कला/साहित्य सोमबार, पुस ७, २०७६

अभिभावक शिक्षा केन्द्रित ‘रोपेगुना फल’ र ‘चोन्चा के खोन्ता’ प्रशारण शुरू

हिमालखबर

अभिभावक शिक्षा केन्द्रित ‘रोपेगुना फल’ र ‘चोन्चा के खोन्ता’ प्रशारण शुरू

युनिसेफ नेपालको सहयोगमा एन्टेना फाउन्डेसन नेपालले सोमबारदेखि रेडियो नाटक श्रृंखला ‘रोपेगुना फल (नेपाली) र ‘चोंचा के खोंता’ (मैथिली र भोजपुरी) प्रशारण आरम्भ गर्ने भएको छ ।

अभिभावक शिक्षामा केन्द्रित यी नाटकमा शिशुको शारीरिक वृद्धि, व्यवहार, मनोभाव, बौद्धिक विकास लगायत सीप र क्षमता अभिवृद्धिमा जोड दिइएको छ ।

रेडियो नाटक उद्घाटनबारे जानकारी दिन सोमबार ललितपुरमा आयोजित कार्यक्रममा कार्यक्रममा एन्टेना फाउन्डेसनका अध्यक्ष मधु आचार्यले अभिभावक शिक्षाजस्तो अत्यावश्यक विषयमा रेडियो नाटक उत्पादनमा युनिसेफसँगको सहकार्यले धेरै अभिभावकलाई सकारात्मक सन्देश दिनेमा आफू आशावादी रहेको बताए ।

कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक विनय गुरागाईले नाटकले दिगो विकास लक्ष्यमध्येको सन् २०३० सम्म सबै बालबालिकाको गुणस्तरिय प्रारम्भिक बाल विकास, स्याहार तथा पूर्वप्राथमिक शिक्षा पहुँचको लक्ष्यमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

युनिसेफ नेपालकी सञ्चार विशेषज्ञ सञ्जु भट्टराईले शिशुको करिब ८० प्रतिशत मस्तिष्क विकास आमाको पेटदेखि दुईवर्षसम्मको उमेरमा हुने वैज्ञानिक तथ्यसामु अभिभावक शिक्षा अहम भएको बताइन् ।

“यी दुई नाटकमा युनिसेफको सहकार्यले बेग्लैखाले सन्तुष्टि दिएको छ, आशा छ सबै स्रोताहरूले यसैगरि लाभ लिनेछन्”, भट्टराईले भनिन् ।

कार्यक्रममा रेडियो नाटकको पहिलो श्रृंखला र प्रवद्र्धनात्मक फुटेज पनि देखाइएको थियो ।

१५ मिनेट अवधीका जम्मा १५६ एपिसोडका ३ नाटक देशभरका तीनदर्जन रेडियो, एप, फाउन्डेसनको वेबसाइट, फेसबुक र युट्युबमा समेत सुन्न सकिने फाउन्डेसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस