ब्लग शनिबार, पुस ५, २०७६

बजेटको समाचार मानहानिको खड्गो

भैरव रिसाल

बजेटको समाचार मानहानिको खड्गो
स्केच: भानु भट्टराई

२५ असारमा बजेट पेश हुँदैछ भन्ने समाचारलाई लिएर १० जना रापंसहरूले भने– ‘राष्ट्रिय पञ्चायतको मानहानि भयो।’

भैरव रिसाल

म हिंडुवा पत्रकार । हालखबरमा काम गर्दा मेरै मातहतमा साइकल थियो । राससमा काम गर्न थालेपछि केही वर्ष मोटरसाइकल पनि चढें, राससले दिएको । पछि के भो टी.बी. (ट्युबरकुलोसिस्) भएछ । मोटरसाइकल चढ्न छोड्ने सल्लाह भो र छोडें; तब हिंडुवा पत्रकार भएँ ।

२०१९ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । अब देशमा निर्दलीय पञ्चायत शासन लागू भयो । त्यसपछि प्रेसले राष्ट्रिय पञ्चायतको रिपोर्टिङ गर्न पाएन । राष्ट्रिय पञ्चायत बैठकमा सीमित मात्रामा बस्नसम्म अनुमति पाइयो तर रिपोर्टिङ गर्न पाइएन । त्यसवेला राष्ट्रिय पञ्चायत सचिवालयबाटै समाचार दिने गरिन्थ्यो ।

अलि वर्षपछि पत्रकारहरूले स्वनियन्त्रित रूपमा समाचार दिन पाइने भयो । यसरी पत्रकारिता चलाइयो । ‘पत्रकारिता’ हुन पनि नहुने, नभई पनि नहुने ‘घाँडो’ को स्थितिमा रह्यो, झण्डै तीन दशक ।

रासस उपर मानहानिको मुद्दा !

एक दिन हिंड्दा हिंड्दै थाहा भयो, पाँच दिनपछि बजेट पेश हुन्छ । पत्रकार भएपछि त्यसका चरित्र प्रतिविम्बित हुनु अस्वाभाविक पनि भएन । मैले समाचार बनाएँ, असार २५ गते बजेट आउने भन्ने । बजेटको कुनै रकम उल्लेख थिएन । व्यय कति, आय कति; वैदेशिक अनुदान कति, वैदेशिक ऋण को–कोबाट कति–कति ।

आन्तरिक ऋण कति, अपुग कति भन्ने कुनै अङ्क दिइएको थिएन; न त थियो सरप्लस बजेट भन्ने नै । मात्र समाचार थियो, आगामी आर्थिक वर्षको बजेट यही असार २५ मा पेश हुन्छ भन्ने ठाडो सूचना मात्र ।

त्यो समाचार ‘निर्दलीय प्रजातान्त्रिक पञ्चायत’ व्यवस्थालाई पचेनछ । राष्ट्रिय पञ्चायतको बैठकमा ‘राष्ट्रिय पञ्चायतको अपमान भो’, ‘मर्यादा उल्लङ्घन भो’ भन्ने जस्ता प्रश्न उठे । क–कसले यो प्रश्न उठाए नाम बिर्सिएँ ।

दश जना चरम अनुदारवादी राष्ट्रिय पञ्चायत सदस्यले ‘मानहानि भो’; ‘गोप्यता भङ्ग भो’ तसर्थ यो समाचार दिने समाचारदाता र राससलाई हदैसम्मको सजाय होस् ।

त्यसका लागि कारबाही चलोस् भन्ने विधिवत् प्रस्ताव दर्ता गराएछन् । त्यसले व्यापक खैलाबैला गरायो, समाजमा । अब के के हुने भन्ने जिज्ञासा व्यापक भयो । धेरैले सरकारले आफ्नै समाचार समिति माथि कारबाही गर्ने भयो भने ।

राससका महाप्रबन्धक राधेश्याम विष्ट थिए क्यार ! उनले राष्ट्रिय पञ्चायतसँग क्षमायाचनाको पत्र पठाउन परामर्श पनि गर्न लागेछन् । मैले त्यसो नगरौं, क्षमा नमागौं, बरु मेरो नाम दिऊँ समाचार ल्याउनेकोमा भनें ।

पञ्चहरूको दाल गलेन

राष्ट्रिय पञ्चायतमा चरम अनुदार पञ्च र जनपक्षीय रा.पं. सदस्य थोरै थिए । केही उदार पञ्च पनि थिए तर ती पनि ठूलो संख्यामा थिएनन् । त्यो समाचारले राष्ट्रिय पञ्चायतको के नोक्सानी गर्‍यो र के मानहानि भयो भन्ने गेडी (बुँदा) नै छैन ।

तसर्थ यस्तो ‘मानहानि’ वा ‘गोप्यता भङ्ग’ को प्रस्ताव आए हामी प्रस्तावको विपक्षमा उभिन्छौं भन्ने निकै जना राष्ट्रिय पञ्चायत सदस्य पनि पाएँ । तब मेरो मनस्थिति बलियो हुँदै गयो ।

राससका महाप्रबन्धकलाई क्षमा–प्रार्थनाको पत्र नलेख्न सारै कर गरें । यसबाट जे सजाय हुन्छ, म भोग्छु भनें । यता रा.पं. सदस्यहरूसँग पनि त्यो बजेटको समाचार मैले दिएको हुँ, के सजाय दिने हो मलाई दिनु भन्न थालें । मैले नै त्यो समाचारबारे हल्ला फिजाएँ, सजाय गर्ने भए मलाई सजाय होस् । किनभने त्यो समाचारको कारणी म नै हो भन्ने कुरा प्रायः राष्ट्रिय पञ्चायत सदस्यको कानसम्म पुर्‍याएँ ।

मेरो व्यवहार, शिष्टाचारको पालना एवं मर्यादापूर्ण व्यवहारबाट म खराब मान्छे होइन भन्ने खालको आम परिचय थियोे । मन नपर्ने मान्छेसँग नजिकै पर्दिनथें । त्यसकारण म राष्ट्रिय पञ्चायत सदस्यहरू बीच प्रिय थिएँ । मलाई नरुचाउने साह्रै थोरै चरम अनुदारवादीहरू मात्र थिए ।

अन्ततः त्यो रासस विरुद्ध राष्ट्रिय पञ्चायतको मानहानि वा गोप्यता भङ्गको अभियोग लगाउने १० जना चरम अनुदारवादी पञ्चहरूको दाल गलेन । राससले क्षमा पनि मागेन । भुसको आगो झैं केही समय खूब बल्यो नेपथ्यमा । यस्ता दिन बेहोर्नुपर्थ्याे, पञ्चायत शासनमा पत्रकारिता गर्दा । अन्ततः २५ असारमा बजेट पेश भयो । प्रक्रिया अनुसार जे जे हुनुथियो भयो ।

रा.पं. सदस्यहरूको जिल्लाका आगलागी, सुक्खा, बाढी, पहिरो जस्ता घटना पनि समाचार बनाएर दिन्थें । त्यसो हुँदा मेरो उपादेयता बढी हुँदै गयो । यी कारणले प्रायः रा.पं.सदस्य मलाई मन पराउँथे । यसकारण पनि बजेट पेश हुने समाचार दिएकोमा म उपर कारबाही हुँदैन भन्नेमा ढुक्क थिएँ । यस्तै कारणले बजेटको खड्गो टर्‍यो ।

प्रतिकृया दिनुहोस