बुधबारभित्रै उपसभामुखको राजीनामा आउने
प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु गरेका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले केही दिनभित्रै राजीनामा दिने तयारी भएको छ ।
४ पुसमा संसदको अध्यक्षता गरेकी उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिने तयारीमा जुटेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए । अधिकारीका अनुसार, उपसभामुख तुम्बाहाङ्फेले बुधबारसम्ममा राजीनामा दिने तयारी भएको छ ।
“अर्को बैठक अगाडि नै राजीनामा दिने तयारी छ । बुधबारभित्रै राजीनामा आउँछ”, अधिकारीले भने । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णयअनुसार, उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन् ।
एउटै दलबाट सभामुख र उपसभामुख हुन नमिल्ने वैधानिक व्यवस्था भएकाले सभामुख नेकपा आफैंले राख्न उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराइन लागेको हो ।
कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामा पछि उपसभामुख तम्बाहाङ्फेले संसदको नेतृत्व गर्दै आएकी थिइन् ।