‘स्वदेशी उद्योग बचाउने दायित्व सरकारको’
साढे दुई दशकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करीब दुई दर्जन पुगेको छ। उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ। तर, चालु आर्थिक वर्षको आर्थिक ऐन स्वदेशी वाइन उद्योगका लागि ‘अभिशाप’ झैं बनेको छ।
यसअघि स्वदेशी फलफूलबाट उत्पादित वाइनलाई प्रतिलिटर रु. १३५ र आयातीत विदेशी वाइनलाई रु. ३७० अन्तशुल्क तोकिएको थियो। तर, नयाँ आर्थिक ऐनले विदेशबाट आयातित फलफूलको कच्चा पदार्थ प्रयोग गर्ने स्वदेशी उद्योगलाई ‘अन्य’ शीर्षकमा राखेर प्रतिलिटर रु. ३७० नै तिर्नुपर्ने व्यवस्था गर्यो। उद्योगीको निरन्तरको गुनासोपछि गएको कात्तिाक अन्तिम साता सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो अन्तशुल्क दरमा ३० प्रतिशत छूट दिने व्यवस्था गर्यो। तर, स्वदेशी वाइन उद्योगीहरूले सरकारले छूट दिएको अन्तशुल्क दरमा पनि वाइन उत्पादन र बिक्री गर्न नसकिने भन्दै उद्योग नै धरासायी हुने बताउँदै आएका छन्। स्वदेशी वाइनको बजार र उद्योगहरूले भोग्नुपरेका कठिनाइबारे उद्योगीहरूसँग हिमाल ले गरेको राउण्ड टेबलमा व्यक्त विचारको सारः
स्वदेशी वाइन उद्योगको बजार कस्तो छ ?
आश्रय रञ्जितकार
एक दशक यता स्वदेशी वाइनको उत्पादन र बजार विस्तार उत्साहजनक छ । दुई दशकअघि वर्षको १५०० कार्टुन वाइन बिक्री हुन पनि गाह्रो पथ्र्यो, गएको आर्थिक वर्षमा चार लाख कार्टुन बिक्री भयो । वाइनको बजार विस्तार देखेर लगानी थपिंदै उद्योगको संख्या करीब दुई दर्जन पुगिसकेको छ । तर, चालु आर्थिक वर्षको बजेटको अप्ठ्यारो नीतिका कारण यो वर्ष स्वदेशी वाइन बजार ह्वात्तै खस्किएको छ ।
बजार विस्तार रोक्ने नीतिगत तगारो के हो ?
सन्तोष खड्का
सरकारले विदेशबाट आयातीत वाइन र स्वदेशमा उत्पादित वाइनलाई दुई थरी अन्तशुल्क दर लगाउँदै आएको थियो । तर, फलफूलबाट उत्पादित स्वदेशी वाइनलाई पनि विदेशी वाइनसरह नै महँगो दरको अन्तशुल्क लिन थालिएको छ । यसले गर्दा स्वदेशी वाइन उद्योगहरूले विदेशीसँग प्रतिस्पर्धात्मक क्षमता गुमाएका छन् । यही स्थिति रहे स्वदेशी उद्योग बाँच्दैनन् । धेरै राजस्व उठाउने नाममा सरकारले उठिरहेकै राजस्व पनि गुमाउँदैछ ।
हरि बाँस्तोला
विदेशी फलफूलको रसबाट उत्पादित नेपाली वाइनलाई विदेशी वाइनसरह अन्तशुल्क लगाइनु उचित छैन । नेपालमा कुन चाहिं उद्योग छ, जसको शतप्रतिशत कच्चा पदार्थ स्वदेशमै उत्पादन हुन्छ ? त्यसमाथि, वाइन बनाउन आवश्यक अंगुर सहितका फलफूल नेपालमा आयात नै गरिन्छन् । कच्चा पदार्थ र तयारी वाइनमा उस्तै खाले अन्तशुल्क कसरी जायज हुन्छ ?
अहिले स्वदेशी उद्योगहरू धरासायी नै छन्, गत वर्ष चार लाख कार्टुन स्वदेशी वाइन बिक्री भएकोमा बजेट आए यताका ६ महीनामा २५ हजार कार्टुन पनि बिक्री भएको छैन । यसले स्वदेशी लगानी मात्र होइन, रोजगारी पनि जोखिममा परेको छ । उद्योगीको निरन्तर विरोधपछि सरकारले राजपत्रमा सूचना निकालेर अन्तशुल्कमा ३० प्रतिशत छूट दिंदै प्रतिलिटर रु.२५९ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ, तर यसले राहत पुग्दैन ।
सरकारको नीतिलाई वाइन उत्पादनमा स्वदेशी फलफूलको प्रयोगलाई प्रोत्साहन दिन विदेशी फलफूलमा अन्तशुल्क बढी लगाएको अर्थमा बुझ्न सकिंदैन र ?
आश्रय रञ्जितकार
हामी स्वदेशी उत्पादनलाई सधैं प्रोत्साहन गर्छौं र वाइन उद्योगमा सकेसम्म स्वदेशी फलफूल नै प्रयोग गर्न खोज्छौं । तर, कति उपलब्ध छ त भन्ने प्रश्न हो । वाइनका लागि आवश्यक अंगुर मात्र होइन, अन्य फलफूल पनि आवश्यक भएजति उपलब्ध छैन । नपुगेपछि के गर्ने ? हामीले उत्पादन स्वदेशमै गर्छौँ, रोजगारी यहीं दिएका छौं, सरकारलाई कर बुझाउँछौं, तैपनि यहाँ उपलब्ध नै नहुने कच्चा पदार्थ पनि बाहिरबाट ल्याएको भनी महँगो अन्तशुल्क त लगाइदिनु भएन नि ! आयात गरेको कच्चा पदार्थ (फलफूल) को पनि कर त तिरिएकै हुन्छ ।
सुरेन्द्रभक्त श्रेष्ठ
स्वदेशमा कच्चा पदार्थ नभएपछि विदेशबाट ल्याएर उत्पादन गर्दा विदेशी उत्पादनसरह कर लगाउन कदापि नमिल्ने कुरा हो । ब्याङ्कको चर्को ब्याजदर, नगदमा कच्चा पदार्थ खरीद गरेर उधारोमा सामान पठाउनुपर्ने, उत्पादन गर्न लामो समय लाग्ने जस्ता परिस्थितिबीच हामी उद्योगीहरूले काम गरिरहेका छौं । तर, यतातिर सरकारले विचारै गरेको छैन । अहिलेकै नीति र तरिकाले उद्योगमा ताला लगाएर विदेशबाट वाइन ल्याउँदै बिक्री गर्नुपर्ने अवस्थामा हामीलाई पुर्याएको छ ।
सन्तोष खड्का
एक दशकअघिसम्म ८० प्रतिशत वाइन आयात हुन्थ्यो, अहिले स्वदेशी वाइनले नै ८० प्रतिशत बजार हिस्सा ओगटेको छ । साथै, हामीले विदेशी बजारमा पनि वाइन निर्यात गर्न थालेका छौं । सरकारको साथ भए हामी वाइनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्छौं । स्वदेशी वाइन उद्योगले सबै कर गरेर सरकारलाई वार्षिक रु.१ अर्बदेखि रु.२ अर्ब कर बुझउँछ । करीब १५ हजारलाई प्रत्यक्ष र ५० हजारलाई अप्रत्यक्ष रोजगारी दिएका छौं । स्वदेशी उद्योग धरासायी भए रु.२ अर्बभन्दा बढीको बजार विदेशी उत्पादनले विस्थापित गर्छ । प्रतिबोतल रु.४\५ सयमा आउने स्वदेशी वाइन सरकारको नीतिका कारण महँगिएर रु.८\९ सय पर्छ । विदेशी वाइनसँग प्रतिस्पर्धा गर्न कठिन हुन्छ ।
उद्योगीका कुरा सरकारले सुन्नै नचाहेको हो ?
आश्रय रञ्जितकार
सरकारी अधिकारीहरू सुने जस्तो मात्र गर्छन्, गुनासो कार्यान्वयन नै हुँदैन । कानूनी र प्रशासनिक व्यवधानलाई तगारो देखाइन्छ । ठूला उद्योगीको कुरा सुनिएला, तर हामी साना उद्योगीका पीरमर्का सुन्ने फुर्सद कसैलाई छैन ।
सन्तोष खड्का
हाम्रा गुनासा बारम्बार सरकारी अधिकारीहरू समक्ष राख्दै आएका छौं । राजस्व परामर्श समितिमा पनि सुझव दिएका छौं । तर, हाम्रो समस्या कसले सुन्ने, कसले बुझ्ने?
गणेश चापागाई
उद्योगीका समस्यालाई राजनीतिज्ञ र कर्मचारी दुवैले वास्ता गर्दैनन् । यही पीरमर्का अर्थ सचिवलाई सुनाउन ६ घण्टा कुर्दा दुई मिनेट पनि समय पाएनौं । उद्योग भनेको त राज्यको सम्पत्ति हो, सरकारले संरक्षण गर्नुपर्ने हो । तर, वाइन बजारमा ८० प्रतिशत हिस्सा ओगटेको स्वदेशी वाइनलाई महँगो अन्तशुल्क लगाएर निरुत्साहित गर्न खोजियो ।
कर कार्यालयका अधिकारीहरू प्रतिलिटर रु.२५९ अन्तशुल्क तिर्नु भन्छन्, तर हामी यति रकम तिरेर टिक्न सक्दैनौं । सरकारी अधिकारीहरूले अहिले हामीलाई कति स्वदेशी फलफूल हो कति विदेशी स्वयंघोषणा गर्न भनिरहेका छन्, तर यसको सूत्र नै दिइएको छैन ।
वाइन उद्योगले भोगिरहेका कर बाहेक अरू समस्या के छन् ?
हरि बाँस्तोला
सरकारको कुनै पनि नीति र कानून स्थिर छैन । लगानीकर्ताले एउटा नीति र कानून हेरेर त्यसको लाभ–हानि विचार गरी उद्योग स्थापना गर्छ, तर सरकारले त्यसलाई बीचैमा फेरिदिएर उद्योगीलाई निरुत्साहित पार्छ । जबसम्म नीति स्थिर हुँदैन, तबसम्म लगानीको वातावरण बन्दैन ।
आश्रय रञ्जितकार
सरकारी नीतिको सुनिश्चितता भएपछि नै व्यवसाय र रोजगारीको वातावरण बन्ने हो । दुई वर्षअघि वाइन उद्योगलाई अन्तशुल्कको दर एकैचोटि दोब्बर पारियो, जबकि विदेशी वाइन तथा अन्य मदिरामा यो अनुपातमा बढाइएको थिएन । अर्कातिर, विभिन्न नाममा चन्दा माग्ने क्रम अझै रोकिएको छैन ।
गोकर्ण कार्की
विषय बुझेका मान्छेले नीति नबनाउँदा अप्ठ्यारो परेको हो । वाइन उद्योगबारे नीति बनाउँदा यससँग सम्बन्धित तथा जानकारहरूसँग परामर्श गरिनुपर्थ्याे, जुन गरिएन । लेखेर दिएका कुरा पनि कार्यान्वयन हुँदैन ।
सुरेन्द्रभक्त श्रेष्ठ
ब्याजदरमा सहुलियत छैन । उद्योग खोल्दाको ब्याजदर उत्पादन गर्दा दोब्बर पुगिसकेको हुन्छ । यसले उद्योगी मर्कामा परेका छन् ।
उद्योगमा स्वदेशी फलफूल नै प्रयोग गर्ने गरी किसानसँग मिलेर उत्पादन गर्न सकिंदैन ?
सन्तोष खड्का
कतिपय वाइन उद्योग आफैंले अंगुर उत्पादन शुरू गरेका छन् । चुत्रो, ऐंसेलु, लिची, अम्बा, किवी, केरा, नासपाती, स्याउ, आरूबखडा आदिबाट वाइन उत्पादन शुरू गरेका छौं । तर, मुख्य कुरा उपलब्धता र ढुवानीको हो । कश्मीरबाट भन्दा मुस्ताङबाट स्याउ ल्याउन महँगो पर्छ । हामी किसानसँग मिलेर उत्पादन गर्न पहल गरिरहेका छौं । तर, स्वदेशी फलफूल प्रयोग गर्दा सरकारले सहुलियत घोषणा गर्नुपर्यो नि !
आश्रय रञ्जितकार
नेपालमा उपलब्ध हरेक फलफूलबाट हामी वाइन उत्पादन गर्न प्रयास गरिरहेका छौं । तर, मुस्ताङको स्याउ प्रतिकिलो रु.१२० पर्छ, जबकि बाहिरबाट रु.४०\५० मै आउँछ । हामी किवीको वाइन बनाइरहेका छौं, तर प्रतिकिलो रु.२०० मा किवी किनेर वाइन कतिमा बेच्ने ? एक किलो किवीले आधा लिटर वाइन पनि बन्दैन ।
हरि बाँस्तोला
उपभोक्ताहरू वाइन भनेको अंगुरबाट नै बन्छ भन्नेमा सचेत हुँदै गएपछि हामीले आरूबखडा, नासपातीबाट वाइन बनाएर विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । अंगुर खेतीमा लागेका छौं, तर त्यो फलुन्जेल वाइन उद्योग नै रहला कि नरहला भन्ने चिन्ता छ ।
गणेश चापागाई
हाम्रो उद्योगले मात्रै वार्षिक १० लाख किलो फलफूलबाट वाइन बनाउँछ । भुइँकटहर एक लाख किलो, स्याउ दुई लाख किलो, भुइँस्याउ एक लाख किलो र बाँकी अंगुरको प्रयोग गर्छौं । तर यहाँ अंगुर उत्पादन नहुने भएकाले ठूलो समस्या छ । अंगुर खेती प्रवर्द्धन गर्न सरकारले सहयोग गर्नुपर्छ ।
अंगुर बाहेक अन्य फलफूलको वाइन कत्तिाका राम्रा हुन्छन् ?
गणेश चापागाई
फलफूलबाट बन्दैमा वाइन नराम्रो भन्ने हुँदैन । अंगुरबाट बनेको वाइन लोकप्रिय भए पनि अरू फलफूलबाट पनि राम्रो वाइन बन्न सक्छ । म काभ्रेमा उत्पादित भुइँस्याउबाट वाइन बनाइरहेको छु र जापान निर्यात गर्दैछु ।
आश्रय रञ्जितकार
फ्रेन्चहरूले वाइन अंगुरबाट बन्छ भन्ने सिकाए र यो लोकप्रिय भयो । तर, स्याउबाट बनाएको वाइन एप्पल साइडर, नासपातीबाट बनाएको पेरी जस्ता वाइन पनि लोकप्रिय छन् ।
करीब एक दशकमै नेपाली वाइनले आयातित वाइनको बजार खोसेर विस्तार हुन सक्नुको मूल कारण के हो ?
सन्तोष खड्का
मध्यमवर्ग र निम्न मध्यवर्गले खरीद गर्न सक्ने मूल्यमा गुणस्तरीय वाइन उत्पादन गरेकाले नेपाली वाइनको बजार विस्तार भएको हो । विकसित देशहरूमा जुन प्रक्रियाबाट वाइन उत्पादन गरिन्छ, हाम्रोमा पनि त्यही प्रक्रियाबाट गुणस्तरीय उत्पादन गरिन्छ । परीक्षणबाट पास भएका पेय पदार्थ मात्र भित्र्याउने नर्वेमा समेत हामीले वाइन निर्यात गरिरहेका छौं ।
आश्रय रञ्जितकार
वाइन भन्ने बित्तिकै महँगो हुन्छ भन्ने सोचाइ परिवर्तन गरेर सस्तोमा गुणस्तरीय उत्पादन भएकाले स्वदेशी वाइन रुचाइएको हो । विदेशी वाइन ‘ड्राइ’ हुन्छ, नेपाली जिब्रोले ड्राइ वाइनको तुलनामा ‘स्वीट’ वाइन बढी रुचाउने भएकाले स्वदेशी उत्पादन लोकप्रिय भएको हो ।
गोकर्ण कार्की
महिला, पुरुष तथा जुनसुकै उमेरका मानिसले पनि रुचाउने एवं सस्तो मूल्य भएका कारण नेपाली वाइन सबैको रुचिमा परेको हो ।
गणेश चापागाई
राम्रो गुणस्तर दिन सकेकै कारण स्वदेशी वाइनको बजार वार्षिक ३०\३५ प्रतिशतले बढ्दै विदेशी वाइन विस्थापित गर्न सकिएको हो । स्वीट वाइन सबै उमेरसमूहले रुचाएका कारण हामीले यसैको उत्पादनमा जोड दियौं । अहिले ९५ प्रतिशत स्वीट वाइन उत्पादन भइरहेको छ ।
स्वदेशी वाइनको गुणस्तरको विषयमा वेलाबखत प्रश्न उठ्ने गरेको बारे के भन्नुहुन्छ ?
सन्तोष खड्का
सस्तो र नेपाली उत्पादन भन्ने बित्तिकै नराम्रो हुँदैन । वाइन चिनेका उपभोक्ताले गुणस्तरीय नभई खाँदै खाँदैनन् । कतिपय स्वदेशी उद्योगले आईएसओ प्रमाणपत्र पनि पाएका छन् ।
गणेश चापागाई
वाइनको गुणस्तर फलफूल, उत्पादन प्रक्रिया, समय आदिमा आधारित हुन्छ । ती आधारमा नेपाली वाइन नराम्रो छैन । हामीले पनि विदेशका राम्रा कम्पनीको उत्पादन प्रक्रिया अपनाएका छौं । तर, अझै सुधार गर्न सकिन्छ र गर्दैछौं पनि ।
आश्रय रञ्जितकार
विदेशी वाइनका विज्ञ र परामर्शदाता पनि ल्याएर हामी वाइन उत्पादन प्रक्रिया देखाउँछौं । उहाँहरू हाम्रो उत्पादनसँग सन्तुष्ट हुनुहुन्छ । नेपालमा आयात हुने वाइन पनि अब्बल खालका होइनन्, टेबुल वाइन हुन् । तिनका तुलनामा हाम्रा उत्पादन कमसल छैनन् ।
सुरेन्द्रभक्त श्रेष्ठ
स्वदेशी वाइनको गुणस्तर राम्रो भए पनि नेपाली उत्पादन भन्ने बित्तिकै नाक खुम्च्याउने प्रवृत्ति छ ।
गोकर्ण कार्की
उपभोक्ताहरूले नै चाखेर नेपाली वाइनको गुणस्तर पत्ता लगाएकाले नै यसको बजार बढेको हो । सुपरमार्केट तथा बजारभरि नेपाली वाइनको उपस्थिति हुनुको प्रमुख कारण नै गुणस्तर हो ।
प्रस्तुतिः रमेश कुमार