ब्लग शनिबार, पुस १२, २०७६

८१ का हुन्थे हर्क गुरुङ

भैरव रिसाल

८१ का हुन्थे हर्क गुरुङ

ख्यातिप्राप्त भूगोल र योजनाविद् हर्क गुरुङको शुरूआती जागिरे जीवनले यस्तो संयोग जुराएको थियो, उनी र मैले एउटै कार्यकक्षमा ६ महीना पत्रकारिता कर्म गरेका थियौं।

भैरव रिसाल

विकास योजना र संरक्षणको क्षेत्रमा डा.हर्क गुरुङको विद्वत्तासँग अपरिचित को होला र ! यी भूगोल तथा योजनाविद्को सरसङ्गतबाट उनको तीक्ष्णताको गहिराइ नजिकैबाट नियाल्न पाएँ मैले । कहिले एउटै कार्यालयको सहकर्मी भएर काम गरें, कहिले संरक्षण कार्यमा सँगै हिंडें । लप्पनछप्पन नगर्ने उनी हक्की थिए ।

२०२१ सालताका डा.गुरुङ र मैले राष्ट्रिय समाचार समिति (रासस) मा करीब ६ महीना सँगै काम गर्‍यौं । बेलायतको विश्वविद्यालयमा विद्यावारिधिको शोधपत्र बुझाएर आएका उनी पत्रकारिताको जागिरे भएका थिए । म नेपाली डेस्कमा थिएँ, उनी खेलकुदको रिपोर्टिङ गर्नुका साथै अंग्रेजी डेस्क हेर्थे । तेजिला थिए, समाचारको अनुवाद छिटो गर्थे ।

उनले केहीपछि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरे । उनी योजना आयोगको सदस्य र पछि उपाध्यक्ष भए । नेपाल वातावरण पत्रकार समूह (नेवापस) का निम्ति उनी अभिभावक जस्तै थिए । हामीलाई अप्ठेरो पर्दा र नयाँ कामका लागि सल्लाह माग्दा व्यावहारिक राय दिन्थे ।

ताप्लेजुङ यात्रा

ताप्लेजुङको सदरमुकाम फुङलिङमा नेवापस ले जिल्ला विकास समितिको सहयोगमा छलफल कार्यक्रम राखेको थियो, २०५६ चैतमा । कञ्चनजंघा हिमाललाई ताप्लेजुङको विकास एवं संरक्षणमा के कसरी प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आयोजित कार्यक्रमका प्रमुख अतिथि थिए, डा.गुरुङ ।

त्यो वेला माओवादी विद्रोहको मिर्मिरे मात्र पुगेको थियो ताप्लेजुङमा । कार्यक्रम राखेकै दिन माओवादीले बन्द आह्वान गरेछ । कार्यक्रम भोलिपल्ट सारेर त्यो दिन स्थानीयसँग अनौपचारिक गफगाफ मात्र भयो । गफगाफमा डा.गुरुङले मुन्धुमको चर्चा गरेर उपस्थित लिम्बू समुदायलाई लठ्ठै पारेका थिए । त्यो प्रभावले पनि कञ्चनजंघा संरक्षण र विकास परियोजनामा स्थानीयको साथ पाउन धेरै काम गर्‍यो ।

पञ्चायतकालमा केही समय वन तथा भूसंरक्षण राज्यमन्त्री भएका विष्णु मादेनले डा.गुरुङको सम्मानमा रात्रिभोज आयोजना गरेका थिए । भोज खाएर हामी होटल फर्कंदै थियौं ।

मादेनले डा.गुरुङलाई आत्मीय आग्रह गर्दै भने, “दाजु, तँ जाँड नखा न है ।” डा.गुरुङले भने, “ए विष्णु भन्, तँलाई जाँड नखाने र नलेख्ने हर्क गुरुङ चाहिन्छ कि जाँड पनि खाने र लेख्ने हर्क गुरुङ ?” कुरो गहिरो थियो । प्रतिप्रश्नमा मादेनले कुनै उत्तर दिएनन् । ताप्लेजुङबाट विदा भएका हामी इलामको रक्सेमा बास बसेर विराटनगर हुँदै काठमाडौं फर्कियौं ।

योजना आयोगबाट महत्वपूर्ण काम

२०६० असारमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले डा.गुरुङ प्रमुख अतिथि निम्त्याएर जुम्लामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा म पनि सहभागी थिएँ ।

यस्तै, हुम्लाको सिमकोटमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एसएनभी ले २०६१ असोजमा गरेको विकास सम्बन्धी कार्यक्रममा पनि हामी सँगै थियौं । त्यहाँ जाँदा उनले कुनै समय हिमाली क्षेत्रमा पैदल घुम्दा आफ्नो सामान बोक्ने दलित (जसलाई उनी भ्याले भन्थे) का लागि काठमाडौंबाट दुई किलो चिनी घरमै लगिदिएका थिए ।

अनामनगरमा चिनी किन्न जाँदा उनले ‘सुन किन्ने’ बताएका थिए । “काठमाडौंमा यो चिनी हो, तर सिमकोटमा सुन हुन्छ”, उनले भनेका थिए ।

डा.गुरुङ राष्ट्रिय योजना आयोगका सदस्य भएपछि आयोगका समाचार धेरै आउन थाले । त्यसअघि आयोगमा निकै गोप्यता राखिन्थ्यो । जिल्लाहरूमा विकास नभएको महसूस गरी उनकै अवधारणामा नेपाललाई चार विकास क्षेत्रमा विभाजन गरिएको थियो । पछि पश्चिम नेपालको विकास अझै हुन नसकेको महसूस गरी मध्यपश्चिम र सुदूरपश्चिम दुई विकास क्षेत्र बनाई कार्यान्वयन गरियो ।

डा. गुरुङ योजना आयोगको उपाध्यक्ष भएपछि नै हो, आयोगको बैठक विकास क्षेत्रमै गर्ने परिपाटी कार्यान्वयन गरिएको । त्यस्तो पहिलो बैठक २०२९ जेठमा धनकुटामा भएको थियो । आयोगको बैठक धनकुटामा नगरेको भए धरान–धनकुटा मोटरबाटो अरू पाँच वर्षपछि मात्र बन्थ्यो भन्ने लाग्छ । त्यस्तै, धनगढी–डडेल्धुरा–डोटीको मोटरबाटो बन्ने योजना दश वर्ष पछाडि धकेलिन्थ्यो होला ।

डा.गुरुङ मन्त्री पनि भए । १७ भदौ २०३३ मा डा.तुलसी गिरीको नेतृत्वमा बनेको सरकारमा उनी उद्योग, वाणिज्य र शिक्षा राज्य मन्त्री, २०३४ सालमा पर्यटन राज्यमन्त्री भएका थिए । राजा वीरेन्द्रको पालामा राजाको एक महीनाको क्षेत्रीय भ्रमणको जग पनि उनैले बसालेका थिए ।

हिमालसँग खेल्ने डा.गुरुङ अन्ततः ७ असोज २०६३ मा हिमालकै काखमा विलाए । १९९५ सालको यसै महीना पुस २१ गते लमजुङमा जन्मिएका गुरुङ बाँचिरहेको भए अहिले ८१ वर्षमा हिंडिरहेका हुन्थे ! ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा गुरुङ सहित मुलुकले संरक्षणको क्षेत्रमा काम गर्ने हस्तीहरू सहित २४ जना गुमाउनुपर्‍यो । 

प्रतिकृया दिनुहोस