रिपोर्ट सोमबार, पुस ७, २०७६

महिला प्रकाशक

शुष्मा बराली

महिला प्रकाशक

लेखक/समालोचक डा.अर्चना थापालाई नेपाली प्रकाशन बजारमा महिला लेखकका पुस्तक असाध्यै थोरै देख्दा खिन्न हुन्थ्यो ।

महिलाले लेखेका सीमित पुस्तकहरू पनि सम्पादनका क्रममा पुरुषवादी चिन्तन हावी हुँदा मूल भाव नै दबिएको महसूस हुन्थ्यो ।

उनले महिला लेखकहरूको तीतो अनुभव पनि सुनिन्, जसमा प्रकाशनगृहलाई पठाएको पाण्डुलिपि फिर्ता आउनेदेखि छापिएका कृतिको चर्चा नै नहुनेसम्मका गुनासा थिए ।

त्यसपछि उनलाई आफैंले केही गर्नुपर्छ भन्ने हुटहुटी जाग्यो, र नौ वर्षअघि जन्मियो अक्षर क्रिएशन्स । जुन नेपाली प्रकाशन क्षेत्रमा महिलाले नेतृत्व गरेका औंलामै गन्न सकिने संस्थामध्ये पर्छ । उनी भन्छिन्, “प्रकाशक बनूँला भन्ने योजना नै थिएन, महिला लेखक र नयाँ पुस्ताका लागि मञ्चको अभाव देखेपछि यो व्यवसायमा हात हालें ।” अक्षर क्रिएशन्स बाट १९ वटा पुस्तक प्रकाशन भइसकेका छन्, तिनमा महिला लेखकलाई नै प्राथमिकता दिइएको छ ।

सम्पादनदेखि व्यवस्थापनसम्ममा पुरुषको दबदबा रहेको नेपाली प्रकाशन व्यवसायमा थोरै संख्यामै भए पनि महिलाको नेतृत्वले परिवर्तनको छनक दिन्छ।

शिक्षा र प्रविधिको क्षेत्रमा भएको विकास अनुसार प्रकाशनगृहमा महिलाको उपस्थिति नबढ्नुमा आर्थिक स्रोत प्रमुख कारण रहेको थापाको बुझइ छ । उनी भन्छिन्, “पुस्तक प्रकाशनमा कति वेला आर्थिक सङ्गट हुन्छ ठेगान नै हुँदैन । मैले पनि सीमित स्रोतमा काम गरिरहेकाले प्रकाशन अन्तर्गतका धेरैजसो काम आफैं गर्छु ।”

महिला प्रमुख भएका सीमित प्रकाशनगृहमध्ये पर्छ, किताब पब्लिसर्स । यसकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल लामो समय पत्रकारिता गरेपछि फरक काम गर्ने सोचले प्रकाशन कर्ममा लागेको बताउँछिन् । उनी पनि व्यावसायिक जोखिमका कारण प्रकाशनगृहका प्रमुखमा महिला कम रहेको बताउँछिन् ।

“प्रकाशनगृह खोल्न पर्याप्त तयारी र ठूलो लगानी गर्नुपर्ने भएकाले जोखिम हुन्छ” उनी भन्छिन्, “तर चुनौतीसँगै अवसर पनि छन् ।” बजारबारे ज्ञान लिने र घरपरिवारको सहयोग पाउने हो भने समस्या भोग्नु नपर्ने उनको अनुभव छ । दुर्गा सुवेदी लिखित ‘विमान विद्रोह’ बाट यात्रा थालेको किताब पब्लिसर्स ले स्थापनाको दुई वर्षमा आख्यान र गैरआख्यान गरी पाँच वटा पुस्तक निकालिसकेको छ ।

महिलाले नेतृत्व गर्दाका फरक
प्रकाशनगृह महिलाले हाँक्नु नेतृत्वको विषय हुँदै हो, महिलाको मुद्दा र लेखनले प्राथमिकता पाउने संभावना पनि बढी हुने प्रकाशनगृहहरूको अभ्यासले देखाएका छन् । महिलाले नेतृत्व गरेका विदेशका कतिपय प्रकाशनगृहले त महिलाका लेखन र मुद्दामै केन्द्रित काम पनि गरिरहेका छन् । बेलायतको द सेकेन्ड सेल्फ, अमेरिकाको इमिली बुक्स, भारतको जुबान तिनैमध्येका हुन् ।

पुस्तकले महिलाका मुद्दा बलियो गरी अभिव्यक्त गर्न सक्ने भएकाले प्रकाशनगृहमा महिला उपस्थिति हुन आवश्यक रहेको अक्षर क्रिएशन्स की संस्थापक थापा बताउँछिन् । “पुरानै गन्थन भनेर महिलाका लेखनलाई पन्छाउने स्थिति हटाउन पनि महिला प्रकाशक हुनुपर्छ”, उनी भन्छिन् ।

कल्पना ढकाल

थापा आफ्नो प्रकाशनगृहले महिलासँग जोडिएका र सामाजिक रूपान्तरणका मुद्दालाई प्राथमिकता दिने गरेको बताउँछिन् । “आर्थिक सीमाका कारण वर्षमा एउटा मात्र पुस्तक प्रकाशन गर्छौं, तर त्यो पुस्तक सामाजिक मुद्दा र बहसको विषय होस् भन्नेमा जोड हुन्छ”, उनी भन्छिन् । व्यावसायिक सफलता भन्दा पनि सामाजिक मुद्दा उठान गर्ने महिला प्रकाशक भएर काम गर्दा सन्तुष्टि मिलेको उनी बताउँछिन् । अक्षर क्रिएशन्स ले ‘हर स्टोरी’ शृंखला अन्तर्गत महिला लेखक र विषयलाई प्रस्तुत गर्दै आएको छ ।

महिला लेखकहरूको विभिन्न संस्थागत उपस्थिति देखिए पनि प्रकाशनगृह खोलेको यकिन इतिहास भेट्न सहज छैन । महिला प्रकाशकको सक्रियता देखिएको शुरूआती समयमा बजारको लेखाजोखा विना नै छिटफुट रूपमा साहित्यिक पुस्तक प्रकाशन गरेको देखिए पनि एक दशकयता भने महिलाले अगुवाइ गरेका व्यवस्थित र व्यावसायिक प्रकाशनगृह थपिएका छन् ।

२०५२ सालमा स्थापित नइ प्रकाशन की अध्यक्ष इन्दिरा प्रसाई व्यावसायिक रूपमा प्रकाशनगृह धान्न गाह्रो भएका कारण महिला प्रकाशकको संख्या फैलिन नसकेको बताउँछिन् ।

इन्दिरा प्रसाई

 

“भएका सीमित प्रकाशनगृहलाई पनि साहित्यिक पुस्तक मात्र छापेर व्यवसाय थेग्न सक्ने अवस्था छैन”, उनी भन्छिन् । नेतृत्वमा महिलाको क्षमता भए पनि संस्थाहरूमा प्रमुखका रूपमा स्वीकार्ने प्रवृत्ति नरहेको उनी औंल्याउँछिन् । नइ प्रकाशन ले ऐतिहासिक र राष्ट्रिय महत्वका विषयमा पुस्तक प्रकाशन गर्दै आएको छ ।

किताब पब्लिसर्स की ढकाल जुनसुकै क्षेत्रमा महिलालाई स्वतन्त्र भएर काम गर्न कठिन भए पनि वातावरण आफैंले बनाउनुपर्ने बताउँछिन् । “आफूमा भएको क्षमता प्रस्तुत गर्ने मञ्च खोज्नुपर्छ, केही गर्न खोज्ने महिलाहरूलाई सहयोग गर्ने हात प्रशस्त भेटिन्छन्”, उनी भन्छिन् ।

अर्चना थापा

 

पब्लिकेशन नेपालय मा सन् २००५ देखि मुख्य कार्यकारी अधिकृत रहेकी सैजन मास्के महिला अगाडि बढ्न घरपरिवारको साथ महत्वपूर्ण हुने बताउँछिन् । “म पनि पारिवारिक सहयोगकै कारण प्रकाशनगृहको नेतृत्व तहमा पुगेकी हुँ”, उनी भन्छिन् । यसका साथै संस्थाभित्रको सहयोगी वातावरणले पनि बल मिलेको उनको भनाइ छ ।

विषयवस्तुको आधारमा पुस्तक छनोट र प्रकाशन गर्दै आएको पब्लिकेशन नेपालय ले आउँदो वर्ष भने महिला लेखकलाई बढी स्थान दिने योजना बनाएको छ । मास्के भन्छिन्, “जतिसक्दो धेरै महिला लेखकको खोजीमा छौं ।”

सैजना मास्के

 

प्रा.डा. अभि सुवेदी अन्य क्षेत्रको तुलनामा प्रकाशनगृहमा महिलाको उपस्थिति सशक्त नहुनु बहसको विषय भएको बताउँछन् । शहरका कुलीन परिवारका छोरी–चेलीहरू नै अन्य व्यवसायमा जस्तो प्रकाशन क्षेत्रमा सक्रिय देखिंदैनन् ।

यसो हुनुमा महिलाप्रतिको सङ्कीर्ण सोचलाई कारण मान्दै उनी भन्छन्, “पुस्तक प्रकाशन ठूलो लगानीको व्यवसाय हो र महिलालाई व्यावसायिक रूपमा अझ्ै पनि विश्वास गरिंदैन ।”

प्रतिकृया दिनुहोस