शेयरमा विवेकपूर्ण लगानीको खाँचो
–गाेकर्ण अवस्थी
पर्याप्त अध्ययन र जोखिमको विश्लेषण नगरी हचुवामा लगानी गर्दा डुब्न सक्नेतर्फ लगानीकर्ता आफैं सचेत हुनुपर्छ।
मेरा एक मित्रले अचानक जागिर छोड्नुपर्ने भयो । आम्दानीको अर्को स्रोत नभएकाले घरभाडा तिर्न र बालबच्चा पढाउन पनि समस्या हुने देखियो । त्यसमा पनि घडेरी किनेको ऋणको किस्ता तिर्नुपर्ने बाध्यता थियो । शेयर बजार नियाले, आफूले चार वर्षअघि रु.४५ लाख लगानी गरेको शेयरको मूल्य रु.१८\२० लाखमा झरिसकेको थियो ।
उनले बचत, सरसापट र अन्य स्रोत जुटाएर शेयरमा लगानी गरेका थिए । उनले लगानी गर्दा चर्चाको केन्द्रमा जलविद्युत्को शेयर थियो । ऊर्जामन्त्री र अन्य सरकारी अधिकारीहरू ‘नेपालको पानी जनताको लगानी’ भन्दै लगानीका लागि सर्वसाधारणलाई उक्साइरहेका थिए । मन्त्री र विज्ञले भने, पत्रकारले लेखे । लगानीको प्रतिफल, कम्पनी संचालक र अन्य जोखिमबारे लेखाजोखा नगरी तिनै भनाइ र लेखाइका भरमा उनी जस्ता लाखौं मानिसले शेयर किने ।
१२ साउन २०७३ मा १८८१ अंकको उँचाइमा पुगेको शेयर बजार त्यसयता लगातार ओरालो लाग्दै गएको ३ पुसमा बजार बन्द हुँदा ११५० हाराहारीमा झरेको छ । यस क्रममा शेयर बजारमा उँचाइका वेला र त्यसको आसपासमा लगानी गरेका धेरैले गुमाएका छन् । तर, सबैभन्दा बढी गुमाउनेमा जलविद्युत् क्षेत्रका लगानीकर्ता छन् । जलविद्युत् क्षेत्रका जानकार ज्ञानेन्द्रलाल प्रधानका अनुसार, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ वटा जलविद्युत् कम्पनीमध्ये १८ कम्पनीको शेयर मूल्य रु.१०० भन्दा कम छ ।
ब्याङ्किङ क्षेत्रमा पहिला प्रवर्द्धकले रकम हाल्छन्, त्यसपछि मात्र सर्वसाधारणलाई लगानी आह्वान गरिन्छ । तर, जलविद्युत्मा शुरूमै सर्वसाधारणबाट लगानी जुटाउन दिने सरकारी निर्णय निकै घातक थियो । धेरैजसो जलविद्युत् कम्पनीहरूले सर्वसाधारणको रकम उठाए, बढी लागत देखाएर ब्याङ्कबाट ऋण लिए, प्रवर्द्धकले रकम उडाए । भएको यही हो । यी कम्पनीमा भएको लगानीबारे नेपाल धितोपत्र बोर्ड वा स्टक एक्सचेन्जले न सही सूचना दिन सके, न त नियमन गर्न नै ।
जलविद्युत्कै जस्तो समस्या लघुवित्तमा पनि निम्तिने संभावना देखिएको छ । नेपाल राष्ट्र ब्याङ्कले हचुवामा लघुवित्त खोल्न अनुमति दिएको छ । गरीबलाई बचत र उद्यम गर्न सघाउने भनी खुलेका धेरैजसो लघुवित्तको शेयर मूल्य वाणिज्य ब्याङ्कहरूको भन्दा बढी छ । जुन स्वाभाविक होइन । लघुवित्तले उच्च ब्याज लिंदा गरीबको ढाड सेकिइरहेको छ, शेयर मूल्यमा गिरावट आयो भने साना लगानीकर्ता पनि हेरेको हेर्यै हुने अवस्था छ । यसतर्फ राष्ट्र ब्याङ्कले निगरानी बढाउनुपर्छ ।
बीमा कम्पनीको पनि ठूलो आकर्षण देखाउँदै शेयर आउँदैछ । यो शेयर गजब हुन्छ भन्ने हल्ला चलाइँदैछ । बीमा गर्नेको जनसंख्या अहिलेसम्म आठ प्रतिशत मात्र रहेका कारण बजार विस्तारको संभावना पक्कै पनि बलियो छ । तर, के बीमा कम्पनीहरूलाई सबैतिर सेवा विस्तार गर्न सम्भव छ ? नियामक बीमा समिति चनाखो नहुने हो भने धेरै लगानीकर्ता यसमा पनि डुब्नेछन् ।
साना लगानीकर्ता मात्रै होइन, ठूला लगानीकर्ता पनि बजार अध्ययन नगरी हचुवामा लगानी गर्छन् भन्ने उदाहरण सिमेन्ट र छड उद्योग हो । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण र पूर्वाधार निर्माणले गति लिने अपेक्षा सहित सिमेन्ट र छडमा ठूलो लगानी भयो । उद्यमीहरूका अनुसार, एउटा छड उद्योग खोल्न कम्तीमा रु.२ अर्ब र सिमेन्ट उद्योग खोल्न रु.४ अर्ब लगानी चाहिन्छ । स्थायी सरकार बनेपछि पूर्वाधार निर्माण बढ्ला भन्ने अपेक्षा गलत होइन, तर भूकम्पपछिको पुनर्निर्माणले नै माग बढ्छ भन्ने उद्योगीको सोचाइ गलत थियो ।
फलामे छडको माग घटेका कारण उत्पादन क्षमताको तुलनामा आधा मात्रै उत्पादन भइरहेको उद्योगीहरू बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाका अनुसार, उद्योगहरूमा वार्षिक १८ लाख टन छड उत्पादन गर्न सक्ने क्षमता छ भने अहिलेको माग वार्षिक ११ लाख टन छ । बजारको भविष्य र जोखिम नै नहेरी हचुवामा लगानी भएकाले यस्तो अवस्था आएको उनी बताउँछन् ।
मुरारकाका अनुसार, सिमेन्टमा पनि उत्पादनको तुलनामा माग निकै थोरै छ । सिमेन्ट उद्योगसम्म पुग्ने बाटो र ट्रान्समिसन लाइन बनाइदिने निर्णयले हौसिएका उद्यमीले लगानी गर्नुअघि अध्ययन नगर्दा समस्या देखिएको हो । यी उद्योगको अवस्थाले तत्कालका लागि बजार उत्साहजनक रहेको र सहुलियत पाइयो भन्दैमा लगानी गर्न उचित नहुने देखाएको छ । २०५० को दशकमा अरुण तेस्रो जलविद्युत् आयोजना बन्ने अपेक्षा सहित पूर्वी नेपालमा फलामे छड उद्योग यसैगरी खुलेर बजार अभावमा बन्द भएका थिए ।
वित्तीय साक्षरता न्यून भएको मुलुकमा नियामक निकायले कम्पनीबारे जानकारी दिने सजिलो र सरल व्यवस्था गर्नुपर्छ । सबैभन्दा ठूलो जिम्मेवारी त लगानीकर्ताकै हुन्छ । लगानी डुब्न पनि सक्ने भएकाले पर्याप्त अध्ययन र विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्छ । नोक्सान हुँदा सरकारले हरेक क्षेत्रमा राहत दिंदै जान सम्भव हुँदैन । खुला बजार अर्थतन्त्रमा विवेकपूर्ण लगानी हुन्छ, त्यसका लागि सरकारले वातावरण बनाउने मात्रै हो ।
ब्याङ्क तथा वित्तीय संस्थामा लहडमा गरिएका लगानीका कारण अहिले केन्द्रीय ब्याङ्कलाई मर्जरका लागि निकै कसरत गर्नु परिरहेको छ । बीमा र लघुवित्तमा पनि अब यस्तै स्थिति आउनेछ ।
अब के गर्ने ?
अर्का एक मित्रले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठन (४ मंसीर) हुनु दुई दिनअघि रु.१० लाखको शेयर किनेछन् । उनले दोस्रो बजारमा यसरी शेयर किन्नुको कारण उनका साथीभाइले दिएको ताजा सूचना थियो । त्यो सूचना थियो– मन्त्रिपरिषद् फेरबदलमा अर्थमन्त्री डा.युवराज खतिवडा पनि बाहिरिंदैछन्, त्यसपछि शेयर बजार बढ्छ ।
शेयर लगानीकर्ताहरूलाई अर्थमन्त्री खतिवडा हटेपछि बजार बढ्छ भन्ने लागेको छ । बजारको विश्लेषण गर्ने यो एउटा तरिका हो । नीतिनिर्माताको छवि र उनले लिने नीतिले बजारमा असर नपर्ने होइन, तर त्यो मात्रै निर्णायक हुँदैन ।
‘द इन्टेलिजेन्ट इन्भेष्टर’ पुस्तकका लेखक बेन्जामिन ब्राहमले शेयरमा लगानी गर्नुअघि ध्यान दिनुपर्ने पाँच वटा विषय सुझएका छन् । उनका अनुसार, कुनै पनि कम्पनीको दीर्घकालीन अवस्था, व्यवस्थापकीय कार्यकुशलता, पूँजीको संरचना र प्रतिस्पर्धात्मक क्षमता, विगतको लाभांशको अवस्था र हालको दर हेर्नुपर्छ । यी साधारण देखिने तर महत्वपूर्ण पाटा हुन् । ब्राहमको यो पुस्तकलाई शेयर बजारका ठूला लगानीकर्ता वारेन वफेटले लगानीबारे लेखिएको हालसम्मकै उत्कृष्ट भनेका छन् ।
लगानीकर्तालाई राहत दिन विभिन्न कदम चाल्नु आवश्यक छ । वित्तीय अपचलन गरेर सर्वसाधारण र ब्याङ्कको रकम हिनामिना गरेका जलविद्युत्का प्रवर्द्धकलाई कारबाही गर्नुपर्छ । जसले गर्दा झाेलामा खोला बोकेर लगानीकर्ता खोज्दै फाइदा कुम्ल्याउने समूहको मनोमानी कम हुनेछ । जलविद्युत् आयोजनामा प्रवर्द्धकको लगानी सुनिश्चित नभई सर्वसाधारणलाई शेयर जारी गर्ने व्यवस्था खारेज गर्नुपर्छ ।
जलविद्युत्को एक मात्र खरीदकर्ता नेपाल विद्युत् प्राधिकरण भएकाले यो क्षेत्रको शेयर मूल्य नबढ्नेतर्फ लगानीकर्ता सचेत हुनुपर्छ । जलविद्युत्, सिमेन्ट, छड जस्ता उद्योगहरूमा समस्या पर्दा यसको प्रभाव फैलिंदै ब्याङ्कसँगै मुलुककै आर्थिक विस्तारमा असर पर्न सक्छ । यस्तो अवस्थामा पूँजीगत खर्च बढाएर सिमेन्ट, छडको माग बढाउन सकिन्छ ।
शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई बलियो बनाउनुपर्छ । वित्तीय साक्षरता न्यून भएको मुलुकमा नियामक निकायले कम्पनीबारे जानकारी दिने सजिलो र सरल व्यवस्था गर्नुपर्छ । सबैभन्दा ठूलो जिम्मेवारी त लगानीकर्ताकै हुन्छ । लगानी डुब्न पनि सक्ने भएकाले पर्याप्त अध्ययन र विश्लेषण गरेर मात्रै लगानी गर्नुपर्छ । नोक्सान हुँदा सरकारले हरेक क्षेत्रमा राहत दिंदै जान सम्भव हुँदैन । खुला बजार अर्थतन्त्रमा विवेकपूर्ण लगानी हुन्छ, त्यसका लागि सरकारले वातावरण बनाउने मात्रै हो ।