पेप्सीको उत्पादक बरुण वेभरेजलाई रु. ६५ करोड कर छलेको मुद्दा
पेप्सीको उत्पादक बरुण वेभरेजले नक्कली भ्याटबिल प्रयोग गरी करीब रु. ६५ करोड करोड कर छलेको आरोपमा राजस्व अनुसन्धान विभागले कम्पनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले कम्पनी विरुद्ध ३ पुसमा मुद्दा दायर गर्दै बिगो रकम रु. ६४ करोड ९६ लाख २ हजार ३४० तथा यसको दोब्बर जरिवाना गरी कुल रु. १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० माग दाबी गरेको छ ।
कम्पनीका सञ्चालक रविकान्त जयपुरिया, अमित गुप्तासहित ७ जना विरुद्ध तीन वर्ष कैद सजायको समेत माग गरिएको छ ।
पछिल्लो समयमा नक्कली भ्याटबिल मार्फत् राजश्व छल्ने विरुद्धको अनुसन्धानलाई तीव्र बनाएको विभागले एक वर्षको अनुसन्धान पछि वरुण वेभरेज विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
“बहुराष्ट्रिय कम्पनीले नै नक्कली भ्याटबिल मार्फत कर छलेको भेटियो”, विभागका महानिर्देशक दीर्घराज मैनालीले बिहीबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
बरुण वेभरेजले नेपालमा बहुराष्ट्रिय कम्पनी पेप्सिकोले उत्पादन गर्ने पेय पदार्थ पेप्सी, मिरिण्डा, सेभन अप आदिको बोटलिङ गर्दै आएको छ । बरुण वेभरेजले नेपालसहित भारतमा समेत पेप्सीकोका उत्पादनहरुको बोटलिङ गर्छ । यो भारतीय व्यवसायी रविकान्त जयपुरिया सहितको लगानीको कम्पनी हो ।
विभागले दायर गरेको मुद्दामा दुराशयपूर्ण ढंगले झुट्टा र नक्कली बिजक जारी गर्ने उदेश्यले खोलिएका फर्मसँग बरुण बेभरेजले मिलेमतोमा फर्जी बिलबिजक खरिद गरी राजस्व छली गरेको आरोप लगाइएको छ ।