टिप्पणी शनिबार, पुस ५, २०७६

शिरदेखि पाउसम्म ढाका

हिमालखबर

शिरदेखि पाउसम्म ढाका

–सङ्घमित्रा सुब्बा

नेपालको परम्परागत ढाका कपडा अहिले फेसनकै अभिन्न अङ्ग बनिसकेको छ।

६० वर्षअघि राजा महेन्द्रले सरकारी कर्मचारीहरूलाई कार्यालयमा ढाका टोपी अनिवार्य गरेपछि परम्परागत पोशाकले वैधता पाएको थियो । तर, त्यो शाही घोषणाको धेरै अघिदेखि नै ढाका अनौपचारिक हिसाबले राष्ट्रिय पोशाकको अङ्ग बनिसकेको थियो ।

तस्वीरहरु: माेनिका देउपाला

ढाकाको कपडा अब टोपीमा मात्र सीमित रहेन– पछिल्लो समय यो कपडा सारी, शल, विवाहमा लगाइने विशेष पहिरन, कुसनको खोल, झेला र जुत्तामा पनि प्रयोग हुन थालेको छ । डिजाइनरहरूले ढाकाका बुट्टा र रङलाई फराकिलो बनाइरहेका छन् ।

दोचा नामक नेपाली ब्राण्डको जुत्तामा हल्का ढाकाको कपडा उनिएको छ । यो ब्राण्डको जुत्ता ‘द बुन दोचा’ सिम्रिक र खैरो ढाकामा आउँछ । धनकुटा, तेह्रथुम, पाल्पा, काठमाडौं र ललितपुरका तानहरूमा उनिन्छ । “हामीलाई शहरी र अर्धशहरी नेपालीलाई परम्परागत ढाकाको कपडासँग जोड्न मन थियो”, उत्पादक कम्पनीका सह–संस्थापक वत्सल राजभण्डारी बताउँछन् ।

टोपी ।

दोचा को डिजाइन सामान्य देखिन्छ, तर ढाकामा अरू डिजाइनरहरूको परीक्षण भने जारी छ । अभिनेत्री स्वस्तिमा खड्काले हालसालै सार्क फिल्म फेस्टिभलमा पूरै ढाकाको पहिरन लगाएकी थिइन् । उनको यो पहिरन मुकु बुटिककी मुक्ता श्रेष्ठले डिजाइन गरेकी थिइन् ।

“ढाका वास्तवमै आकर्षक कपडा हो, यसका असीमित सम्भावना छन्”, श्रेष्ठ भन्छिन् । उनको भनाइमा, ढाकाले व्यक्तिको सुन्दरतासँगै बौद्धिकताको झ्ल्को पनि दिन्छ । ढाकामा आफ्नै बुट्टाहरू विकास गरेर ‘इभनिङ गाउन’ बनाउने सोच बनाएकी श्रेष्ठ ढाका र अन्य राम्रा कपडाबीचको दूरी घटाउन थुप्रै काम गर्न बाँकी रहेको बताउँछिन् ।

लाखे नेपालकी संस्थापक डिजाइनर एरिना श्रेष्ठ भने परम्परागत ढाकालाई नै आफ्नो फरक डिजाइनमा प्रस्तुत गर्छिन् । “मेरा लागि त बुट्टा भन्दा पनि ढाकामा पाइने विभिन्न रङको विकल्प नै प्रमुख हो”, उनी भन्छिन् । अहिले उनी ढाकालाई ओभरकोटमा प्रयोग गर्ने तयारीमा छिन् ।

दोचा ।

ढाका र ढाका

ढाका नेपालको राष्ट्रिय पोशाकको अङ्ग भए पनि यसको उत्पत्ति नेपाली भूमिमा भएको भन्नेमा भने प्रशस्तै आशंका छ । कतिपय विशेषज्ञका भनाइमा, नेपाली ढाकाको बुट्टा र रङहरू बङ्गलादेशी ‘जामदानी ढाकै’ सँग मिल्दछ, जुन अंग्रेज शासित पूर्वी बङ्गाल हुँदै उतिवेलै नेपाल आइपुगेको हो । नेपाली ढाका र जमदनी ढकाइ दुवै कपासको प्रयोग गरी हाते तानबाट बनाइन्छ ।

काठमाडौं, मैतिदेवीमा पाल्पाली ढाका पसलका मोहनराज शर्मा पनि नेपाली ढाका पूर्वी बङ्गालबाटै आएको विश्वास गर्छन् । तर पाल्पा कसरी ढाका बुनाइका लागि चर्चित बन्न पुग्यो ?

शर्माका अनुसार सन् १९५० को दशकको अन्तिमतिर पाल्पाका गणेशमान महर्जनले ढाकाको यात्रा (त्यो वेलाको पूर्वी पाकिस्तान) गरे र मुस्लिमहरूले जमदनी ढकाइबाट बनाएका सारी देखे । र, ढाका बुन्ने तरिका सिके । त्यसपछि महर्जनले तानसेनमा आफ्नै उद्योग शुरू गरे– स्वदेशी वस्त्रकला पाल्पाली ढाका ।

तस्वीरः लाखे नेपाल

केही अनुसन्धानले राणा प्रधानमन्त्री चन्द्रशमशेरकी नातिनी राजकुमारी नानीकी नर्सका रूपमा नेपाल आएकी जेसी ब्राउन (सन् १८८८–१९८३) मार्फत ढाका भित्रिएको सम्भावना व्यक्त गरेका छन् । ब्राउनको यो प्रसङ्ग बेलायतस्थित म्यानचेष्टर विश्वविद्यालयकी संग्रहालय विज्ञान विभागकी अध्येता एम्मा मार्टिनले आफ्नो ग्यालेरी स्केचबूक मा उल्लेख गरेकी छन् ।

ढाकाको प्रसङ्ग राणा प्रधानमन्त्री जङ्गबहादुरसँग पनि जोडिएको छ । जङ्गबहादुरकी एक बहिनी डम्बरकुमारी कलकत्तामा बस्ने गरेकी र रिसाएका दाजुलाई खुशी तुल्याउन बङ्गलादेशको ढाकाबाट ढाकाको टोपी उपहार ल्याइदिएपछि नेपालमा यसको सिलाई–बुनाई शुरू भएको भन्नेहरू पनि छन् ।

ढाकाको कपडा ढाकाबाट नभई नेपालकै मौलिक उत्पादन भएको तर्क पनि छ । मुन्धुममा वर्णित सुन्दरी ‘युमा’ ले तान बुन्दा थाक्–थाक् आवाज आएपछि यसलाई थाका भनिएको र त्यही थाका नै अहिले ढाका भनिन थालिएको पनि बताइन्छ । पूर्वी नेपालमा ‘लिम्बूनी ढाका’ भनिएबाट पनि यस्तो दाबी गरिएको हुनसक्छ । तर, नेपाली पहिचानसँग जोडिएको ढाकाबारे तथ्य पत्ता लगाउन भने आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस