एमसीसी इण्डो प्यासिफिकको अंग नभएको अमेरिकाले प्रष्ट पार्नुपर्ने नेकपाको निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिको अंग नभएको अमेरिकाले प्रष्ट पार्नुपर्ने निर्णय गरेको छ ।
आइतबार सकिएको नेकपा स्थायी कमिटीको बैठकले यसबारे अमेरिकासँग संवाद गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
नेकपा नेता भीम रावलले अमेरिकी सरकारले यो इण्डो प्यासिफिक रणनीतिको अंग हो वा होइन भन्ने प्रष्ट गर्नुपर्ने र यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरू बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्ने बताएका छन् ।
बिहीबारदेखि बसेको बैठकमा नेताहरूले एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरेपछि बैठक लम्बिएको थियो ।
यदि एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरूको भनाइ छ ।