अपहरित गाउँपालिका अध्यक्षको खोजीकार्य तीव्र, अवस्था अझै अज्ञात
शनिबार मध्यराति घरमै बसिरहेको अवस्थामा अपहरणमा परेका ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको खोजीकार्यलाई तीव्र पारिएको छ ।
अध्यक्ष शाहीलाई विप्लव समूहका हतियारधारी कार्यकर्ताले अपहरण गरेको पुष्टि भएको छ । अपहरणपछि उनको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेसक्याम्प दैलेखको सुरक्षाकर्मीको संयुक्त टोली खोजीकार्यमा खटिएको पाइएको छ ।
अपहरणको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली राति नै खटिए पनि भेट्टाउन नसकेपछि जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओली र सशस्त्र प्रहरीका डीएसपी जीवन भट्टराईको नेतृत्वमा सुरक्षाकर्मीको टोली ठाटिकाँध गाउँपालिका क्षेत्रमा पुगेको छ ।
अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न सुरक्षाकर्मीको जनशक्ति कम भएपछि सुर्खेत र नेपालगञ्जबाट ५० जना नेपाल प्रहरीको टोली दैलेख आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शिरपाटा भन्ने ठाउँमा रहेको आफ्नै घरमा बसिरहेको अवस्थामा शनिबार राति करीब १२ बजे १५–१६ जनाको समूहमा रहेको हतियारधारी समूहले अध्यक्ष शाही र उनकी श्रीमती इला शाहीलाई अपहरण गरेको भाइ हस्त शाहीले जानकारी दिएका थिए ।
अध्यक्षसँगै अपहरणमा परेकी उनकी श्रीमती इला शाहीलाई आइतबार विहान सो गाउँपालिकाको गुइँचाखर्क जंगलबाट मुक्त गरिएको र राजनीतिक मुद्दाका बारेमा छलफल गर्नुपर्ने भएकाले अध्यक्ष शाहीलाई केही दिन छोड्न नमिल्ने अपहरणकारी विप्लव कार्यकर्ताले बताएको बुझिएको छ ।
अध्यक्ष शाहीका भाइ हस्तले हतियारसहित रहेको विप्लव समूहले राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र केही दिनभित्र मुक्त गर्ने आश्वासन दिदै भाउजू इलालाई जिम्मा लगाएपछि फर्किएको जानकारी दिए । उनी दाइ भाउजूलाई खोज्न बिहानै गुइँचाखर्क जंगल पुगेका थिए ।
जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनकी श्रीमतीको अपहरणको सूचना पाउने वित्तिकै प्रहरी परिचालन गरिएको साथै प्रदेश र जिल्लाबाट खोजीकार्यलाई तीव्र बनाउन आवश्यक तैयारी भइसकेको जानकारी दिए ।
हतियारसहित रहेका विप्लव कार्यकर्ताबाट अध्यक्ष शाहीलाई अपहरणमुक्त गर्न धेरै सतर्कता अपनाउनुपर्ने देखिएको उनको भनाइ छ ।
–यज्ञराज थापा