबाटिका माविका विद्मार्थी । तस्वीर: किरण नेपाल

दुई वर्षअघिसम्म ठोरी–५ सुवर्णपुर, पर्साको ज्ञान वाटिका माविका विद्यार्थी मात्र होइन शिक्षक पनि पूरा समय विद्यालयमा बस्दैनथे, अहिले स्वयंसेवक शिक्षकका कारण विद्यालयको वातावरणमा सुधार देखिएको छ।

दुई वर्ष अघिसम्म पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ज्ञान वाटिका माविमा १ बजेपछि शिक्षक नै भेटिंदैनथे । विद्यार्थी पहिलो घण्टीबाटै भाग्न थाल्थे । शिक्षकको बेवास्ताका कारण कक्षा चलिरहेको वेला समेत भित्र पस्न वा निस्किन रोकटोक थिएन । अभिभावकहरूलाई पनि आफ्ना सन्तानले कस्तो पढ्दैछन् भन्ने कुनै चासो थिएन ।

२०४६ सालदेखि एसएलसीमा सहभागी हुन थालेका यहाँका विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण गर्नु आश्चर्य हुन्थ्यो । एसएलसीका १७ वर्षमा आक्कलझ्ुक्कल मात्र प्रथम श्रेणी आएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्था लागू भएपछि पनि २०७४ सालमा एक जना परीक्षार्थीले कुल औसत अंक (जीपीए) ३ भन्दा माथि ल्याए । २०७४ मा जस्तै २०७५ सालको एसईईमा अधिकांश विद्यार्थीको जीपीए २ भन्दा तल थियो ।

शिक्षकहरूकै कारण नतिजा राम्रो नआउने गरेको ठोरी–५ का वडाध्यक्ष रामबहादुर पाख्रिन बताउँछन् । “शिक्षक आफैं अनुशासनमा बस्दैनथे । तलब पकाउन मात्र ध्यान जाँदा पढाइ झ्नै खस्कँदै गयो”, उनी भन्छन् । विद्यालय सुधार्न तीन किमि टाढाको विजयबस्ती माविका प्रधानाध्यापक प्रितम लामालाई २०७० सालमा प्रधानाध्यापक बनाएको पाख्रिन बताउँछन् । तर, उनको एक वर्ष नपुग्दै निधन भयो । त्यसयता पुराना शिक्षक शिवनारायण साह प्रधानाध्यापक छन् ।

अहिले भने विद्यालयमा परिवर्तन आएको छ । शिक्षक र विद्यार्थी अन्तिम समयसम्म नै विद्यालयमा बस्छन् । विद्यार्थी पढ्न उत्साहित छन्, शिक्षकसँग अन्तरक्रिया गरिरहन्छन् । यो परिवर्तन तीन शिक्षकका कारणले आएको हो । दुर्गम भेगका सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि स्थापित ‘टिच फर नेपाल’ संस्थाबाट स्वयंसेवक शिक्षक भएर गएका प्रसुमा राई, विकास घिमिरे र मार्शल पोखरेलका कारण विद्यालयको वातावरण नै बदलिएको प्रधानाध्यापक साह बताउँछन् ।

पोखरेलले नर्वेबाट भौतिक शास्त्र र सुरक्षा तथा प्रविधि विषयमा स्नातकोत्तर गरेका छन् । घिमिरेले काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका छन् भने राईले अंग्रेजीमा स्नातक गरेकी छिन् । ‘टिच फर नेपाल’ ले सात जिल्लाका ६५ वटा विद्यालयमा यस्ता स्वयंसेवक शिक्षक खटाएको छ ।

हरेक समूहलाई दुई वर्षका लागि खटाउने योजना अनुसार सूर्य नेपालको सहयोगमा २०७५ सालमा ज्ञान वाटिका मावि पुगेका उनीहरू यही शैक्षिक सत्रको अन्त्यमा त्यहाँबाट फर्कनेछन् । ज्ञान वाटिका सहित पर्सा जिल्लाको पश्चिम भेगका पाँच वटा विद्यालयमा सूर्य नेपालकै सहयोगमा १५ जना स्वयंसेवी शिक्षक खटिएका छन् ।

ज्ञान वाटिकामा विद्यालय वरिपरिका नौ स्थानबाट विद्यार्थी आउँछन् । तीनै जना शिक्षक गाउँ पुगेको तीन महीनासम्म ती गाउँ डुलेर अभिभावक र विद्यार्थीसँग कुराकानी गरे । “शिक्षकले विद्यार्थी कक्षामा किन बस्दैनन् भनेर जान्न चाहँदैनथे । समुदाय र विद्यालयमा खाडल थियो”, स्वयंसेवक शिक्षिका राई भन्छिन् ।

उनीहरूले नीरस शिक्षण शैली, शिक्षकहरूको बेवास्ता, घरको कमजोर आर्थिक अवस्था, भाइबहिनी हेर्नुपर्ने लगायतका कारण विद्यार्थी विद्यालय नआउने गरेको पत्ता लगाए । त्यति मात्र होइन, छात्राहरू महीनावारी हुँदा पनि विद्यालय आउँदैनथे । यही कारण उनीहरूले विद्यालयमै ‘प्याड ब्याङ्क’ बनाए ।

शिक्षण विधि पनि परिवर्तन गरे । कक्षा १० की छात्रा अर्चना चौधरी भन्छिन्, “टिच फर नेपालका सर र मिस आउनुभएपछि मात्र हामीले विद्यालयमा चार्ट पेपर देखेका हौं । कविताहरू पनि सचित्र पढाउनुहुन्छ । अचेल पढ्न रमाइलो लाग्छ ।”

शिक्षकहरू पनि बदलियौं

शिवनारायण साह

प्रधानाध्यापक, ज्ञान वाटिका मावि

विद्यार्थी विद्यालय पोशाक लगाउँदैनथे । टिफिनअघि नै भाग्थे । शिक्षकहरू पनि पूरा समय विद्यालयमा बस्दैनथे । गृहकार्य जाँच हुँदैनथ्यो । अहिले सातदेखि १५ दिनमा हरेक विषयको परीक्षा लिन्छौं । विद्यार्थी नभागेपछि शिक्षक पनि चार बजेसम्म बस्न थालेका छन् । टिच फर नेपालका शिक्षकले नयाँ विधिबाट पढाउन थालेपछि विद्यालयमा सुधार आएको छ । सुधारका लागि विद्यार्थी मात्र बदलिएर हुँदैन, हामी शिक्षक पनि बदलिएका छौं ।

विद्यालयमा १६ जना शिक्षक छन् । माविमा अंग्रेजी शिक्षक सहित तीन वटा दरबन्दी रिक्त छन् । विद्यालयको अतिरिक्त आम्दानी नहुँदा निजी स्रोतबाट शिक्षक राख्न सकेका छैनौं । टिच फर नेपालले अंग्रेजी शिक्षक पठाइदिएपछि विद्यार्थीले प्रगति गरेका छन् । गणित र विज्ञानमा पनि सुधार आएको छ । तर, नेपालीमा विद्यार्थी कमजोर छन् । स्वयंसेवक शिक्षकलाई निरन्तरता दिन हामी टिच फर नेपाललाई आग्रह गरिरहेका छौं ।

विद्यालय नआउँदा आमा वा बुवाले नै आएर बिदा मागिदिनुपर्ने भएकाले अचेल सबै जना आउने कक्षा १० कै अर्की विद्यार्थी प्रीति बम्जन बताउँछिन् । “बिरामी भएर आउन नसके डाक्टरको सही भएको निवेदन वा बिरामी पुर्जी चाहिन्छ” उनी भन्छिन्, “अचेल पढ्न रमाइलो हुने हुँदा कोही पनि भाग्दैन ।” उनी टिच फर नेपालका शिक्षकले कोचिङ र अतिरिक्त कक्षा पनि निःशुल्क पढाउने गरेको बताउँछिन् ।

ज्ञान वाटिका माविमा जम्मा ४८७ विद्यार्थी छन् । टिच फर नेपालका तीन शिक्षकले कक्षा ६ देखि १० सम्म अंग्रेजी, गणित र विज्ञान पढाउँछन् । स्वयंसेवक शिक्षक घिमिरे विद्यार्थीमा व्यावहारिक परिवर्तन भए पनि शैक्षिक स्तर सुधार्न बाँकी रहेको बताउँछन् ।

भाषाको समस्या
तामाङ जातिको बाहुल्य रहेको सुवर्णपुरमा नेवार, मगर, राई, गुरुङ, क्षेत्री लगायतको पनि बसोबास छ । छिमेकी जिरा भवानीपुर गाउँपालिकामा भने थारूहरूको बाक्लो बस्ती छ । उक्त गाउँपालिकाको महादेवपट्टीबाट धेरै विद्यार्थी सुवर्णपुरको ज्ञान वाटिकामा आउँछन् । कक्षामा थारू र तामाङको बाहुल्य छ । उनीहरूको पहिलो भाषा नेपाली नभएकाले कक्षामा समस्या हुने राई बताउँछिन् । उनी भन्छिन्, “फरक भाषामा पढ्नुपर्दा विद्यार्थीलाई कक्षा दिक्कलाग्दो हुने जोखिम हुन्छ । उनीहरूले आफ्ना कुरा मन खोलेर भन्न पनि सक्दैनन् ।”

विद्यालयका प्रधानाध्यापक साह पनि नेपाली विषयमा नै विद्यार्थी धेरै कमजोर भएको बताउँछन् । नेपालीमा एमएड गरेका उनी भन्छन्, “म नै नेपाली पढाउँछु, अनुभवी पनि छु । तर, यहाँका बालबालिकाको मातृभाषा तामाङ र थारू भएकाले विद्यालयमा मात्र नेपाली बोल्ने हुँदा बुझउनै समस्या छ ।”

नेपाली विषयमा नै धेरै विद्यार्थी असफल हुने गरेको उनी बताउँछन् । भर्खरै सकिएको कक्षा १० को अर्धवार्षिक परीक्षामा ७३ जनामध्ये कसैको पनि ‘डी प्लस’ भन्दा माथिल्लो ग्रेड छैन ।

विद्यालयको तथ्यांक अनुसार एसईईमा भने विद्यार्थीले अंग्रेजीमा कम ‘ग्रेड’ ल्याउँछन् । त्यसलाई सुधार्न गएको शैक्षिक सत्रबाट शिशुदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाउने व्यवस्था गरेको वडाध्यक्ष पाख्रिन बताउँछन् । त्यसका लागि गाउँपालिकाले एक जना बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गरेको छ । विद्यालयले पनि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाउन थप तीन शिक्षक नियुक्त गरेको छ ।

त्यसबाहेक विद्यार्थी गणित र विज्ञानमा पनि कमजोर रहेको प्रधानाध्यापक साह बताउँछन् । जनसंख्या विषय पढाउने शिक्षक नै छैनन् । आधारभूत तहमा अंग्रेजी पढाउने शिक्षकले कक्षा ९ र १० मा जनसंख्या पढाइरहेका छन् ।

आमाबुवा खाडीमा
सुवर्णपुरका करीब ६० प्रतिशत घरका पुरुषहरू वैदेशिक रोजगारीमा गएको वडाध्यक्ष पाख्रिन बताउँछन् । स्वयंसेवक शिक्षक राई कतिपय आमाहरू पनि घरेलु कामदारका रूपमा कुवेत गएको बताउँछिन् । उनी भन्छिन्, “आमाको अभावमा बालबालिकाले राम्रो अभिभावकत्व पाउन सकेका छैनन्, त्यसले पढाइमा पनि असर पारेको छ ।”

गृहकार्य नगर्नेमा धेरैजसो आमाबावु नभएका विद्यार्थी नै हुने गरेका छन् । उनीहरूलाई कक्षामा नै राखेर गृहकार्य गर्न लगाउने गरेको उनी बताउँछिन् ।

प्रधानाध्यापक साहका अनुसार आमाहरू वैदेशिक रोजगारीमा गएका र दोस्रो बिहे गरेका कारण कतिपय विद्यार्थीको हजुरबुवा, हजुरआमा, ठूलोबुवा वा काकाले अभिभावकत्व लिएका छन् । त्यस्ता विद्यार्थीलाई विशेष ध्यान दिने गरेको उनी बताउँछन् ।

वैदेशिक रोजगारी बाहेक यहाँका स्थानीयको जीविकाको आधार कृषि हो । यहाँ धान खेती बढी हुने भए पनि पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सखाप पारिदिन्छ । त्यसको विकल्पमा सूर्य नेपालले सुर्ती खेतीतर्फ प्रेरित गरेको छ ।

 

प्रतिकृया दिनुहोस