समाचार विहीबार, पुस १०, २०७६

रिहानलाई आईसीयूमा राख्ने निर्णय मेरै हो: डा. चक्रराज पाण्डे

रामु सापकोटा

रिहानलाई आईसीयूमा राख्ने निर्णय मेरै हो: डा. चक्रराज पाण्डे
ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे

ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले रिहान न्यौपानेलाई उपचारार्थ सघन उपाचार कक्ष (आईसीयू) मा राख्ने आफ्नै निर्णय भएको दाबी गरेका छन् ।

रिहान उपचारमा अस्पतालले गम्भीर त्रुटि गरेको नेपाल मेडिकल काउन्सिलको ठहरप्रति प्रतिक्रिया जनाउँदै डा. पाण्डेले उपचारका क्रममा हुने मानवीय त्रुटिलाई ठूलो विषय बनाउनु गलत भएको बताए ।

हिमालखबरसँगको कुराकानीमा डा. पाण्डेले भने–

नेपाल मेडिकल काउन्सिलले रिहानको उपचारका क्रममा बढी डोजको पारासिटामोल दिने डाक्टरलाई कारवाही गर्ने निर्णय गरिसकेको छ । यस विषयमा मलाई थप केही भन्नु छैन । डा. दीपिका ढकालले नियतबस बढी डोजको औषधि चलाउनु भएको पनि होइन । उपचारका क्रममा कहिलेकाहीँ त्रुटिहरू हुन्छन् । तर, यसैलाई ठूलो विषय बनाउनु गलत हो । विश्वभर नै उपचार गर्ने क्रममा शतप्रतिशत राम्रो नतिजा आउँछ भन्ने हुँदैन । काम गर्दागर्दै कहिलेकाहीँ समस्याहरू आउन सक्छन् ।

रिहानको उपचारलाई लिएर काउन्सिलले हामीलाई अबदेखि सचेत हुन आग्रह गर्दै पत्र गठाएको छ । तर, काउन्सिलको पत्रमा उपचार गर्दा ‘त्रुटि’ नै भएको भन्ने विषय उल्लेख छैन ।

काउन्सिलको प्रतिवेदनमा अस्पतालले चिकित्सकको राय विपरीत शिशुलाई आईसीयूमा राख्न लिखित निर्देशन दिएको भन्नु गलत हो । बच्चालाई बढी डोजको पारासिटामोल चलाएका कारण स्वास्थ्य समस्या ननिम्तियोस् भनेर थप होसियारी अपनाउन म आफैले आईसीयूमा राख्ने निर्णय गरेको हुँ ।

अस्पताल निर्देशक भएको नाताले मैले बच्चाको स्वास्थ्यको बारेमा जिम्मेवारी लिनुपर्ने हुन्छ । चिकित्सकको सल्लाहले मात्र अस्पताल चल्दैन । त्यसैले निर्देशक भएको नाताले मेरै निर्णयमा रिहानलाई आईसीयूमा राखिएको हो । यदि यसो गर्नु गल्ती हो भने भविष्यमा बिरामीको उपचार गर्ने क्रममा थप दुर्घटना निम्तिन सक्छन् ।

आईसीयूमा राखेबापत हामीले रिहानका बाबुआमाबाट कुनै रकम पनि लिएका छैनौं । आईसीयूमा राखेर रकम लिएको भए गल्ती भन्न मिल्थ्यो । यही विषयलाई लिएर बिरामीका आफन्त अदालत जानुभयो भने हामी पनि अदालत जान्छौं । भोलि अदालतले आईसीयूमा राखेर उपचार गरेको विषयलाई गलत ठहर्‍यायो भने गल्ती स्वीकार्छौं।

ग्रान्डी अस्पतालको गम्भीर त्रुटि, फितलो सजाय

प्रतिकृया दिनुहोस