दार्जिलिङमा नाराः “मोदी सरकार गो ब्याक, पहाडमा गोर्खा जिउँदो छ” (भिडियो सहित)
भारत सरकारले ल्याएको नागरिकता संशोधन कानून र एनआरसी (न्याशलन रेजिस्ट्रेसन अफ सिटिजन) को विरोधमा दार्जिलिङमा आन्दोलन चर्किएको छ ।
विनय तामाङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको पहाडभर विरोध जुलुस प्रदर्शन गरिरहेको छ । मोर्चाले नागरिकता विधेयकको शुरुबाटै विरोध जनाउँदै आएको छ । तर, भारतीय जनता पार्टी (विजेपी) नेतृत्व सरकारले विधेयक पारित गरे पछि दार्जिलिङमा आन्दोलन चर्केको छ ।
मोर्चाले ११ डिसेम्बरबाट दिनहुँ विरोधका कार्यक्रम गर्दै आएको छ । धर्ना, विरोध सभा जस्ता कार्यक्रम गरिरहेको मोर्चाले केन्द्रीय सरकारका कार्यालय घेराऊ देखि सम्पूर्ण कामकार्बाही ठप्प पार्ने चेतावनी दिएको छ ।
मोर्चाका अनुसार, एनआरसीको व्यवस्था एक लाख गोर्खा प्रभावित हुने जनाएको छ । “यो व्यवस्थाले १९ लाख मध्ये एक लाख गोर्खालाई असर पर्छ”, तामाङले भनेका छन्, “हामी यो कुनै हालतमा हुन दिन्नौं ।”
लामो समयदेखि असमति जनाउँदै आए पनि नागरिकता संशोधन कानून पारित भएकाले भारतका विभिन्न प्रान्त जस्तै दार्जिलिङमा पनि अर्को प्रदर्शन भइरहेको छ । मोर्चा नेतृत्वको प्रदर्शनमा प्रधानमन्त्री मोदीको चर्को विरोध जनाइएको छ ।
शुक्रबारको प्रदर्शनमा गोर्खाले ‘मोदी सरकार गो ब्याक, संविधानलाई हाम्रो सम्मान छ, एनआरसी फिर्ता गर, पहाडमा गोर्खा जिउँदो छ’ जस्ता नारा लगाएका छन् । विजेपी सरकारले एनआरसी लागू गर्दै सन् १९७१ भन्दा पछाडि भारत प्रवेश गरेकाहरु फर्काउदैछ ।