पोखरा विरुद्ध धनगढीको सहज जित, तर दुवै टिम बाहिरिए
पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टीम पोखरा पल्टन विरुद्ध एक्स्पर्ट धनगढीले सहज जित निकालेको छ ।
टस जितेर ब्याटिङ रोजेको पोखराले धनगढीलाई ८० रनको चुनौती दिएको थियो । साविक च्याम्पियन पोखरा १६.३ ओभरमै अलआउट हुँदै दिएको चुनौती धनगढीले ९.१ ओभरमै भेटायो ।
पोखराले धनगढीको पाँच विकेट लिए पनि हार टार्न भने सकेन । धनगढीका लागि रोड्रिगो थोमसले १५, दीपक पुनिया २५, कप्तान दीपेन्द्रसिं ऐरीले १३, शुभेन्दु पाण्डे ११, मञ्जित श्रेष्ठ ९, अमित यादव ६ र सन्दीप जोराले दुई रन लिए ।
पोखराका लागि भने आसिफ शेखले बनाएको ३२ रन नै पोखराका लागि सर्वा्धिक स्कोर बन्यो । अनुभवी खेलाडी विनोद भण्डारी १२ रनमा बोल्ड भए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
कप्तान शरद भेषवाकर ४ रनमा आउट भए । रवि इन्दर सिंह र रोहितकुमार पौडेलजस्ता आशा गरिएकै ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन् ।धनगढीका लागि भने अनिल खरेलले तीन विकेट लिए । दीपक पुनियाँ, कमलसिंह ऐरी र सागर ढकालले समान दुई–दुई विकेट लिएका थिए ।
जितसँगै, धनगढीले पाँच खेलबाट चार अंक जोडे पनि सेमिफाइनलका लागि स्थान बनाउन सकेन ।