टिप्पणी आइतबार, पुस ६, २०७६

लोलाको चुविङ्ग गम्

कनकमणि दीक्षित

लोलाको चुविङ्ग गम्
५६०० वर्ष अघिकी लोला । इलुस्ट्रेशनः टम बियोर्कलुन्द

करीब ५८५८ देखि ५६६१ वर्षअघि (कार्वन डेटिङ्ग प्रविधि अनुसार) आजको डेनमार्कको दक्षिणी समुद्र तट नजिकै एक युवती आफ्नो शिकारी–संकलक (‘हन्टर–ग्यादरर्’) समुदायको सदस्य थिइन् ।

आधुनिक आनुवंशिक विज्ञानले गजबको खानतलास गरी ती महिलाको हुलिया हामीसामु ल्याइदिएको छ — वर्ण, आँखा र कपालको रङ, ई. । वैज्ञानिकहरूले उनको नाम पनि राखिदिए — लोला ।

यसअघि लेखिसकेको छु, जीवाश्म वैज्ञानिक स्व. गुड्रुन् कर्भिनस्ले हाम्रै दाङ जिल्लामा द्वन्द्वकालबीच उत्खनन् थालेकी थिइन्, तर उनको कामले पूर्णता पाएन । आज नेपाली भूभागमा यस्तो ‘प्रि–हिस्टोरिक साइट’ को अध्ययन भइरहेको मेरो जानकारीमा छैन । (भएको भए खबर पाए हुने !)

प्राग्ऐतिहासिक अवशेषहरू पाइने सम्भावना रहेको नेपालमा अहिले इतिहासप्रति नै नैराश्य छ । यो वेला ढुङ्गे नवपाषाण (‘नियोलिथिक’) युगको ‘लोला–कथा’ पस्केर पाठकलाई थोरै मात्र भए पनि उत्साहित पार्ने प्रयास हो, यो ।

प्राग्ऐतिहासिक मानिसको ‘डीएनए’ यसअघि उत्खनन् गरिएका हाडकोे अवशेषबाट झिकिन्थ्यो । तर लोलाको हुलियाको स्रोत हुनपुग्यो उनले चपाएर फालेको चुविङ्ग गम् ।

भोजपत्र (बर्च) रूखको बोक्रा उमालेपछि लेदो (पिच्) बाँकी रहन्छ जो सेलाउँदै जाँदा कडा बन्दछ । यो लेदोलाई करीब ७ लाख वर्ष अघिदेखि नै मानव जातिले टाँस्ने गूँदको रुपमा प्रयोग गर्दै आएका हुन् ।

भोजपत्रको लेदोको चुविङ्ग गम् । इलुस्ट्रेशनः टम बियोर्कलुन्द

 

पछि हातहतियार र औजार बनाउन पनि यसलाई प्रयोग गरियो, जस्तै बाणको सुइरोलाई चुच्चोमा अडाउन । कुनै समय, युगमा मानव र विशेषगरी युवाले यो बर्चको खोटोलाई चपाउने वस्तुको रुपमा उपयोग गरेछन्, छुर्पी वा आधुनिककालको चुविङ्ग गम् जस्तै ।

प्राग्ऐतिहासिक चुविङ्ग गम्लाई दन्त मञ्जनको रुपमा पनि प्रयोग गरिएको वैज्ञानिकहरूले पाए । अनुमान यो पनि छ कि, भोजपत्रको यो ‘एक्स्ट्र्याक्ट’ मा संक्रमण विरुद्ध (एण्टीसेप्टिक) तत्व भएकोले पनि यसलाई चपाइने गरिएको हो ।

हुनसक्छ, कुनै एक दिन लोलाले मुख थाकेपछि आफूले चपाइरहेको यही खोटो फ्याँकिदिइन् (माथि तस्वीर) । फ्याँकिएको यही एक सेन्टिमिटर लामो पिच्को टुक्रा उत्खनन्का क्रममा डेनिश वैज्ञानिकले फेला पारेका छन् । त्यो टुक्रामा मानवको दाँतको डोब देखियो । त्यसैबाट डीएनएको अवशेष प्राप्त गर्न सकिन्छ कि भनेर अध्ययन गरे ।

वैज्ञानिकहरुले ‘सुनखानी’ नै फेला पारे भनौं । जर्नल ‘नेचर कम्युनिकेशन्स्’ मा प्रकाशित प्रतिवेदन अनुसार, त्यतिवेला यो चुविङ्ग गम्लाई हु¥याउने युवा अवस्थाकी नारी थिइन् । उनी श्याम वर्णकी थिइन्, बाक्लो गाढा खैरो कपाल, नीलो नानी भएका आँखा । यी हुलियाका आधारमा कलाकारले लोलाको काल्पनिक चित्र बनाए ।

थप थाहा भयो, त्यो वेला लोलाले पानीहाँस भोजन गरेकी रहिछन् (विशेषतः मालार्ड डक् प्रजाति) र कटुस (चेस्ट्नट्) पनि । मुखमा भेटिएका कीटाणुले लोलालाई ‘ग्ल्यान्डुलर फिभर’ (घाँटी दुख्ने बिमार) को संक्रमण भएको समेत पत्ता लाग्यो ।

खोज्दै जाँदा यो पनि भेटियो, लोलाले दूध खाँदिन रहिछन् । कृषि र पशुपालन युग अघिको त्यो मानव शरीरमा दूध सम्हाल्न सक्ने क्षमता थिएन ।

दूध नपिउने, कटुस र पानीहाँस खाने, घाँटीको रोग बोकेकी, खैरो कपाल, नीला आँखा र कालो वर्णकी लोला त्यो प्राग्ऐतिहासिक मानव समुदायकी सदस्य थिइन् जो ७५ हजार वर्षअघि पूर्वी अफ्रिकाबाट उत्तर लाग्यो । एउटा हाँगो यूरोप छिर्‍यो, अर्को हाँगो पूर्व र दक्षिणएशियातिर लाग्यो, र जसको वंशजमा हामी सबै पर्दछौं । यस अर्थमा लोला नेपालीको अलि टाढाकी नातेदार नै हुन् ।

लाग्छ, काल्पनिक चित्रकलाद्वारा उनले संकेत गरिरहेकी छिन् — मान्छेले आफ्नो पुर्खा र पूर्वजबारे जान्नुपर्छ, प्राग्ऐतिहासिक थुप्रै ‘लोला’ का कथा सुन्नुपर्छ ।

प्रतिकृया दिनुहोस