हरिदेवी बस्नेतका छोरा हर्षवर्द्धन भारतका नयाँ विदेश सचिव
नेपाली मूलकी भारतीय हरिदेवी बस्नेतका छोरा हर्षवर्द्धन शृङ्ला भारतको ३३ औं विदेश सचिव बन्ने भएका छन् ।
५७ वर्षीय हर्षवर्द्धनकी आमा हरिदेवी र बुबा छिरिङ तेन्दुफ्ला दुवै दार्जीलिङका हुन् । अहिले पनि उनीहरूको परिवारको दार्जीलिङको मालरोडमा आइभनहो हाउस होटल रहेको छ । हर्षवर्द्धन आगामी जनवरी २० देखि विदेश सचिवमा नियुक्त हुँदैछन् ।
समाचार संस्थाहरूका अनुसार, हर्षवर्द्धनका दिवंगत बुबा छिरिङ भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रकमा सेवानिवृत्त भएका थिए । छिरिङ दक्षिण भारतमा जागिरका सिलसिलामा खटिएका बेला हर्षवर्द्धनको जन्म भएको बताइएको छ ।
हर्षवर्द्धन हाल अमेरिकास्थित भारतीय राजदूत छन् । अमेरिकामा उनी आमा, श्रीमती (हेमल) र छोरासँगै बसिरहेका छन् ।
भारतीय ‘द टेलिग्राफ’को अनलाइन संस्करणमा दार्जीलिङ डेटलाइनबाट प्रकाशित समाचार अनुसार, हर्षवर्द्धन भारतकै प्रथम महिला विदेश सचिव चोकिला ऐय्यरका भतिजा हुन् । दार्जीलिङमै जन्मिएकी ऐय्यर सन् २००१ मा विदेश सचिव नियुक्त भएकी थिइन् ।
“चोकिला मेरी सानिमा अनि हर्षवर्द्धन काकाका छोरा हुन्”, दार्जीलिङकी देछेन वाङ्दीले ‘द टेलिग्राफ’सँग भनेकी छन् ।
हर्षवर्द्धनले अजमेर र नयाँ दिल्लीमा अध्ययन गरेका हुन् । सन् १९८४ मा उनी परराष्ट्र सेवामा प्रवेश गरेका उनी यसअघि थाइल्याण्डमा भारतीय राजदूत र बाङ्लादेशका लागि भारतीय उच्चायुक्त थिए ।
उनी नेपाल र भूटान हेर्ने भारतीय परराष्ट्र मन्त्रालयको नर्थ डिभिजनका प्रमुख रहिसकेका छन् । मन्त्रालयमा सार्क डिभिजन जिम्मेवारी पनि सम्हालिसकेका छन्।
बाङ्लादेशका लागि भारतीय उच्चायुक्त भइसकेका हर्षवर्द्धनको अंग्रेजी र हिन्दीका अतिरिक्त नेपाली, फ्रेञ्च र भियतनामी भाषामा दख्खल छ ।